कोरोना कहरका बाबजुत ‘पावर लिफ्टिङ’मा नेपालको सफलता
कास्की । पावर लिफ्टिङका खेलाडी पोखराका हसन गुरुङले डेढ वर्ष अघिदेखि नै भारतमा तय भएको ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’का लागि अभ्यास शुरु गरेका थिए । गुहाटीमा अघिल्लो वर्ष मङ्सिरमा निर्धारित प्रतियोगिता त्यहाँको आन्तरिक समस्याका कारण स्थगित भयो । पुनः चैत पहिलो साता तय भएको प्रतियोगिता कोरोनाका कारणले रोकिएपछि अर्को मिति अनिश्चित थियो । देशभित्र सबै खेलकूद गतिविधि ठप्प थियो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत नेपालको सहभागिता थिएन । डिसेम्बर ४ देखि ७ तारिखसम्म भारतको महाराष्ट्रको अमरावतीमा प्रतियोगिता हुने जानकारी पाएपछि हसनसहित अन्य खेलाडी उत्साहित त भए तर सँगै चिन्ता पनि थपियो खेल्न जाने खर्च पो कसरी जुटाउने भनेर । खाने बस्ने सुविधा आयोजकको भए पनि आउने/जाने खर्च स्थलमार्गबाट जाँदा नै तीन लाख रूपैयाँ खर्च हुन्थ्यो । डेढ वर्षदेखिको परिश्रम खेर जान नदिन खेलाडी आफैँले पैसा जोहो गरेर भए पनि प्रतियोगिता खेल्ने निष्कर्षमा पुगे । नेपाल पावर लिफ्टिङ एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले व्यक्तिगत एक लाख रुपैयाँ उपलब्ध गराएपछि बाँकी रकम सात जनाले दामासाहीमा जुटाए र डिसेम्बर २ मा प्रतियोगिताका लागि प्रस्थान गरे । नेपालबाट स्थलमार्ग हुँदै २३ घण्टाको लामो यात्रापछि भारतको अमरावती पुगेका खेलाडी कोरोना कहरले खेलकूद क्षेत्र प्रभावित बनेका बेला देशलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएर खेलकर्मीको मुहारमा खुशी ल्याउन सफल भएका छन् । नेपाली खेलाडीले २१ औँ संस्करणको वर्ल्ड पावर लिफ्टिङमा तीन स्वर्ण र एक रजत पदक जितेर कोरोनाले अप्ठेरो अवस्थामा रहेको खेल क्षेत्रमा नयाँ उत्साह जगाएका छन् । “कोरोनाले कुनै पनि प्रतियोगिता नभएको अवस्थामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेर नेपालको नाम राख्नुपर्दछ भन्नेमा सबै दृढ थियौँ”, च्याम्पियनसीपमा सिनियरतर्फ ८२ दशमलव ५ केजीमा नेपाललाई स्वर्ण पदक दिलाएका गुरुङले भने, “आर्थिकलगायत समस्या झेलेर भए पनि विदेशी भूमिमा खेलेर सफलता मिलेपछि राष्ट्रको झण्डा फहराउन पाउँदा खुशीको सीमा रहेन ।” पावर लिफ्टिङ च्याम्पियनसीपका लागि नेपालबाट पाँच खेलाडी र दुई प्रशिक्षक सहभागी भएका थिए । हसनसहित जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक चुमे । सिनियरतर्फ १०० केजीमा राजेश सुवालले रजत पदक जित्न सफल भएका थिए । पावर लिफ्टिङ एशोसिएशन दुई वर्ष अघिमात्र राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको खेल सङ्घ हो । देशभित्र यस खेलका खासै प्रतियोगिता हुँदैनन् । केही खेलाडीले व्यक्तिगत सम्पर्कका आधारमा विदेशमा गएर खेल्ने गरे पनि पहिलोपटक पावर लिफ्टिङ एशोसिएशनले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको हो । नेपालले औपचारिकरुपमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त सफलता अहिलेसम्मकै पहिलो र ऐतिहासिक हो । एशोसिएशनमा पनि पावर लिफ्टिङमा खेलाडीले पदक जितेको रेकर्ड छैन । प्रतियोगितामा सिनियरतर्फ रजत पदक विजेता खेलाडी सुवाल आर्थिक समस्याका कारणले प्रतियोगितामा सहभागिता अनिश्चित रहेको अवस्थामा खेलाडीले आफ्नै खर्च र मिहिनेतबाट भए पनि सहभागिता जनाएर देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन पाउँदा खुशी लागेको बताउँछन् । खेलका लागि आवश्यक डाइट (पौष्टिक खानेकुरा) देखि खेल सामग्री र प्रतियोगितामा जाने खर्चसमेत आफ्नै भए पनि प्रतियोगितामा सहभागी हुनु नै देशको लागि गर्वको विषय हुन्छ भनेर खेलेर सफलता मिल्दा थप आनन्द लागेको उनको अनुभूति छ । उनले भने, “हामी राष्ट्रिय खेलाडी हौँ, लामो समयदेखि प्रतियोगिताका लागि भनेर मेहनत र खर्च भएकाले कोरोनाका कारणले हामी मौका गुमाउन चाहन्नथ्यौँ । नेपालीको इज्जत जोगाएर फर्कनुपर्दछ भन्ने थियो । मिहिनेत गरेअनुसार सफलता मिल्यो, भाग्यले पनि साथ दियो ।” खेलाडीले पावर लिफ्टिङका लागि भनेर खेल सामग्री प्राप्त नभएकाले जिमका सामानबाट अभ्यास गर्दै आएको बताउँछन् । विदेशमा पावर लिफ्टिङका लागि उचाल्ने खेल सामग्री पातलो प्लेटको हुन्छ तर नेपालमा छैन । नेपाली टोलीका प्रशिक्षकसमेत रहनुभएका एशिएन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष जीवन गिरी नेपालले पाएको सफलता ऐतिहासिक रहेको बताउँछन् । सो प्रतियोगिताका लागि शुरुआतमा २५ देशले नाम टिपाए पनि अन्तिम समयमा कोरोनाका कारण उडान समस्यालगायतका कारणले ११ देशले प्रतिष्पर्धा गरेका थिए । शारीरिक सुगठन९बडी विल्डिङ०तर्फभन्दा पावर लिफ्टिङमा नेपालको खेल सम्भावना बढी रहेको गिरीको भनाइ छ । देशभित्र पावर लिफ्टिङका प्रतियोगिता आयोजना गरेको खण्डमा नयाँनयाँ खेलाडी उत्पादन हुने विश्वास गरिएको उनको छ । प्रशिक्षक गिरीले भने, “पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता गरेको खण्डमा धेरै राम्रा खेलाडी आउने निश्चित छ, सरकार तथा राखेपले नवौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा यसलाई समावेश गर्नुपर्दछ, खेलाडी उत्पादनमा लाग्नुपर्दछ ।” नेपाल पावर लिफ्टिङ एशोसिएशनले अब पावर लिफ्टिङ खेललाई देशभित्र व्यवस्थित र योजनाबद्ध हिसाबले अघि बढाउने र प्रतियोगिता आयोजना गर्ने योजना बनाएको छ । पहिलो पटक देशको प्रतिनिधित्व गरेर खेलाडीले प्राप्त गरेको उपलब्धिबाट यस खेलको विकासमा मद्दत पुग्ने विश्वास एशोसिएशनले लिएको छ । एक वर्षभित्रमा देशका सात प्रदेशमा सात प्रादेशिक प्रतियोगिता गरेर प्रत्येक प्रदेशबाट पाँच जनाका खेलाडी छनोट गरेर छनोट भएकाका बीचमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएको एशोसिएशनका अध्यक्ष सुन्दर भुसालले बताए । उनले भने, “हामी एक वर्षभित्रमा राष्ट्रिय प्रतियोगिता आयोजना गरेर हाम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने वातावरण निर्माण गर्छौंं । राष्ट्रिय खेलकूदमा समेत समावेश गर्न सरकारलाई आग्रह गरेका छौं ।” खेलाडीको सफलताबाट उत्साहित एशोसिएशनले पोखरामा कार्यक्रम आयोजना गरी खेलाडीलाई नगर परिक्रमा गरी सम्मानसमेत गरेको थियो । रासस
