युवा व्यवसायी श्रेष्ठ र मल्लले अस्पताललाई निःशुल्क अक्सिजन उपलब्ध गराउने
फाइल फोटो महेन्द्रनगर । कोरोना कहरमा सङ्क्रमितहरु अस्पतालमा अक्सिजन नपाएर मृत्युवरण गरिरहेका बेला कञ्चनपुरको महेन्द्रनगरमा युवा व्यवयासीले महाकाली अस्पताललाई निःशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएका छन् । यहाँस्थित कुमार श्रेष्ठ निर्माण सेवाका सञ्चालक सुशील श्रेष्ठ र महेन्द्रनगरका युवा व्यवसायी दिनेश मल्लले महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठसित पहिलो चरणमा एक सातासम्म दैनिक ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने सम्झौता गरेका हुन् । सम्झौतामा स्थानीय अक्सिजन सप्लायरसित समन्वय गरेर दुवै पक्षले दैनिकरुपमा सिलिन्डर उपलब्ध गराउने, धनगढी र नेपालगञ्जबाट अक्सिजन ल्याएर श्रेष्ठ र मल्लले अस्पताललाई दिने उल्लेख छ । ‘दैनिक जसो यहाँ सङ्क्रमितहरु अक्सिजन नपाएर छट्पटिएको देखेपछि सामाजिक उत्तरदायित्व सम्झेर अक्सिजन दिने निर्णयमा पुग्यौं’, युवा व्यवसायी मल्लले भने ‘यस्तो महामारीका बेला सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरेर दुखः टार्नु पर्छ’, उनले महाकाली अस्पतालमा अक्सिजन नपाएकै कारण पनि सङ्क्रमितको मृत्यु भएको घटना सुनिएको बताए । ‘हुनेखानेले हेलिकप्टर चार्टर गरेर पनि सुविधा भएका ठाउँमा उपचार गर्लान्’, उनले भने, ‘विपन्न समुदायका सङ्क्रमितहरुले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले पनि स्थानीय ठाउँमा सहयोग र सर्मथन गरौं भन्ने हो ।’ गतवर्ष मल्ल र श्रेष्ठ नेतृत्वमा महेन्द्रनगरका युवा व्यवसायी र व्यापारीहरुको टोलीले भारतबाट कोरोनाको त्रासमा स्वदेश फर्किने नेपालीहरुलाई भोजन र पानीको निःशुल्क व्यवस्थापनसमेत गरेको थियो । ‘त्यो बेला सबै साथीहरुले साथ र सहयोगले १८ हजार नागरिकलाई सिमानामा भोजनको व्यवस्था गरिएको थियो’, उनले भने ‘समस्या पर्दा राज्यको मुख ताक्नुभन्दा पनि समाजमा हातेमालो गरेर काम गर्ने हो ।’ उनले महामारीको अवस्था हेरेर अस्पताललाई अक्सिजनको आपूर्ति पनि बढाउँदै लगिने जानकारी दिए । त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले युवाहरुले देखाएको सहयोगी भावले सङ्क्रमितको स्वास्थ्य उपचारमा सहजस हुने बताए । ‘यहाँ चिकित्सक र स्वास्थ्यकर्मीहरु स्वास्थ्य सुविधा अपुग हुँदा पनि अहोरात्र सेवामा हुनुहुन्छ’, उनले भने, ‘यस्तो विपत्मा सबैले सहयोग गर्नुपर्छ ।’ रासस
टी ट्वान्टी वरियतामा नेपाल १३औँ स्थानमा
काठमाडाैं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो । घरेलु मैदानमा यही वैशाखमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधिसमेत नेपालले जितेको थियो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११औँ स्थान हो । टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ । त्यसैगरी चौथो स्थानमा पाकिस्तान छ भने पाँचौँ स्थानमा अष्ट्रेलिया छ । यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।
‘बहुमतप्राप्त दल रहेको अवस्थामा एमालेले मुख्यमन्त्रीमा दाबी गरेकाे हाे’
