घरको काम छोरालाई पनि सिकाऔंँ

टीकापुर । कैलाली टीकापुरकी रुपा ओलीका दुई सन्तान छन् । रुपाका छोरा १६ र छोरी १४ वर्षका छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्सको शहर दुबइमा छन् । निजी विद्यालयकी शिक्षिका रुपाले छोराछोरी दुवैलाई घरमा गर्नुपर्ने काममा समान व्यवहार गरिरहेकी छिन् । ‘‘मेरा लागि छोराछोरी बराबर हुन्, मैले घरभान्सा र सरसफाइको काममा दुवैलाई बराबरी गराउँछु, उनीहरु बीच विभेद छैन’’, उनले भनिन्, ‘‘छोराले खाना पकाए छोरी भाडा माँझ्छिन्, छोराले झाडु लगाए छोरीले पोछा लगाउँछिन् । यसरी काम बाँडेकी छु ।’’ घरमा बाख्रा र भैँसीसमेत पाल्नुभएका रुपालाई घरको काम धेरै हुन्छ । उनलाई छोराछोरीले भान्सा र सरसफाइका काममा सघाउँछन् । छोराछोरीलाई एउटै विद्यालयमा अध्यापन गराइरहनुभएका रुपा घरको काम छोराछोरी दुवैलाई सिकाउन आवश्यक रहेको बताउँछिन् । ‘‘काम सिकेको छोराले पछि सुख पाउँछ, काम नजानेको छोरा भए बुहारीले पनि दुःख पाउँछे”, उनले भनिन्, ‘‘मिलेर काम गरे पो समान व्यवहार भयो । समान व्यवहार त घरबाटै शुरु गर्ने हो । हामी सानैदेखि छोरीलाई घरको कामको बोझ थोपार्छाैँ, अनि त्यो परम्परा बाँचुञ्जेल चलिरहँदा महिलाले दुःख पाइरहेका घटना सुनिन्छन् ।’’ कैलाली, जोशीपुरकी सुस्मिता चौधरीले आफ्ना दुई छोरी र एक छोरालाई पनि घरको कामको बाँडफाँट गरी बराबरी लगाएकी छिन् । ‘‘जीवन सबैको बराबर हो, पढ्ने समयमा पढ्छन्, फुर्सदमा घरको काम मिलेर गर्छन्, अवसर र व्यवहार सबैले समान पाउनुपर्छ भन्ने बुझेकी छु”, सुस्मिताले भन्नुभयो, “घरको काम, लुगा धुने, खेतबारीको काम सबै बराबरी गर्छन् । काम ठग्ने बच्चालाई मैले आवश्यकता पूरा नगर्ने चेतावनी दिन्छु ।’’ उनी सानैदेखि समान व्यवहार र सबै काम गर्नुपर्छ भन्ने सिकाएमा विभेद अन्त्य हुने बताउनुहुन्छ । ‘‘हामीले निकै विभेद भोगेर हुर्कियौँ, दाइभाइ विद्यालय पढ्न जान्थेँ, हामी दुई दिदीबहिनी थियौँ, हामीले आमासँग खेत र बारीमा काम ग¥यौँ, त्यो बेला निकै मन पोल्थ्यो”, सुस्मिताले भनिन्, “त्यही पीडाले मलाई आफ्ना छोराछोरीमा विभेद गर्नुहुन्न भन्ने सिकाएको हो ।’’ छोराछोरीबीच अभिभावकले गर्ने विभेदका कारण छोरीमाथि हुने हिंसा घट्न नसकेको अनुभव उनी सुनाउँछिन् । उनले भनिन्, ‘‘छोराहरुलाई पनि काम गरेर घरपरिवार सम्हाल्ने जिम्मेवारी बोध गराउनमा कतिपय अभिभावकवाट कमीकमजोरी भइरहँदा महिलाप्रतिको समान व्यवहार हुने कुरामा समस्या भइरहेको छ ।‘‘ जानकी गाउँपालिका— ९ मूर्तियाका कमल न्यौपाने २२ वर्षको भए । कमलकी बहिनी पूजा १८ वर्षकी छिन् । उनीहरु दुवै दाजुबहिनी भान्सा तथा घरको सबै काम मिलेर गर्छन् । ‘‘बुवाआमा रोजगारीका सिलसिलामा घर बाहिर , हामी दुई दाजुबहिनी मिलेर घरको जिम्मेवारी सम्हालेका छौँ’’, कमल भन्छन्, ‘हामी सबै काम आफैँ गर्छौँ । बहिनी विज्ञान विषयमा १२ कक्षाको परीक्षा दिएर बसेकी छन् । उनले मात्र काम गरेमा पढ्ने समय कसरी पाउलिन् ? त्यसैले म पनि सबै काम गर्छु ।’’ बहिनीको परीक्षा र पढाइमा बढी व्यस्त भएका समयमा कमल ओछ्यानमै खाना पु¥याउँछन् । ‘‘म बिहान कक्षा लिन विद्यालय जान्थेँ, दाजु सबै काम सकेर मेरा लागि खाना पकाइदिएर आफू कलेज जानुहुन्थ्यो’’, पूजाले भनिन्, ‘‘मिलेर काम गरेकै कारण हामी आत्मनिर्भर भएका छौँ, हामी दुवै दाजुबहिनी पढाइमा पनि राम्रो छौँ ।’’ पूजाले बुबाआमाले आफूहरुलाई सानैदेखि बराबरी काम गर्न सिकाउँदा अहिले सजिलो भएको अनुभव सुनाइन् । शिक्षिका टङ्कमाया पोखरेल छोरीलाई घरको काम धेरै लगाउने कारणले तिनको पढाइमा अहिले पनि असर परिरहेको बताउँछिन् । ‘‘छोरालाई पढ्नुपर्छ, खेल्नुपर्छ, शारीरिकरुपमा स्वस्थ हुनुपर्छ भन्ने अभिभावक धेरै छन्’’, शिक्षिका पोखरेल भन्छिन्,“तिनै अभिभावक छोरीले घरको काम सिक्नुपर्छ, पराइ घर गए दुःख पाउँछे, आमाले संस्कार नसिकाएको भन्छन् भनेर घरको कामको बोझ बढाइदिँदा छोरीको पढाइ बिग्रन्छ ।’’ उनी आफूहरुले विद्यालयमा हुने अभिभावक भेला र छलफलमा छोरालाई पनि समान काममा लगाउन तथा छोरीलाई पढाइका लागि पर्याप्त समय दिन सुझाव दिने गरेको बताउँछिन् । पछिल्ला वर्ष अभिभावकमा चेतनाको अभिवृद्धि हुन थालेसँगै उनीहरुले आफ्ना छोराछोरीप्रति पढाइलेखाइ र घरायसी काममा गरिने व्यवहारमा पनि सकारात्मक परिवर्तन भइरहेको देखिएको छ । अधिकारकर्मी निर्मला कडायत पितृसत्तात्मक सोचका कारण छोरीलाई बढी काममा लगाउने समाज विस्तारै बदलिँदै गएको बताउँछिन् । ‘‘विगतमा छोरी पढाए पराइ घर जान्छन्, किन खर्च गर्ने, अर्काको घरमा सुख पाउनका लागि घरको काम सिकाउनुपर्छ भन्ने सोचाइ थियो’’, कडायतले भनिन्, “ तर समाज परिवर्तन हुँदै गएको छ । कामम पनि दुवैलाई सिकाउने र शिक्षा पनि बराबरी दिन थालेका छन् ।’ उहाँले आफूले पनि तीन सन्तानलाई समान व्यवहार र शिक्षा दिइरहेको बताइन् । समाजशास्त्री शिवचरण चौधरी छोरीलाई काम, इज्जत र सभ्यता सिकाउने समाजले छोरालाई पनि सिकाउन आवश्यक रहेको बताउँछन् । ‘‘हाम्रो समाजले छोरी लजालु हुनुपर्छ, घरको सबै काम जानेकी सिपालु हुनुपर्छ भनेर सामाजिक दायराहरु तयार गरिदिएको छ”, चौधरीले भने, “छोरा पनि सबै काममा सिपालु हुनुपर्छ, सबैलाई माया, आदर गर्ने हुनुपर्छ भन्ने जस्ता संस्कार नसिकाउँदा अहिले समाजका कतिपय युवा उद्दण्ड व्यवहार देखाउने गरेको भेटिन्छन् ।’’ उनी महिलामाथि हुने हिंसा न्यूनीकरण र छोराछोरी बीचको विभेद अन्त्यका लागि घरबाटै समान व्यवहारको शुरुआत गर्नुपर्ने र छोराहरुलाई पनि पढाइबाहेकका समयमा घरमा व्यस्त राख्न सके गलत सङ्गत तथा कुलतमा लाग्नबाट जोगाउन सकिने बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइ कैलालीको तथ्याङ्कमा २०७४/०७५ मा विद्यालय छाड्ने विद्यार्थी चार प्रतिशत रहेको तर घरको कामकै कारण पढाइ प्रभावित हुने विद्यार्थीको सङ्ख्या कति छ भन्ने तथ्याङ्क छैन । कैलाली, टीकापुर नगरपालिकामा छोराभन्दा विद्यालय छाड्ने दर छोरीको दुई प्रतिशत बढी रहेको शिक्षा अधिकृत नरेश अवस्थी बताउँछन् । ‘‘कारण त हामीले खोजेका छैनौँ तर छोराभन्दा विद्यालय छाड्ने छोरीको प्रतिशत धेरै छ’’, अधिकृत अवस्थी भन्छन्, ‘‘छोरीलाई घरको काममा बढी लगाउनु पनि समस्या हो ।’’

