पोखराकी एलिना गुरुङ्ग बनिन् वाइ वाइ नेपाल स्टारको विजेता
काठमाडौं । नेपालको आफनै साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ्गले भएकी छिन् । नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरी प्रशारण गरेकाे साँगितिक रियालीटि शो को पहिलो सिजनको विजेता गुरुङ भएकी हुन्। नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा नेपाल सरकारका संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको ३०० स्टुडियोमा भव्य समारोहका बीच कार्यक्रम भएको थियो । नेपाली गीत संगीत नेपालको संस्कार, संस्कृतिलाई विश्वको कुना कुनामा चिनाउने एक सशक्त माध्यम भएको र वाइ वाइ नेपाल स्टारमा देशभरबाट हजारौको संख्यामा अडिसनको समयदेखि यो अन्तिम प्रतिस्पर्धासम्मको अवधिमा रहने सम्पूर्ण सहभागीहरुले देशको नाम राख्न सफल भएको मन्त्री गुरुङले बताए। नेपाल टेलिभिजन क्रमश अत्याधुनिक कार्यक्रमहरु प्रविधिसँग घुलमेल गर्दै आम दर्शक सामु पस्कन पाउदा अत्यन्त गौंरवान्वित भएको महशुस भएको नेपाल टेलिजिभनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टले बताएका थिएन। नेपालको आफनै एकमात्र साँगितिक रियालीटि शो वाइ वाइ नेपाल स्टारको अडिसन नेपालको ७ बाटै प्रदेशमा भएको थियो । यस वाइ वाइ नेपाल स्टारको मुख्य प्रायोजकको रुपमा वाइ वाइ बृज सिमेन्ट तथा सिद्धार्थ बैंक रहेको थियो भने अन्य प्रायोजकहरुमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हरपल चामल तथा यति कार्पेट रहेका थिए। वाइ वाइ नेपाल स्टारको अन्तिम प्रतिस्पर्धामा रहेका पोखराकी एलिना गुरुङ्ग, ताप्लेजुङ्गका लक्ष्मण लिम्बु, काठमाण्डौका शुरेस लामा तथा धरानका सन्देश बम्जन लामा थिए। यी अन्तिम प्रतिस्पर्धाका चारै जनाले जनही रु ५,५ लाखका दरले नगद प्राप्त गरका थिए भने वाइ वाइ नेपाल स्टार बन्न सफल पोखराकी एलिना गुरुङ्गले थप ३० लाख सहित रु ३५ लाख नगद जितेकी छिन्। वाइ वाइ नेपाल स्टार २०७६ साल फाल्गुन २४ गते शनिवारका दिनदेखि नेपाल टेलिभिजनबाट प्रशारण शूरुवात भएको थियो। बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण नेपाल स्टार पनि केही समय रोकिन पुगेको थियो र यसलाई पुन केही समयपछि निरन्तरता दिइएको थियो। यस कार्यक्रमलाई बिश्वस्तरको बनाउन नेपाल स्टारका डाइरेक्टर रवि श्रेष्ठको अथक प्रयास, मेहनत र परिश्रम प्रत्यक्ष प्रशारणसम्म रहेको थियो भने उहाँसँग एउटै टिममा रहेर काम गर्नुहुने सम्पुर्ण नेपाल स्टार उत्पादन,व्यवस्थापन टिमको उत्तिकै मेहनत रहेको थियो। वाइ वाइ नेपाल स्टार जस्तो नेपालको आफनै साँगितिका रियालिटी शो परिकल्पना कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले गरेका थिए र उनले शुरुदेखि अन्तसम्म कार्यक्रमलाई सफल बनाउन कार्यक्रमका डाइरेक्टर रवि श्रेष्ठ लगायत अन्य टिम एवं नेपाल टेलिभिजनसँग प्रत्यक्ष रुपमा संबाद गरेका थिए।
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
काठमाडाैं । ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गरेका थिए । नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो । शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो । चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे, क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा नगद, ट्रफी र पदक वितरण गरे । उनीहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद पाँच हजारसहित ट्रफी र पदक प्रदान गरेका थिए । प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पारेका थिए ।
