दरबारमार्गमा ५० लाखको लगानीमा जुकोट दरवार रेस्टुराँ, अहिले मार्सीको खाना, अब स्याउको अचार पनि

काठमाडौं । दरबारमार्गमा ५० लाख रुपैयाँको लगानीमा जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज सुरु भएको छ । लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुराँ सञ्चालन गर्ने तयारी भएको थियो । तर, विश्वरभर फैलिएको कोरोना महामारीले योजना चौपट बनाइदियो । तैपनि आत्तिएका छैन युवा व्यवसायी अमृत शाही ठकुरी । त्रिचन्द्र कलेज, घण्टाघरबाट दरबारमार्ग जाने क्रममा महेन्द्रको शालिक नपुग्दै दायाँतिर भेटिन्छ, जुकोट दरबार रेस्टुराँ एण्ड लाउञ्ज । सञ्चालनमा आएको भर्खर एक महिना मात्र भयो । यो छोटो अवधिमा पाएको रेस्पोन्सले सञ्चालक ठकुरी उत्साहित छन् । कोरोना महामारीपछि धमाधम व्यवसाय बन्द भए । कतिले नयाँ व्यवसाय गर्ने आँट गरेनन् । तर, उनले जोखिम उठाए । ‘चैतको पहिलो सातातिर भवन भाडामा लिएर चलाउन तयारी भइरहेको थियो ।’ ठकुरीले भने ‘बिचैमा लकडाउनले गर्दा धेरै समय काम अगाडी बढेन । ७ महिना भाडा मात्र तिर्न पर्‍यो ।’ चिटिक्क परेका सल्लाका कुर्सी र टेबल । सेतो रंगले पोतिएका भित्ताहरु आकर्षक देखिन्छन् । जुकोट दरबार छिर्ने बित्तिकै यहाँको माहोलले लोभ्याउँछ । इन्टेरियर डिजाइन गर्न २० लाख रुपैयाँ खर्चिएको ठकुरीले बताए । विहान ८ बजे नै खुल्ने यो रेस्टुराँमा राती ३ बजेसम्म चहलपहल भईरहन्छ । अन्य रेस्टुराँमा राती प्राय: १० बजे नै किचेन बन्द हुन्छ । तर, यहाँ भने तीन बजेसम्म आफ्नो रोजाइका परिकार निर्धक्क अर्डर गर्न सकिन्छ । लोकेसन र पार्किङ सुविधा भएकाले धेरैले आफ्नो रेस्टुराँ रोजाईमा परेको सञ्चालक ठकुरी बताउँछन् । यस रेस्टुराँमा एकै पटकमा ६० जना मानिस बस्न सक्ने क्षमता छ । बाहिर आफ्नै पार्किङको सुविधा छ । सुरुवातमा यो रेस्टुराँमा ९ जना स्टाफ कार्यरत छन् । सिफ्ट अनुसार काम भईरहेको छ । अझै स्टाफको संख्या बढाउने तयारी भईरहेको सञ्चालक शाहीले बताए । बिभिन्न बैंक, ट्राभल एण्ड टुर र विभिन्न कम्पनीका स्टाफहरू यहाँका नियमित ग्राहक हुन् । कलाकार चक्र बम, टंक तिमिल्सिना र सुनिल गिरी पनि यहाँका नियमित ग्राहकमध्ये पर्छन् । जुकोट दरबारले सपिङ सेन्टर, कलेजहरुमा खानेकुरा नियमित डेलिभरी गर्दै आएको छ । तपाई पठाओ एप चलाउनुहुन्छ भने त्यसबाटै पनि सिधै क्लीक गरेर