राष्ट्रिय खेलकुद परिषद्ले कृषि बैंक मार्फत बैंकिङ्ग कारोबार गर्ने

काठमाडौं । देशको खेल विकासमा महत्वपूर्ण योगदान दिएको राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्ने भएको छ । यस सम्बन्धमा राखेपका सदस्य-सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सहित उच्च पदस्त कर्मचारीहरुको उपस्थितिमा पुस १४ गते दुवै संस्था बिच सम्झौता भएको हाे । दश वर्षे सम्झौता पत्र आदन प्रदान गदै सदस्य सचिव सिलवालले भने- सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली खेलकुदसँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्वित भएको बताए । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पुर्याउने उद्देश्यले सहकार्यका लागि अगाडि बढेको उनले बताए । दश बर्षको लागि भएको सम्झौतामा बैंकले राखेपका ५ बर्ष स्थायी सेवा अवधि पुरा गरेका कर्मचारीलाई बिना धितो १५ लाख सम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ । परिषद्ले संचालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्र लगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम संचालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ । यस्तै राखेपले सबै बैंकिङ्ग कारोबार कृषि विकास बैंक मार्फत गर्नेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेका दुई संस्था बिचको सम्वन्धले बैंकिङ्ग सेवालाई सहज वनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ । परिषद्ले बैंक मार्फत सेवा लिदाँ सेवा शुल्कमा सहुलियत हुनेछ भने एकिकृत कारोबार गर्न सहजता हुनेछ । सम्झौता अनुसार बैंकले परिषद् र परिषद्मा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम परिषद् मार्फत खेल क्षेत्रमा खर्च गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले विगतलाई स्मरण गराउँदै भने- ‘भलिवलका राष्ट्रिय खेलाडीलाई संस्थामा आवद्ध गरेर खेलकुदमा संलग्नता गरेको हाम्रो संस्था पुनः खेलकुदसँग जोडिएको छ । अवश्य पनि नतिजा फलदाय हुने छ । केन्द्रमा मात्र होईन, जिल्ला प्रदेशमा रहेको हाम्रो संस्थाको माध्यमले पालिका सम्म सहकार्य गर्न सकिन्छ ।’ खेलकुदको विकास र विस्तारका लागि केन्द्र देखि पालिका सम्म सहमति अनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर परिषद्लाई भौतिक सामाग्री उपलब्ध गराउन सक्नेछ । परिषद्ले संचालन गरेका कुनैपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको टिकट छपाई बैंकले गरिदिनेछ । बैंकिङ कारोबारका लागि बैंकले परिषद्को बैंकिङ पार्टनर भई कार्य गर्ने छ । सम्झौता समारोहका परिषद्को तर्फबाट सदस्यद्धय सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, विभागिय प्रमुख कुलबहादुर थापा, डेभ वहादुर वस्नेत, मधुसुदन वस्नेत, शाखा प्रमुख, राखेप कर्मचारी संघका फनिन्द्र पौडेल लगायत अन्य पदाधिकारीको उपस्थिति थियो भने बैंकका तर्फबाट उप-महाप्रवन्धक यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख मीनराज पोखरेल, वाग्मती प्रदेश प्रमुख सुन्दर प्रसाद खतिवडा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैंक र परिषद्बिच व्यावसायिक सहकार्य गर्नु सम्झौताको मूल उद्देश्य रहेको छ ।

खेलकुदले कोरोना परास्त गर्छ- उपाध्यक्ष कोइराला

काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । खेलकुदको सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् । खेलाडी देखी खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन् । छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् । फुटबल देखी क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् । भर्चुअल रुपमा केही प्रतियोगिता सुरु भएपनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन । खेलकुद गतिविधिलाई निर्वाद रुपमा सुचारु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेट लगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए । खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिक रुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे । सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका करातेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए । अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुचारु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुचारु गर्नेमा भने अझै अन्योल देखिएको छ ।