राजधानीमा ६५ रुपैयाँमै खाना, पैसा नहुनेलाई नि:शुल्क
काठमाडौं । कहिलेकाहीं संकटहरूले पनि अवसर सिर्जना गर्ने रहेछन् । त्यसैले त भनिएको होला समस्यालाई अवसरमा परिणत गर्न सकिन्छ भनेर । कोरोना महामारीपछि यस्ता थुप्रै दृश्यहरू देखा परे । संकट र समस्याबीच मानिसहरूले थुप्रै नयाँ–नयाँ सोच जन्माए । कोरोनाकालपछि व्यापार र सेवा भावका थुपै्र कामहरू सुरुवात भए । ‘हाम्रो खाना घर’ले माघ १७ बाट सञ्चालन गर्न लागेको ६५ रुपैयाँमै खाना त्यसैको गतिलो उदाहरण हो । राजधानीमा यति सस्तो दरमा खाना खुवाउने सम्भबत: यो पहिलो रेस्टुराँ हुन सक्छ । व्यापारभन्दा सेवा भावले बढी प्रेरित देखिन्छ अनामनगरस्थित हाम्रो खाना घर । यो यस्तो रेस्टुराँ हो, जसले सबैलाई ६५ रुपैयाँमै भेज खाना खुवाउनेछ । कम आय भएका, विद्यार्थी, मजदुर, सर्वसाधारण, अस्पतालमा बिरामी कुरुवा, व्यस्त दिनचर्या भएर खाना पकाउन नभ्याउँनेलाई लक्षित गर्दै हाम्रो खाना घरले यस्तो सुविधा प्रदान गर्न लागेको हो । अनामनगरको बिगमार्ट नेरै छ, हाम्रो खाना घर । यो रेस्टुराँले भेज आइटम सर्भ गर्नेछ । जहाँ एकै पटक ८३ जना व्यक्ति बस्न सकिने क्षमता छ । रेस्टुराँका अनुसार अस्पतालमा रहेका बिरामी र कुरूवालाई भने डेलिभरी गरिने छ । पैसा नहुने, अभाव र समस्यामा परेका व्यक्तिहरुलाई नि:शुल्क खाना खुवाईनेछ । ६५ रुपैयाँमा खाना उपलब्ध गराउने सोच कसरी सुरु गर्यो ? त्यसको पृष्ठभुमि हाम्रो टिम नेपालसँग जोडिन्छ । कोभिड–१९ को महामारीपछि धेरैको बिचल्ली भयो । लकडाउनमा कैयौंले रोजगारी गुमाए । कतिलाई दैनिकी चलाउनै धौधौ भयो । कामको खोजीमा निस्किएकाहरू शहर छाडेर गाउ नै फर्किए । आम नागरिकलाई छाक टार्नै समस्या भयो । तिनै भोका पेटहरूलाई ‘हाम्रो टिम नेपाल’ले चैत १४ देखि सेवा दिन थाल्यो । ५ वर्षदेखि काम गरिरहे पनि गत असारदेखि संस्था दर्ता गरेरै काम अगाडी बढाइएको छ । मनकारी व्यक्तिहरु जोडिएको ‘हाम्रो टिम नेपाल’ सक्रिय त पहिल्यै थियो । लकडाउनपछि झन् सक्रिय बन्यो । राजधानीका खुलामञ्च, महालक्ष्मीथान, तिलगंगा लगायतका क्षेत्रमा स्वयंसेवकहरुले खाना बाँड्न थाले । पुलमुनी बस्नेदेखि, मठ मन्दिर र अस्पतालबाहिर रात कटाउनेहरुलाई पनि ‘हाम्रो टिम नेपाल’ ले सहयोग गर्यो । लकडाउनमा खाना, खाद्यान्न बाँडेको यो संस्थाले २५ जिल्लामा सिरक, डसना, लगायतका सामग्रीहरु वितरण गर्यो । लकडाउनकै बेला फरक क्षमता भएका, दृष्टिविहिनलाई घरमै रासन पुर्याउनेदेखि समस्यामा परेका व्यक्तिहरुको कोठा भाडा पनि तिरिदियो । राजधानीमा अलपत्र परेका कतिपय नागरिकलाई ‘हाम्रो टिम नेपाल’ले घर जाने टिकट काटेर उद्धार गरिदियो । त्यो बेला झण्डै एक सयलाई खाना खर्च दिएर टिकट काटिदिएको ‘हाम्रो टिम नेपाल’ का सदस्य उमेश बोहरा बताउँछन् । २०७६, चैत १४ देखि सुरु भएको खाना वितरण अभियान अहिले पनि जारी छ । सेवाको त्यही काम गर्दागर्दै हाम्रो टिम नेपालले नयाँ सोच जन्मायो, ६५ रुपैयाँमा खाना खुवाउने । महिनाभरीका लागि ३ हजार ९ सय रुपैयाँ मात्र तिरे पुग्ने । बिभिन्न पेशा, व्यवसायमा सक्रिय व्यक्तिहरु