खानेकुरा अर्डर गर्न सकिने व्यवस्था मिलाइएको छ । जुकोट दरबारका विशेषताहरू यस रेस्टुराँमा सबैभन्दा अर्डर हुने आइटम हो, मार्सी खाना । बाजुराको कालो सिमीको दालसँग यो आइटम दैनिक २ दर्जन भन्दा बढी अर्डर हुन्छ । यस बाहेक झानेको मम, बँदेलको तास, बँदेलको टिमुर, बँदेल तारेको आइटम यहाँका स्पेशल परिकार हुन् । इटालियन र मेक्सिकन परिकार पनि उपलब्ध छन् । एक पटक आएका ग्राहकहरू फर्केर आउने गरेको सञ्चालक अमृत शाही बताउँछन् । मार्सी भातको आइटम दैनिक २५ भन्दा बढी अर्डर हुने गरेको उनी बताउँछन् । यसको मूल्य ७ सय रुपैयाँ राखिएको छ । दुबई र चेक रिपब्लिकमा काम गरेका अनुभवी सेफ भुपेन्द्र खड्काको मातहतमा २ जना कुक छन् । हरेक हप्ता सेफ खड्काले स्टाफलाई फुड् र हस्पिटालिटीका बारेमा प्रशिक्षण दिने गरेका छन् । विशेष कार्यक्रम र पार्टीहरु भएका बेला दैनिक कारोबार अहिले १ लाख रुपैयाँभन्दा माथि हुने गरेको उनी बताउछन् । अन्य बेला पनि ८० हजार रुपैयाँभन्दा माथि नै छ । राम्रो सर्भिस र परिकारमा फरक स्वाद भयो भने ग्राहक तान्न गार्‍हो नहुने सञ्चालक ठकुरी बताउँछन् । खानाका परिकार स्थानीय स्वाद पस्किने र स्थानीय उत्पादनहरुलाई बढि नै प्राथमिकता दिने उनको लक्ष्य छ । यस्तो बन्दैछ जुकोट दरबारको मेनु बाजुराको जुकोटमा ३० रोपनीमा जग्गामा स्याउ बगान छ । उत्पादन भए जति स्याउले बजार पाईरहेको छैन । आउने सिजनदेखि नै स्याउका विविध परिकारहरु यहाँ राखिने सञ्चालक अमृतले बताए । अब स्याउको अचार, स्याउको सुकुटी र फ्रेश प्याकिङ स्याउ उपलब्ध गराउने तयारीमा छन् उनी । यस्तो छ भावी योजना आगामी दिनमा खानेकुरा सम्बन्धि प्रतियोगिता गर्ने लक्ष्य रहेको सञ्चालक ठकुरी बताउँछन् । होली, शिवरात्री जस्ता विशेष अवसरमा ब्यान्ड बोलाएर कार्यक्रम गर्ने तयारी भईरहेको सञ्चालक ठकुरी बताउँछन् । उनका अनुसार कुमारी बैंकसँग क्रेडिट कार्ड, क्यूआर कोड, स्वीप मेशिन र सबै कारोबारका लागि पनि सहकार्य भईरहेको छ । रेस्टुराँ सञ्चालनमा कृषि विकास कार्यालयमा कार्यरत पहल बहादुर, दाइ सरोज बहादुर शाही र जापान बस्ने कान्छा भाइ सविन शाहीको प्रत्यक्ष सहयोग रहेको छ । हालसम्म कसैबाट ऋण नलिएको उनले बताए । पछिल्लो समय धेरै रेस्टुराँ खुलेकाले केही चुनौति बढेको छ । तैपनि यो भीडमा फरक स्वाद पस्किएर ग्राहकको मन जित्ने ठकुरीले बताए ।

