लाप्राकको नमूना बस्ती देखिने र सजिने मात्रै भयो, मानिसको मन अडिएन
पोखरा । गोरखाको बारपाकमा इपिसेन्टर बनाएर विसं २०७२ मा गएको भूकम्पले त्यस क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । भूकम्पपछि राष्ट्रिय अन्तर्राष्ट्रियरुपबाटै सबैको ध्यान उक्त ठाउँमा केन्द्रित भयो । बारपाकमा भूकम्पबाट ७२ जनाले र लाप्राकमा ३६ जनाको ज्यान गयो । लगोरखाकै लाप्राकमा ११ गोठाला एकै ठाउँमा पुरिए । भूकम्पपीडितका लागि गैरआवासीय नेपाली सङ्घले लाप्राकको धार्चे गाउँपालिकाको गुप्सीपाखामा ५७३ घर निर्माण गरिदियो । उक्त क्षेत्रका केही बस्ती भूकम्पबाट विस्थापित भएपछि तत्काल एनआरएनले निर्माण गरिएको सुन्दरबस्ती अहिले मानिसविहीन उराठ लाग्दो छ । उक्त ठाउँमा त्यसबाहेक पनि थप २९ घर निर्माण भएका छन् । सुन्दर हिमशृङ्खलासहितको काखमा बिहानको सूर्योदयको किरणले उस्तै मनमोहक देखिने उक्त नमूना बस्तीमा पुग्दा मानिसविहीन सुनसान छ । भूकम्पबाट विस्थापित घार्चे गाउँपालिका-४ की ६० वर्षीया माइली गुरुङले नमूनाबस्तीमा कहिलेकाहीँ पाहुना आउँदा मात्र जाने गरेको बताइन् । “हेर्दा त निकै राम्रो देखिन्छ तर सबै परिवार अटिदैन, दुई तीन जनाको लागि मात्रै हुन्छ, सानो ठाउँमा कसरी छ सात जनाको परिवार बस्ने, गाईवस्तु पाल्ने ठाउँ पनि छैन”, उनले भने, “घरमात्र राम्रो भएर भएन, सबैले खेतीपाती गरेर खानुपर्छ, घरमा मात्र बसेर कस्ले खान दिन्छ, खेतीपाती गर्ने ठाउँ एकातिर छ, घर अर्कोतिर भयो ।” भूकम्पपीडित बस्न नखोज्नुको कारणबारे गोरखा घर भई हाल पोखरामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार प्रकाश ढकाल भन्छन्, “लाप्राकको नमूना बस्ती देखिने र सजिने मात्रै भयो तर मानिसको मन अडिने जीवन चल्ने आधारभूत कुरा त्यहाँ भएन ।” निर्माण पूर्व वैज्ञानिक अध्ययन र जनजीवन नबुझ्दा करौडौंको लगानी अलपत्र परेको उनको भनाइ छ । उनले भने, “गैर आवासीय नेपाली सङ्घले भूकम्पपीडितका लागि बनाएको नमूना बस्ती राम्रो हो, तर ठाउँ छनोट र गाउँको परिवेश जनजीवनबारे अध्ययन गरिएन, जुन ठाउँमा बस्ती बनाइएको छ, त्यहाँ जमिनबाट पानीको मूल फुट्छ, भौगोलिक स्थिति पनि उपयुक्त छैन, घर उस्तै साँघुरा छन् ।” ढकालले बस्ती राख्नका लागि उपयुक्त स्थान नभएकाले बस्न नसकेको बताए । उक्त ठाउँमा स्की खेलका लागि निकै उपयुक्त रहेको र त्यसलाई जोगाएर पर्यटकीय गन्तव्यमा विकास गर्नुपर्नेमा गलत स्थानमा बस्ती राखिएको ढकालको टिप्पणी छ । गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले खेतबारी एकातिर र घर अर्कोतिर हुँदा गाउँलेलाई सहज नभएको बताए । “एनआरएनले भूकम्पपीडितका लागि निकै राम्रो सोचले घर बनाइदिए, अहिले बस्तीमा कोही बस्न मान्दैनन्, नमूना बस्तीमा स्थानान्तरणका लागि केही असहजता छ, हामीले विकल्पको खोजी गरेका छौं, उक्त गाउँलाई उद्यमी गाउँको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन भइरहेको छ”, अध्यक्ष गुरुङले भने । उहाँले बस्ती स्थानान्तरणका लागि विकल्पको खोजीएको बताए । गुरुङका अनुासार गाउँको बीचबाट स्की गर्ने र नमूना बस्ती माथिबाट जीप प्लायरका लागि डिपिआर तयार हुँदै छ । गोठाला पुरिएर मृत्यु भएको ठाउँमा भूकम्पीय गोठाला पार्क बनाइँदैछ । गाउँपालिकाले ‘इपिसेन्टर एड्भेन्चर ट्रेल’ गण्डकी प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालमार्फत् उद्घाटनसमेत गरेको छ । रासस
आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई थुनामा पठाउन आदेश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ । आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो । मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । बस्नेतले आफ्नो तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लागयतका कानून व्यवसायीहरुलाई लगाएका थिए । विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश दिएको बताए । तत्काल प्राप्त प्रमाणबाट बस्नेत आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताए । तत्कालिन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्व प्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो । बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी समेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।
फुटबल टिमको बन्द प्रशिक्षण शुरु, ५८ जना खेलाडी सहभागि
काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (आइतबार) देखि शुरु भएको छ । विश्वकप फुटबल छनोटको तयारी स्वरुप अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजदेखि प्रशिक्षण शुरु गरेको हो । एन्फाले ५८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागि गराएको छ । फुटबल टिमका कार्यवहाक प्रशिक्षक बालगोपाल महर्जनले चैतको १२ गते चाइनिज ताइपेईसँग, चैत १७ गते अस्ट्रेलियासँग र जेठ २४ गते जोर्डनसँग हुने प्रतिस्पर्धाकाको तयारी स्वरुप बन्द प्रशिक्षण शुरु गरिएको बताए । पूर्व कप्तान विराज महर्जनले लामो समयपछि प्रशिक्षणमा सहभागि हुन पाउँदा खुशी लागेको बताए । विश्वकप छनौटका लागि प्रयाप्त समय रहेकाले पनि राम्रो नतिजा ल्याउने गरी प्रशिक्षण अगाडि बढ्ने विश्वास व्यक्त गरे । एसियन छनोट अन्तर्गत समूह ‘बी’मा नेपाल, अस्ट्रेलिया, कुवेत, जोर्डन, चाइनिज ताइपेई रहेका छन् । अस्ट्रेलिया १२ अंक सहित शिर्ष स्थानमा रहेको छ भने कुवेत र जोर्डन १० अंक सहित दोस्रो र तेस्रो स्थानमा छन भने नेपाल तीन अंक सहित चौथो स्थानमा रहेको छ । कोभिड संक्रमणको जोखिमका कारण खेलाडिहरु गत चैत महिना यता कुनैपनि प्रशिक्षणमा सहभागि हुन पाएका थिएनन् । तर गत शुक्रबार एएफसीले विश्वकप छनोटको बाँकी खेल तालिका सार्वजनिक गरेपछि एन्फाले राष्ट्रिय टिमको प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा सहभागि हुनु भन्दा पहिला सबै खेलाडिको पीसीआर परीक्षण गरिएको थियो ।