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमतप्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको स्पष्ट पारेका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उहाँले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रियाअनुरूप नै हुने उल्लेख गरे । विमलाकुमारी खत्री फागुन २३ को फैसलापछि एमालेको प्रदेशसभा दलमा सहभागी हुँदै आएको र उक्त विवरण त्यतिबेला नै प्रदेशसभामा दर्ता भइसकेको जनाउँदै उनले अहिले आएर माओवादी केन्द्र रोजेको प्रचार गर्नु कानूनविपरीत भएको बताए । ‘यस प्रक्रियामा प्रदेशसभा सचिवालयको जालसाजीपूर्ण सहभागिता देखिनु झनै दुःखद छ’, उनले उल्लेख गरेका छन् । खत्रीले आइतबार मात्रै माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेकी थिएन् । चर्चामा ल्याइएका अन्य प्रदेशसभा सदस्यसमेत दलको बैठकमा उपस्थित रहेर सरकारमा दाबी गर्ने निर्णयमा सहमति जनाएकाले सूर्य चिह्नबाट चुनाव लडेका सदस्यको समर्थन कानूनीरूपमा समेत अन्य दललाई हुन नसक्ने बताए । ‘यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चर्यको कुरा हो’, उनले भने । जनता समाजवादीका चार सदस्यलाई अल्पमत रहेका दलका सदस्यको सिफारिसका आधारमा कारवाहीको षडयन्त्रपूर्ण नाटक मञ्चनपछि नेकपा एमाले बहुमतप्राप्त दल बनेको उल्लेख गर्दै मुख्यमन्त्री पोख्रेलले बहुमतप्राप्त दललाई सरकार सञ्चालनको संवैधानिक दायित्व रहने बताए । ‘जनता समाजवादीका चारजना सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको कुरा अस्वीकार गरिसक्नुभएको छ । पुरानो र अर्कै सन्दर्भमा गरिएको हस्ताक्षर प्रयोग गरिएको दाबी उहाँहरुको छ’, मुख्यमन्त्री पोख्रेलले भनेका छन् । संविधानले एउटा चुनाव चिह्न लिएर चुनाव जित्नेहरुलाई अर्को दल परिवर्तको अधिकार नदिएको बताउँदै मुख्यमन्त्री पोख्रेलले चुनाव चिन्ह सूर्य लिएकाहरुलाई आफ्नो पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले वक्तव्य जारी गर्ने कुरा लज्जास्पद विषय भएको टिप्पणी गरे । ‘जनता समाजवादीका बहुमत सदस्यले कारवाहीका विरुद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सो रिटको पक्षमा फैसला हुनासाथ लुम्बिनी सरकार सुदृढ पोजिसनमा हुनेछ’, उनले भने, ‘नियुक्तिपछिको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालयमा भएको अनुचित धर्ना सोही मनस्थितिको उपज हो ।’ मुख्यमन्त्री पोख्रेलले सूर्य चिह्न लिएर उम्मेदवार भई सांसद भएकालाई अर्को दलले आफ्नो पक्षको भनेर दाबी गर्ने कुरा संविधान विरोधी र अराजनीतिक कुरा भएको बताए । यस प्रकरणमा के कस्ता हथकण्डा प्रयोग भए समयक्रममा खुल्दै जाने उनको भनाइ छ । ‘बहुमतप्राप्त दललाई सरकार गठन गर्ने अधिकार सदैव रहन्छ । संवैधानिकरूपमा उत्पन्न विवादको निरुपण भएर बहुमत गुमेको अवस्थामा सरकारमा रहिरहने कुरा सम्भव छैन तर अहिलेको अवस्था त्यो होइन’, उनले भने, ‘जुन साथीहरुले अराजनीतिक हर्ष ट्रेडिङको खेल खेलिरहनुभएको छ उहाँहरुले लुम्बिनी सरकारविरुद्ध प्रपोगण्डा सञ्चालन गर्नु स्वाभाविक हो ।’ मुख्यमन्त्री पोख्रेलले कामका हिसाबले सात प्रदेशमा लुम्बिनी प्रदेश अगाडि नै रहेको र आगामी दिनमा पनि रहने उल्लेख गरेका छन् । अविश्वासको प्रस्ताव आएपछि आइतबार बिहान राजीनामा दिएका मुख्यमन्त्री पोख्रेल दिउँसो पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।