शिवरात्रिका दिन वाग्मतीमा मेलम्चीको सफा पानी बग्ने

काठमाडौं । मेलम्चीको पानी सुन्दरीजलमा आएसँगै शिवरात्रिका (बिहीबार) दिन वाग्मतीमा सफा पानी बगाउने योजना बनाइएको छ । सो दिनमा धेरै भक्तजन खोलामा नुहाउने भएकाले सफा पानी बगाउने योजना बनाइएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजलमा मेलम्चीको पानी आएसँगै अहिले नै वाग्मतीमा पानीको बहाब बढिरहेको मन्त्रालयका प्रवक्ता रमेश न्यौपानेले बताए । गत १० गतेबाट सुरुङमा पानी पठाउन थालिएकामा अहिले सुरुङ पूरै पार गरेर गत शनिबारबाट सुन्दरीजलमा आउन थालेको हो । सुरुङमा जम्मा भएको पानी खसाल्न थालिएको उनले बताए । “पानी व्यवस्थापन गरेर खसाल्ने योजना छ ।”, उनले भने । पानी आएको केही समयसम्म सुरुङ सफा गर्ने योजना बनाइएको छ । अझै एक डेढ महिनासम्म सुरुङ सफा गर्न र सुरुङको परीक्षण गर्न लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुरुङ परीक्षणका क्रममा कुनै समस्या पाइएमा त्यसको समाधान गरेर उपत्यकामा नियमित रुपमा पानी वितरण हुनेछ । तीन खण्डबाट सुरुङ पखाल्ने (फल्सिङ) को व्यवस्था मिलाइएको मेलम्ची खानपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार सुरुको खण्ड अम्बाथानबाट ग्यालथुमसम्मको खण्ड रहेको छ । करिब पाँच किमी लम्बाइको उक्त खण्ड उकालो रहेको छ । सो खण्ड भरिएपछि पानी ग्यालथुमबाट सिन्धुतिर दोस्रो खण्डमा प्रवेश गर्ने उनले जानकारी दिए । सो खण्डको लम्बाई आठ दशमलव दुई किमी छ । तेस्रो खण्डका रुपमा रहेको सिन्धुबाट सुन्दरीजलसम्मको खण्ड सबैभन्दा लामो छ । झण्डै १० किमी लम्बाईको सो खण्ड पार गरेर पानी सुन्दरीजल आइपुगेको हो । एकै पटक नभरिए पनि एउटा तहसम्म पुगेपछि अर्को खण्डमा पानी पुग्ने उनको भनाइ छ । रासस सम्बन्धित समाचार महाशिवरात्रिमा तीन स्थानबाट पशुपति दर्शन गर्न पाइने, साधुसन्तको सङ्ख्या कम हुने

प्रधानमन्त्री ओलीले एउटा गैडा पाल्ने, बुढाबुढीलाई देखाउन विद्युतीय बग्गीको सुविधा

प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडा पाल्ने भएका छन् । उनले गैंडाको पालन पोषणमा लाग्ने बर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिने बताएका छन् । नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडिया खानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा गैडाको बर्षभरीको सम्पूर्ण खर्चको जिम्मा लिएका हुन् । उनले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतिय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दे विभागिय मन्त्रीलाई त्यसको व्यवस्थागर्न निर्देशन पनि दिए । बुढाबुढी असक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उनले बताए । आफूले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैडाको खाना बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाए । मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्दतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताए । उनले सम्बोधनका क्रममा प्रकृति, जीवन र जगतको बारेमा लामो प्रवचन नै दिए । उनले एक सिंगे गैडाको तारिफ गरे । “जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौ होला । थोरै भएपनि । फिप्टी प्रतिशत । यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुदैन । संकटमा परेनन् ? यीनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गछौ । जसमध्ये एडप्ट एन एनिमल हो । यो एक सिंगे गैडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन । एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तैपनि यो यसै धर्तीमा जन्मेको । यो एकसिंगे गैडा चाहीँ यही जन्मेको हो । यो एकसिंगे गैडा, यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मदैन । अमेरिकामा बसोबास गर्न बसाई पनि जादैन । डिभि पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनली नेपाली हो । ” कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष अनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताए । उनले प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर हालको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउदै आएको उल्लेख गर्दे प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताए । कार्यक्रममा एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा एक सिंगे गैडाको एक बर्षको अभिभावकत्व प्रधानमन्त्री पत्नी राधीका शाक्यले लिएकी छिन् । त्यसैगरी बन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्ती, नारायणी हस्पिटालिटी सर्भिसेस प्रालिले एउटा सारष, कन्टीनेन्टल ट्रेडिङ्गका अदिती घिमिरेले एउटा रेडपाण्डा, काष्ठमाण्डप इभेन्टका सुनिल भण्डारीले एउटा सारस, लक्ष्मी बैकले एउटा लाटोकोसेरो, मेगा बैकले एउटा डाँफे र १० बर्षका विभन सिं बस्नेतले एउटा लभवर्डको अभिभावकत्व लिए ।