कथा सुनाएर रात काट्ने पर्व पुसे पन्ध्र

डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चिम प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ । यो पर्वमा दिनमा भन्दा रातिको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ । घरपरिवारमा मीठा खानाका परिकार पकाएर खाने र रातभर जाग्राम बस्ने, डेउडा खेल्ने परम्परा कतिपय बस्तीमा छ । यो पर्वमा टोल छिमेकको एक घरमा भेला भई आगो तापेर रातभर जाग्रम बस्ने, जाग्रम बसेका बेला तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै फर्सी उसिनेर खाने, लाउन, बाबर, असिका, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका मीठा परिकार पकाएर खाने र वृद्धवृद्धाबाट लोक कथा एंव दन्त्य कथा सुन्ने सुनाउने प्रचलन छ । दन्त्ये कथा जान्नेहरु नजिक गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्त्यकथा भन्नेले परम्परागत शैलीमै सुनाउँदै बीचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । श्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन । राक्षस, भुत, प्रेत, देवता, प्रेम, राजासंग सम्बन्धित दन्ते कथाहरु बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यहि कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्त्य कथासँगै गाउँ खाने कथा समेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचिनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिकता भने हराउँदै जान थालेको छ । “पहिलाको जस्तो गाउँका सबै जना दन्त्य कथा भन्ने व्यक्तिको घर आङ्गनमा जम्मा भै आगो बालेर कथा सुन्ने गर्दथे । तर हाल रात काटने र कथा सुन्ने चलन हराउदै जान थालेको छ”, सुदूरपश्चिम संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काटनका लागि एक ठाउँमा जम्मा हुनेहरु बीच गाउँको विकास, सामाजिक, धार्मिक र सांस्कृतिक कार्यका बारेमा सरसल्लाह हुन्थ्यो”, उनले भने, “एक आपसमा बैमनस्यता, रिस, राग भएपनि सबै भुलाएर सबै जना एक ठाउँमा जम्मा हुन्थे । जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” यसरी पर्व मनाउन एक ठाउँमा भेला हुनेहरुले १५ हात लामो (झण्डै २० फिट लामो) दाउराको मुढोको आगो ताप्नुपर्ने र एकआपसमा हाँसोठट्टा गरी रमाइलो गर्दै रात बिताउनुपर्ने चलन छ । पर्वको तयारीस्वरुप आज बिहानैदेखि हरेक घरका गृहणीहरुले आ-आफ्नो घरमा खानाका मीठा परिकार पकाउने तयारीमा लागेका छन् । पर्वमा विवाहिता छोरीवेटीलाई घरमा आमन्त्रण गरी भव्य रुपमा स्वागतसत्कार गर्ने गरिन्छ । विशेष गरी रातमा नसुतेर यो पर्व मनाउने परम्परा रहेको भए पनि बदलिँदो परिवेशमा यसको खास महत्व दर्शाउने गरी मनाउने परम्परा भने हराउँदै जान थालेको स्थानीयवासी लोकराज भट्टले बताए । सुदूरपश्चिममा मुख्य हिँउदेबालीका रुपमा लगाइने गहुँ छरेर फुर्सदिला बनेका बासिन्दा रातभर एक ठाउँमा जम्मा भएर रात अनिदोभै काट्ने गर्दछन् । रात काट्नका लागि दन्ते कथा र गाउँ खाने कथा सुनाएर रात काटने