गोरखाका ११ स्थानिय तहलाई ग्लोबल गोरखा समाजबाट स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदले गोरखाका सबै स्थानिय तहलाई स्वास्थ्य सामाग्री सहयोग वितरण गरेको छ । समाजले ११ लाख ७६ हजार ८ सय रुपैया बरावरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला स्थित ११ वटा स्थानिय तहहरु गोरखा र पालुङटार नगरपालिका तथा चुमनुब्री, धार्चे, आरुघाट, भीमसेन थापा, शहिद लखन, गण्डकी, सिरानचोक, बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकालाई एक कार्यक्रमका बीच स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको हो । जिल्लाका सबै स्थानिय तहलाई १३/१३ हजार थान मास्क र ३०/३० थान थर्मल गन सहयोग गरिएको छ । त्यस्तै गरी समाजले जिल्ला स्वास्थ्य कार्यालय गोरखालाई १० हजार थान मास्क र १० थान थर्मल गन, जिल्ला प्रशासन कार्यालय गोरखालाई ७ हजार थान माक्स र १० थान थर्मल गन, जिल्ला समन्वय समिती गोरखालाई २ हजार थान माक्स र २ थान थर्मल गन तथा नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार थान मास्क र १ थान थर्मल गन समेत हस्तान्तरण गरिएको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समिति गोरखालाई ग्लोबल गोरखा समाजका नेपाल प्रतिनिधी बिनोद पोखरेलले सामाग्रीहरु हस्तान्तरण गरेका थिए भने सबै स्थानिय तहलाई जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक कुमार गुरुङले हस्तान्तरण गरेका थिए ।

आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने

लेखक आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने ।। आशीर्वाद सँगै धन्यवाद दिने कोही नभएसी जे नै जितियोस् फिका जित पनि हार लाग्ने ।। सारा जिम्मेवारी बोक्ने आकास खसेपछि सोचेँ रहर मार्दै कसरी होला अब जिन्दगी पार लाग्ने ।। विपत्तिमा गुमनाम रहन्छ साथ सहयोग पाइदैन पाएको पुरस्कारमा भने रहेछ सरकार लाग्ने ।। हेर्नाेस् त मैले नचाहेको पाएँ जे चाहेँ गुमाएँ अचम्म सम्बन्ध पनि भयो दुई किनार लाग्ने ।। दाङसिङ नुवाकोट हाल पोखरा ११

पूर्वकप्तान पारस खड्का आइसिसी अवार्डका लागि मनोनयनमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का ‘आइसिसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको सूचीमा पूर्वकप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एशोसिएट विधाको मनोनयनमा परेका हुन् । मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी मनोनयनमा परेका छन् । स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन् । आइसिसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष आइसिसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी–२० खेलाडी (महिला तथा पुरुष), दशकको एशोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसिसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । अवार्डका लागि मनोनयनमा पर्नुभएका खेलाडीलाई मत दिन आइसिसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ । आइसिसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ । गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए । खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए । रासस