हाम्रो टीम नेपालले वितरण गर्याे न्यानो ब्लाङ्केट
काठमाडाैं । कोभिड-१९का कारण रोजगारी गुमाई भोकै परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई ब्लाङ्केट वितरण गरेको छ । शनिबार थापाथली स्थित प्रसूति गृह पछाडि खाना खान आएका मानिसहरुलाई हाम्रो टीम नेपालले न्यानो ब्लाङ्केट वितरण गरेको हो । जाडो समयमा न्यानो कपडाको आवस्यकता पर्नेहरुको समस्यालाई ध्यान दिएर विभिन्न दाताहरुबाट प्राप्त भएको ब्लाङ्केट वितरण गरिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए । ‘भोक मुक्त, नाङ्गो मुक्त र भेदभाव मुक्त राष्ट्र निर्माण’ अन्तर्गत घरबार बिहीन भई सडक पेटीमा बस्न बाध्य मानिसहरुलाई जाडो समयमा प्रयोग गर्ने ब्लाङ्केट वितरण गरिएको पन्तले बताए । कोभिडका कारण गत चैत ११ गते देखि लकडाउन भएपछि रोजगारी गुमाएर खाना खान नपाएका व्यक्तिहरुलाई हाम्रो टीम नेपालले निःशुल्क खाना खुवाउँदै आएको छ ।
एकल गायनमा राज्यमन्त्री रामवीर मानन्धरले राखे विश्व रेकर्ड
काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको किर्तीमान बनेको थिएन । किर्तीमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गित गाएका थिएउ । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाउनु भएको थियो । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।
इलाममा चार वर्षमा बलात्कारका ९० घटना
इलाम । समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भएका थिए । यसमध्ये बलात्कारमा पर्नेमा बालिका बढी देखिन्छ । इन्सेकका अनुसार सन् २०१७ मा बलात्कारका ३२ घटनामा २२ बालिका र १० महिला, सन् ०१८ मा बलात्कारका २३ घटनामा १५ बालिका र आठ महिला तथा सन् ०१९ मा बलात्कारका २१ घटनामा बालिकाको सङ्ख्या १३ र महिलाको सङख्या आठ थियो । पछिल्लो चार वर्षमा आत्महत्याका २६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचबिखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई/दुई र बालविवाह भएको इन्सेकको तथ्याङ्कले देखाउँछ । यस वर्ष सबैभन्दा अन्य घटनाका तुलनामा आत्महत्याको घटना बढी भएको छ । यस वर्ष ११४ वटा आत्महत्याका घटना देखिएको इन्सेक इलामका प्रतिनिधि कोकिला ढकालले जानकारी दिइन् । आर्थिक अवस्था कमजोर भएका महिला र बालिका बलात्कारको शिकार हुने गरेको प्रतिनिधि ढकालले जानकारी दिइन् । आर्थिक सङ्कट टार्नका लागि काम गर्नुपर्ने बाध्यता हुनाले बलात्कारमा पर्न सक्ने जोखिम रहेको उनले बताइन् । परपुरुषसँग मात्र नभई अभिभावकबाट बलात्कृत हुने क्रम बढेको बताइएको छ । हिंसाका घटना घरभित्रैबाट शुरु हुने र तिनै घटना बलात्कारसम्म पुग्ने गरेको मानवअधिकारकर्मीको भनाइ छ । घटना ढाकछोप गर्न मिलापत्र गर्नेदेखि पीडितलाई मार्नेसम्मका जघन्य अपराधका घटनासमेत बढेकाले यसबाट बच्न सचेतनाका कार्यक्रम ल्याउन आग्रह गरिएको छ । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईले महिला बढी प्रभावित भएकाले न्यूनीकरणका लागि विभिन्न तालीमका कार्यक्रम ल्याइएको जानकारी दिए । मानवअधिकार उल्लङ्घनका घटना बढेकाले महिलालाई उत्प्रेरणा दिने कार्यक्रम ल्याइएको राईले बताए । रासस