तराईमा शीतलहर: ‘तर गोविन्द उपर नारायण’

महाेत्तरी । जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइ/चौडाइका झुप्रा छन् । यी झुप्रामा जीवन गुजारा चलाउने गरिबका लागि जाडो छल्ने दुईवटा तरिका देखिन्छन् । एउटा बाटोघाटोबाट सोहोरेर ल्याइएको पातपतिङ्गर, मिल्किएका झुत्रा लुगा र प्लाष्टिक बटुलेर बालिने ‘घूर’। जहाँ बस्तीभरिकै बूढाखाडा, बालवनिता (केटाकेटी) र महिला पचपची निस्कने ‘घूर’ को धुँवाबीच हात फैलाएर तातो लिएको अनुभूति गर्छन् । अर्को तल (भुँइ) मा पराल पसारेर घुँडा खुम्च्याएर सुत्ने, माथि (शरीरमाथि) पराले चटाइ (एकप्रकारको गुन्द्री) तेस्र्याउने । अर्थात् पराल नै डस्ना, पराल नै सिरक। यसैलाई गरिबले जाडो छल्ने उपायमा ‘तर गोविन्द, उपर नारायण’को उक्ति सुनाउने गरेका हुन् । ‘हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो’, झुरुमुट्ट बस्तीको झुप्रा अगाडि आङ्गनमा १०/१२ आफ्ना परिवारजन र छिमेकीसहित ‘घूर’ का चारैतिर हात फैलाएर बसेकी महोत्तरीकै भङ्गाहा नगरपालिका–३ सकरी मुसहरी बस्तीकी करिब ६० वर्षीया रामराजी सादा मुसहरले भने, ‘रात कटाउन पराल छ, उज्यालो भएपछि घूर ।’ लगातार बढ्दै गएको चिसोले बनीबुतो (मजदूरी) गर्न जान नपाएपछि उदरपूर्ति (खाने कुरा) को पनि समस्या बढेको रामराजीको थप ब्यथा छ । रामराजीजस्तै भङ्गाहा–८ धर्मपुरको अन्हारवन बस्तीकी सुथरी बाँतर पनि छिप्पिदो जाडोले यसपालि लाने हो कि भन्ने ठान्छन्। ‘न खायके कोनो ठिकान, न ओढ बैसके कोनो बिस्तर’ (न खाने कुरा यो भन्ने छ, न ओढ्ने, बस्ने लुगा) करिब ५० वर्षीया सुथरीले थुरथुरी जाडोमा ओठ कमाउँदै भने, ‘हम गरिबके देखवाला कोइ नई, बुझाइय जे अइबेर जाडमे नई जियब’ (हामी गरिबलाई हेर्ने कोही छैनन्, लाग्छ, यसपालिको जाडोबाट बाँच्न सकिन्नँ) । चुुनावका बेला थरिथरिका आश्वासन दिने नेता अर्को चुनाव नआएसम्म बस्तीमा नदेखिने गरिब बस्तीका पाका व्यक्ति बताउँछन् । विगतमा आफ्नो गरिबी, अभाव र पछौटेपनबारे कसैप्रति गुनासो नगर्ने मुसहर, बाँतर अब भने आफूलाई हेर्ने बुझ्ने कसैले नगरेको बताउन थालेका छन् । ‘हेर्नोस हजुर, तेसुर साल (परार) धुर्मुस सुन्तली र एक जना बाबाजी (सन्त, बौद्धभिक्षु) आएर केही दिन पुग्ने अन्नपात, ओढ्ने कम्बल र केही लुगा दिएर गएथे’, भङ्गाहा–४ पलारको बाँतर बस्तीकी ४० वर्षीया सियानकीदेवी बाँतरले भने, ‘त्यसयता यी कसरी बसेका छन् भनेर कोही फर्केर आ’का छैनन् ।’ मुसहर, बाँतर, डोम, हलखोर, मेस्तर, खत्बे, चमार र दुसाध जाति समुदायका बस्तीमा आमरूपमा छ्याङ्छ्याङ्ती गरिबी झल्कन्छ । यीमध्ये पनि मुसहर र बाँतर बस्ती चाहिँ पराले झुप्राका गुजुमुज्ज (झुरुमुट्ट) बस्तीले सजिलै चिनिन्छ । मुसहर, बाँतरको बारेमा सुनेकै भरमा पनि अपरिचित ठाउँमा पुग्ने जोसुकैले पराले झुप्रा देख्नासाथै यी त मुसहर, बाँतरका घर हुन् भनेर सजिलै लख काट्न सक्ने महोत्तरीको भङ्गाहा नगरपालिका–३ का बासिन्दा समाजशास्त्री (समाजविज्ञ) शिवराज दाहालले बताए । महोत्तरी जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ। यीमध्ये भङ्गाहा, गौशाला, बर्दिवास र लोहारपट्टी नगरपालिकामा अन्य भन्दा बढी मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले अति नै पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन्। दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिने समाजशास्त्री दाहालको भनाइ छ । सम्पत्तिका नाममा पराले झुप्रामात्र हुने मुसहरमा छोराछोरी किशोरवयमा पुगेपछि एउटा नयाँ आशा पलाउँछ। छोराछोरी हुर्केपछि बनीबुतो गरेर अन्नपात ल्याउने हुनाले जीवन गुजारामा सहयोग पुग्ने औरही नगरपालिकाको टिम्किया बस्तीका पल्टा मुसहरले बताए । ‘जाडो छल्ने पोरा (पराल) पनि गिरहत (मालिक, आफूले बनीबुतो गर्ने किसानलाई मुसहर गिरहत वा मालिकको सम्बोधन गर्छन्) को घरबाट मागी ल्याउन र गाई, बाख्रा चराउन सक्ने भएको छ’, करिब १३/१४ वर्षको छोरा सोमनातिर देखाउँदै पल्टाले भने , ‘यिनै नानी हाम्रा धन हुन् ।’ मुुसहर, बाँतरमा छोराछोरीको नाम राख्ने चलन पनि मिल्दोजुल्दो छ। न पुरोहित चाहिने, न कुनै हेरकोर ! आइतबार (रविबार) जन्मने छोरो रेविया, छोरी अइती। त्यसैगरी सातवटै बारसँग मिल्ने नाम राखिन्छन्, सोमना/सोमनी, मङ्गला/मङ्गली, बुधना/बुधनी, विपना/विपनी, शुकना/शुकनी र शनिचरा/शनिचरी आदि। यीबाहेक बन्ठा, भुट्टा, कैला, नेङरा आदि मुसहर, बाँतर बस्तीमा बाक्लै सुनिने नाम हुन् । नाममा पनि बस्तीका गिरहतका छोराछोरीसँग मिल्ने हो कि भनेर नाम बिगारेर राख्छन्। रोहितभन्दा हुने ठाउँमा यी दलितका छोराको नाम ‘रोहिता’ हुन्छ। छोरीको पनि त्यस्तै स्त्रीवाचक मिलाएर नाम राखिन्छन् । मुसहर जिल्लाका सबै स्थानीय तहमा रहे पनि बाँतर भने भङ्गाहा नगर क्षेत्रमा मात्र भेटिन्छन्। आफ्नो नगर क्षेत्रमा मुसहर र बाँतरको एक ठाउँ गणना हुँदा फरक–फरक जाति समुदाय बसोबास तालिकाको अभिलेखमा मुख्य स्थान ओगट्ने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले स्वीकारे । जिल्लामा विसं २०६८ को पछिल्लो जनगणनाले मुसहरको २३ हजार ३६४ र बाँतरको दुई हजार ७९४ जनसङ्ख्या रहेको देखाएको छ। त्यसयताका एकदशकमा यो सङ्ख्या बढेर दुवैको गरी ४० हजारको हाराहारी पुगेको तथ्याङ्क कार्यालय महोत्तरीका विज्ञको अड्कल छ । अहिले करिब ४० हजारको हाराहारी पुग्नै लागेको जनसङ्ख्याभित्रका मुसहर, बाँतर समुदायबाट प्रवेशिका उत्तीर्ण गर्ने सङ्ख्या १५ कटेको छैन । विद्यालयमा प्रत्येक वर्षजसो भर्ना अभियानका नाममा यी समुदायका नानीहरुको