मिलेर जन्मिएको हाम्रो टिम नेपाल सामाजिक सेवामा सक्रिय छ । यसमा ९ जनाको कार्य समिति छ भने ११ सय सदस्य आवद्ध छन् । सुदुरपश्चिमदेखि पूर्वसम्मका सबै व्यक्तिहरु यसमा जोडिएका छन् । राज्यको आँखा नपुगेका क्षेत्र, अभाब र समस्यामा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले धेरैलाई एकै ठाउा भेला गरायो । विदेशबाट फर्किएका नेपालीहरुको यसमा ठूलो समुह छ । आफ्नो व्यवसायबाट बचेको समय उनीहरु समाजसेवा लगाइरहेका छन् । संस्थाको नारा नै छ, भोकमुक्त, नांगोमुक्त, भेदभावमुक्त राष्ट निमार्ण, राज्यका हरेक सेवा, सुविधा हरेक नागरिकलाई समान अधिकार । सस्तोमा खाना खुवाउने अभियानको श्रेय खासगरी हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तलाई जान्छ । सहकर्मी साथीहरुसँग छलफल गरेपछि उनले यो कामलाई अगाडी बढाएका हुन् । लकडाउन नलम्बिएको भए अझै यो काम पहिले नै सञ्चालन गर्ने तयारी थालेको पन्त बताउँछन् । काठमाडौंमा महंगा–महंगा होटेल छन् । सेवामुलक भन्दा नाफामुलकको बाढी नै छ । तल्लो वर्गलाई लक्षित गर्दै होटेल, रेस्टुराँ खुलेनन् । ‘हामीले कम पैसा हुने र समस्यामा परेकालाई लक्षित गर्दै यो सेवा सुरु गर्यौं, यहाँबाट उठेको पैसा पनि समाजसेवामै खर्चिने छौं,’ अध्यक्ष पन्तले भने । काठमाडौंका सडकमा हिंड्ने कोही पनि भोकै नपरुन् भन्ने आफ्नो लक्ष्य रहेको उनले सुनाए । नाफा जति आपतकालिन समस्या बाढी पहिरो, आगलागी, बिपन्न र फरक क्षमता भएका व्यक्तिलाई सघाउने लक्ष्य राखेको उनी बताउँछन् । ‘हाम्रो खाना घर’ मा बेलायत बस्ने समाजसेवी इशा गुरुङ र हाम्रो टिम नेपालको व्यापारिक साझेदारी छ । रेस्टुराँ कति लगानीमा खुल्यो ? यसको लागत खर्च कति हो ? यसबारे हाम्रो टिम नेपालका अध्यक्षले बताउन चाहेनन् । आर्थिक कारोबारका सवालमा सोधिएका प्रश्नमा उनी पन्छिए । अनामनगरस्थित ‘हाम्रो खाना घर’ मा जोसुकैले दैनिक १ सय ३० रुपैयाँमै बिहान बेलुका भोक मेटाउन सक्नेछन् । हाल ९ जना स्टाफ कार्यरत छन् । ३ जनाले तलबमा र बाँकीले स्वंयसेवा गर्ने छन् । दैनिक रुपमा भीढ बढेमा काठमाडौंका नाकाहरुमा शाखा खोल्ने तयारी पनि भइरहेको छ । त्यस्तै मुलुकका प्रमुख शहरहरूमा शाखा विस्तार गर्ने तयारी थालेको अध्यक्ष पन्तले बताए । कम्तिमा १० वटा शाखा पहिलो चरणमा खोल्ने तयारी भईरहेको हाम्रो टिम नेपालका विश्वबन्धु भण्डारी बताउँछन् । ‘हाम्रो खाना घर’ मेनुमा अहिले भेज आइटम मात्र उलब्ध छ । बिस्तारै खाजा, नास्ताको आइटम थपिनेछ । बजार मूल्यभन्दा निकै कम मूल्यमा उपलब्ध गराउने हाम्रो टिम नेपालका सदस्य उमेश बोहरा बताउँछन् । यसअघि यही समुहले कपडा बैंक पनि सुरु गरेको थियो । राजधानी र उपत्यका बाहिरका शहरमा कपडा बैंकले छोटो समयमै मन जितेको थियो । आफूसँग लुगा हुनेले दिने र नहुनेले लिने कपडा बैंक आम मानिसहरूले रुचाएका थिए । हाम्रो टिम नेपालको लिस्टमा स्वरोजगारका अरु पनि योजनाहरु छन् । विदेशबाट फर्किएका युवाहरुको ठूलो जमात छ यसमा । आफूले सिकेको सीप, अनुभव स्वदेशमै लगानी गर्ने उनीहरुको योजना छ । उनीहरू सकेसम्म स्वदेशी उत्पादन र यसको प्रयोगमा जोड दिन चाहन्छन् । संस्थाका अध्यक्ष पन्तका अनुसार उत्पादनमुलक उद्योग सञ्चालन गर्ने योजना रहेको छ । ‘आ–आफ्ना ठाउबाट सकेको योगदान दिने हो भने समाजमा पक्कै परिवर्तन आउछ,’ पन्तले सुनाए ।