अछाममा पूर्वाधार व्यवस्थापन प्रणाली इ सिफारिस सम्बन्धि तालिम शुरू
अछाम । अछामको मेल्लेखमा आज(पुस १ गते)देखि पूर्वधार व्यवस्थापन प्रणाली इ सिफारिस सम्बन्धि ३ दिने तालिम शुरु भएको छ । मालिक विकास संघको सुशासन परियोजना अन्तर्गत मेल्लेख गाउपालिका सूचना प्रविधि शाखाको आयोजनामा उक्त तालिम शुरु भएको हो । मेल्लेख गाउपालिका उपाध्यक्ष धनबहादुर शाहिको अध्यक्षतामा भएको तालिममा बिधुतिय शासन प्रबर्द्धन गर्न र सुचना प्रबिधि को उच्च प्रयोग तथा जनता सामु प्रबिधि मार्फत पार्दरशिता र लक्षित वर्गमा प्रबिधिको पहुच सहजै पुर्याउने उदेश्यका साथ तालिम शरू भएको हो । सुशासन परियोजना अन्तर्गत प्रबिधिको माध्यमबाट के कसरी काम गर्न सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको छ । जनता माझ इ सेवा पहुच र प्रारदर्शिताका लागि तालिममा छलफल भैरहेको छ । यस्तै सो परियोजनाका लागि मेल्लेख गाउपालिकाले विभिन्न सफ्टवेयर टुल बनाएर डिजिटल प्रबिधि मार्फत देश बिदेश बाट जानकारी प्राप्त गर्न सकिने बिकास निर्माणको अनुगमन अनलाइन प्रबिधिबाट गर्न सकिने अन्य सिफारिस गर्दा कागज बिहिन बनाइ मेल्लेखका सबै वडाबाट अनलाइनबाट सिफारिस गरिने बिषयमा पनि छलफल भइरहेको छ । पूर्वधार व्यवस्थापन प्रणाली, कृषि कार्यक्रम व्यवस्थापन प्रणाली, विद्युतिय बडा पत्र गुनासो व्यवस्थापन प्रणाली का लागि विभिन्न टुल्स र वेबसाइडको प्रयोग गरिने भएको छ । यसअघि पनि मेल्लेख गाउपालिकाले आफ्नो वइब साइड मार्फत सपटोयर प्रयोग गरि डिजिटल मेल्लेख स्मार्ट मेल्लेखको मुल नारालाई मुलधार बनाइ प्रविधिको बिकास गरि सकेको मेल्लेख का सुचना प्रबिधि अधिकृत चन्द्र प्रकाश साउदले बताएका छन् । मेल्लेखमा सुशासन परियोजना लागू भएसँगै सबै काम डिजिटल प्रविधिबाट गरिने विषयमा तालिममा छलफल भएको जनाएको छ । तालिम उद्घाटन कार्यक्रममा मेल्लेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीर्घ बहादुर खडक, मालिका विकास संघका रतन रावल, लगायत बिषयगत शाखाका प्रतिनिधिको उपस्थित रहेको थियो । तालिमको सहजिकरण साफेबगर नगरपालिका सुचना प्रविधि शाखा प्रमुख कबिता कुवरले गरिरहेका छन् । तालिममा वडा सचिव र बिषय गत शाखा प्रमुखको सहभागिता रहेको थियाे ।
नौ महिनापछि भक्तजनले पाए पशुपतिकाे दर्शन, यस्ताे छ नयाँ व्यवस्था
काठमाडौं । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ । भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ । दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेका थिए । कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो । रासस