नाम विद्यालयमा लेखिए पनि गरिबी र अभावले टिक्न सक्दैनन् । जिल्लामा वर्सेनीजसो शीतलहरको प्रकोप नै हुँदै आएको छ  । तर जनप्रतिनिधिमूलक निकाय होस् वा सेवाप्रदायक राज्यका निकाय होउन्, कसैले प्रकोपको पूर्वतयारी गरेका नदेखिने यहाँका आम बुद्धिजीवीको टिप्पणी छ । ‘सबै स्थानीय तहमा दैवीप्रकोप उद्धार कोष छ, प्रत्येक जिल्लामा सरकारका मुख्य प्रतिनिधि मानिने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा दैवीप्रकोप जिल्लास्तरीय समिति छ’ नेपाल सरकारको सहसचिवबाट सेवानिवृत्त भएका भङ्गाहा–५ का रामबहादुर भुजेलले भने, ‘सेवानिवृत्त भएर घर बसेको १० वर्ष नाघिसक्यो, कहिल्यै प्रकोपको पूर्वतयारी कसैले गरेका देखिँदैन।’ सेवाप्रदायक निकाय उत्तरदायी हुन नसक्दा वर्सेनी चिसोकै कारण ज्यान जाने र दीर्घरोगले ग्रसित हुने बढिरहेका भुजेलको थप भनाइ छ । यद्यपि जाडोमा ‘तर गोविन्द, उपर नारायण’ भन्दै परालको भरमा रहेका मुसहर, बाँतर समुदायको विभिन्न अवसरमा पहुँच बढाउन प्रयत्न भइरहेको यहाँका स्थानीय तहका प्रतिनिधि बताउँछन् । ‘हो, मुसहर, बाँतर जाति समुदाय सबै क्षेत्रमा धेरै पछि छन्’, भङ्गाहाका नगरप्रमुख साहले भने, ‘हामीले यो समुदायमा शैक्षिक जागरण र अन्य अवसर बढाउन निरन्तर प्रयत्न थालेका छौँ, सामाजिक चेतनाको पछौटेपनले अपेक्षित परिणाम देखिन भने ढिलो भएको छ ।’ मुसहर, बाँतर समुदायका बालबालिका विद्यालय टिकाउने कुरा साँच्चै चुनौतीपूर्ण रहेको साह स्वीकार गर्छन् । यद्यपि जाडो याममा शीतलहर फैलँदा विभिन्न सङ्घसंस्थाको पहलकदमीमा राहत कार्यक्रम सञ्चालन गरिने गरिएको साहको भनाइ छ । यसैबीच जिल्ला समन्वय समिति महोत्तरीले अहिले बढ्दो चिसोको प्रकोप छल्न ठोस योजना बनाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। ‘यो बर्सेनिको समस्या हो, यहाँका नगर र गाउँपालिकाले जाडोयाम शुरु हुनुपूर्व नै पूर्वतयारी गर्नुपर्ने हो’, जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले भने, ‘यसमा ध्यान नपुगेको देखिन्छ, नियमित कामका रुपमा परिभाषित गरेर ठोस योजनासाथ काममा लाग्न सबैमा अनुरोध छ ।’ त्यसैगरी जिल्ला प्रशासन कार्यालयले पनि दैवीप्रकोप उद्धार समितिका बैठकबाट पूर्वतयारीका गतिविधि बढाउनुपर्ने बुद्धिजीवी बताउँछन् । रासस  

‘प्रधानमन्त्री कप २०७७ क्रिकेट’ डिशहोमबाटै प्रत्यक्ष हेर्न पाइने

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ(क्यान) द्धारा आयोजीत पीएम कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ । काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ गतेबाट सुरु हुने पीएम कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुईदुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गरेको थियो । दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ । यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।