बेइजिङ अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रुपमा
काठमाडाैं । चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल मिडिया सोसाइटीले विश्व प्राकृतिक सम्पदा सूचीमा सूचीकृत नेपालका चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्जका ५० तस्वीर समावेश गरेको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय र बेइजिङ महानगरपालिका जनसरकारले संयुक्तरुपमा आयोजना गरेको बिआरआई विश्व प्राकृतिक सम्पदा अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा थिम कन्ट्रीका रुपमा नेपाललाई मात्रै छुट्टै स्थान दिई विशेष प्रदर्शनी कक्ष व्यवस्था गरिएको छ । प्रदर्शनीमा राखिएका हरेक तस्वीर तथा नेपालसम्बन्धी जानकारी चिनियाँ र अंग्रेजी भाषामा दिइएको छ । प्राकृतिक सम्पदाका व्यावसायिक फोटाग्राफर नारायण रिजाल, कोमल भागत, आशिष गुरुङ, आङ्रिता शेर्पा, वेदकुमार ढकाल, सागर गिरी, बाबुराम लामिछानेलगायतका तस्वीर प्रदर्शनीमा समाविष्ट छन् । नेपाल सरकारलाई कुनै आर्थिक भार नपर्ने गरी थिम कन्ट्रीका रुपमा नेपाललाई प्रस्तुत गर्न र प्रदर्शनीस्थल निःशुल्करुपमा उपलब्ध गराउन सहआयोजक चाइना आर्ट फोटोग्राफी सोसाइटी र आफ्नो संस्थाबीच सहमति भएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए । आगामी दिनमा चीनलगायत विश्वका विभिन्न मुलुकमा आयोजना गरिने अन्तरराष्ट्रिय फोटो प्रदर्शनीमा नेपालका तस्वीर समावेश गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन सहकार्य गर्ने विषयमा पनि दुवै सोसाइटीबीच समझदारी रहेको उनले जानकारी दिए । प्रदर्शनीका लागि आवश्यक डिजिटल भर्सनका फोटो वन तथा वातावरण मन्त्रायलबाट निःशुल्क उपलब्ध गराइएको थियो । बेइजिङस्थित नेपाली राजदूतावासको सहयोगमा नेपालको सहभागिताको व्यवस्थापन र खर्च सोसाइटीले नै गरेको हो । प्रदर्शनी उद्घाटनमा सहभागी नेपाली राजदूतावासका उपप्रमुख एवम् मिनिष्टर सुशीलकुमार लम्सालले प्रदर्शनीलाई नेपाल बुझ्ने झ्यालको संज्ञा दिँदै अवलोकनकर्ताले नेपालका बारेमा धेरै जानकारी लिन सक्ने बताउनुभयो । कोरोना भाइरसको महामारीको अन्त्य भएपछि नेपालको भ्रमण गर्न चिनियाँ नागरिकलाई प्रेरित गर्ने उहाँले विश्वास व्यक्त गरे । चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, बेइजिङ महानगरपालिकालगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सञ्चारकर्मी उक्त अवसरमा उपस्थित हुनुहुन्थ्यो । सोसाइटीले यसअघि सिछुवान प्रान्तस्थित छन्तु, लशान, ह्वाहाई, काञ्च, बेइजिङलगायत शहरमा नेपालका कला, संस्कृति तथा पर्यटनसम्बन्धी एकदेशीय तस्वीर प्रदर्शनी गरिसकेको छ । रासस
प्रदेश नम्बर 2 को रौतहट मा पहिलो पल्ट फुटसल प्रतियोगिता सम्पन्न
रौतहट । हिमालीबास फुटसल युवा क्लबद्वारा आयोजित प्रथम गाउँ स्तरीय फुटसाल प्रतियोगिताको उपाधि युथ स्टार हिमालीबास युवा क्लब निलोले जितेको छ। रौतहटको फतुवा विजयपुर – ११ स्थित मैदानमा भएको फाइनलमा हिमालिबास फुटसल युवा क्लब रातोलाई युथ स्टार हिमालीबास युवा क्लब निलोले ३-२ गोलले पराजित गर्दै च्यायम्पियन बन्यो । युथ स्टार हिमालीबास युवा क्लबका दिवस श्रेष्ठले २ र विवस श्रेष्ठले १ गोल गरे भने हिमालिबास फुटसल युवा क्लबका मादुले र सरोज भुजेलले १-१ गोल गरे। युथ स्टारका दिवस श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि पनि प्राप्त गरेका छन् । साथै उनले नगद १५०० नगद पुरस्कार हात पारे। उपाधिसंगै युथ स्टारले १२ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल हात पर्यो भने हिमालिबास फुटसल युवा क्लबले प्रमाणपत्र र मेडल हात पर्यो। विजेतालाई प्रमुख अतिथि पवन तिमल्सिना र सभापति डा. अर्जुन श्रेष्ठले दुवै टिमलाई पुरस्कृत गरे । दशैँको फूलपातीदेखि सुरु प्रतियोगितामा ४ टिम सहभागी थिए । प्रतियोगितामा अम्पायरको भूमिका समिर भुजेलले गरेका थिए भने साइड अम्पायरको रुपमा अनिल श्रेष्ठ रहेका थिए भने कार्यक्रम को सन्चालन युवा समाजसेबि एन के शरद ले गरेका थिए ।
‘दशैंले त मन जोड्थ्यो, अहिले ती मनहरु टाढिए छन्’
बलेवा । “गाउँभरिका युवा, बूढापाका र केटाकेटी मिलेर भीरमा साँचेर राखेको बाबियो काटेर ल्याइन्थ्यो, ठूलो चौरमा बसेर बाटिन्थ्यो, बाँसका घारा खोजेर फराकिलो चौरीमा पिङ राखिन्थ्यो, सबै आउँथे, खेल्थे भेटघाट हुन्थ्यो र पो दशैं आएजस्तो हुन्थ्यो”, बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका वासुदेव आचार्यले पुराना दिन सम्झिए। आफ्नो बाल्यावस्थाका दिन सम्झँदा उनलाई अहिले पनि त्यस्तै दशैँ आए हुन्थ्यो भन्ने लाग्छ तर अहिले त बाबियो भीरमै सुक्यो, पिङ बनाउने बाँस सुके । एक त पहिले जस्तो युवाहरुको जमात गाउँमा छैन । अर्कोतर्फ महामारीका कारण गाउँ फर्केका युवासमेत क्वारेन्टिनमा बसेपछि यो वर्ष बागलुङमा पिङ बिरलै देखिए । रोटेपिङ र चमच्चा बनाउने सिप कसैसँग छैन । लठ्ठेपिङसमेत यो वर्ष देख्न नपाएको उनले गुनासो गरे । “टीका र दक्षिणा संस्कार मात्रै हो, दशैंले त मन जोड्थ्यो”, उनले भने, “अहिले त मनहरु टाढिएका छन्, चौरीहरु खाली छन् ।” भीरमा हुने बाबियो बूढाबूढी र केटाकेटीले काट्न सक्दैनन् । बाँस काटेर ठड्याउनका लागि पनि बलिया मान्छे चाहिन्छन् । रोजगारीको सिलसिलामा बाहिर रहेकाले दशैंमा घर फर्किँदा पनि खुलेर रम्न नपाएको सोही ठाउँका जीवन शर्मा बताउछन् । “पहिले पहिले दशैंमा घर आउँदा बाटैमा पिङ हुन्थ्यो, गाडी रोकेरै भए पनि खेलिन्थ्यो, अहिले त बाटोमा देख्नेहरु पनि टाढैबाट बोले”, उनले भने ‘कति निरसिलो दशैँ, तारेभीरको बाबियो सुके होला, रोहोटेका बाँस नुघे होलान्, बाहिर निस्किएको छैन ।” साना केटाकेटीका लागि यहाँका स्थानीयवासीले आफ्नै घर छेउमा स-साना पिङ बनाइदिएका छन् । वयस्कहरुले भने यस वर्ष कोरोनाका कारण पिङ खेल्न त के देख्न पनि पाएनन् । पहिलेजस्तो जाँगर अहिलेका युवा पुस्तामा छैन । बूढापाकाले करकाप गरेर बनाइने लठ्ठेपिङसमेत बन्न छोडेको काठेखोला गाउँपालिका–७ का वडाअध्यक्ष प्रेम लामिछानेले बताए । “व्यावसायिकरूपमा बनाएका तिनै लठ्ठेपिङमा युवाहरुको ठूलो आकर्षण देख्छु तर आफ्नो पर्वमा आफ्नै आँगनमा पिङ बनाउन युवाहरुले जाँगर देखाउँदैनन्”, लामिछानेले भने, “खर्च भएमात्रै सन्तुष्टि मिल्ने विश्वास विकास हुँदा, संस्कारी बन्न सकिएन ।” लठ्ठेपिङ बनाउन कम खर्चिलो र सीपसमेत सामान्य भए पुग्छ । लठ्ठो बाट्नका लागि केही सिपालुले सिकाएकै आधारमा सकिन्छ भने झुण्ड्याउन मुटु भएका युवा चाहिन्छन् । महामारी र गाउँ खाली भएका कारण यस वर्ष बागलुङमा पिङले ल्याउने रौनक दशैँमा देख्न सकिएन । रासस