गरिन्छ । दन्ते कथा जान्नेहरु नजिकै गाउँका बासिन्दा जम्मा भएर कथा सुनाउन निकै कर गर्छन् । दन्ते कथा भन्नेले परम्परागत शैलीमै कथा सुनाउँदै बिचमा गीतका माध्यमबाट कथालाई निकै आकर्षक ढङ्गले प्रस्तुत गर्दछन् । स्रोताले निकै ध्यान दिएर सुन्ने गर्दछन् । कथा भन्ने यति सिपालु हुन्छन्की कथामा यसपछि के हुन्छ भन्ने कौतुहलता पैदा गर्छन् । कथा भट्याउने व्यक्ति सिपालु छ भने एउटै कथाले रात काटिएको पत्तोनै हुदैन । राक्षस, भूत, प्रेत, देवता, प्रेम, राजासँग सम्बन्धित दन्ते कथा बढी प्रचलित छन् । जुन कथा बढी प्रचलित छ । त्यही कथा सुनाउनका लागि बढी माग हुने गर्दछ । दन्ते कथासँगै गाउँ खाने कथासमेत भन्ने गरिन्छ । गाउँ खाने कथाको उत्तर दिन नसक्नेले गाउँ दिनुपर्ने हुन्छ । गाउँ दिएपछि मात्रै उत्तर भन्ने गरिन्छ । गाउँ खाने कथा भन्नेले निकै चलाखीपूर्वक प्रश्न सोध्ने गर्दछन् । पुसे पन्ध्र बनाउने चलन सुदूरपश्चिम प्रदेशमा प्राचीनकाल देखिनै चल्दै आएको हो । हाल पुसे पन्ध्रको मौलिता भने हराउँदै जान थालेको छ । दन्ते कथा र गाउँ खाने कथा भन्ने चलन हराउँदै जान थालेको छ । कथा जान्ने व्यक्तिको अभाव र युवा पुस्ताले मनोरञ्जनका अन्य साधनप्रतिको आशक्तिले पुरानो चलन विर्षदै जान थालेका हुन् । “पहिलाको जस्तो गाउँका सबै जना दन्ते कथा भन्ने व्यक्तिको घर आँगनमा जम्मा भई आगो बालेर कथा सुन्ने गर्दथे । “हाल रात काट्ने र कथा सुन्ने चलन हराउँदै जान थालेको छ”, सुदूरपश्चिमको संस्कृतिका जानकार तेज शाहले भने, “टेलिभिजन र इन्टरनेटको बढ्दो प्रभावका कारण पुराना मौलिक परम्परा हराउँदै जान थालेका छन् ।” “पुसे पन्ध्रको रात काट्नका लागि एक ठाउँमा जम्मा हुने बीच गाउँको विकास, सामाजिक, धार्मिक कार्य, सांस्कृतिकका बारेमा सरसल्लाह हुन्थ्यो” उनले भने, “एक आपसमा वैमनश्यता, रिस, राग भए पनि सबै भुलाएर सबै एक ठाउँमा जम्मा हुन्थे जसमा सामाजिक सद्भाव देखिन्थ्यो ।” “गाउँका सबै जना जम्मा हुने भएकाले सुख दुःखका कुरा सुन्ने र सुनाउने कार्य हुन्थ्यो । पिँडा बिसाउने चौतारीका रुपमा पुसे पन्ध्रलाई विगतमा लिने गरिन्थ्यो । त्यो पुरानो चलन ठिक थियो । त्यसलाई जोगाउनका लागि चेतनाको दियो बाल्नुपर्ने बेला आएको छ । यसका लागि नयाँ पिँढीलाई तयार गर्नमा लाग्नु आवश्यक छ”, लालबहादुर ऐरले भने । एकको घरमा पाकेको मिठामसिनो अर्कोलाई खुवाउने चलनसमेत यस पर्वमा रहेको छ । रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन रहेको उनले बताए । यो पर्व हाल औपचारिकतामा मात्रै सीमित भएको छ । आज हतियार नचाउने परम्परा पनि छ । घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ । तिहारमा देउसी भैली खेलेर जम्मा भएका रकम खर्चेर वनभोज खाने यस अवसरमा गरिन्छ । विवाहिता दिदीबहिनीलाई यस अवसरमा घरमा बोलाएर विभिन्न पकवान पकाइ खुवाउने गरिन्छ । पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ । यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन् । रासस