सामाजिक सञ्जालः फिलिङ ह्याप्पीले निम्त्याउँदैछ फिलिङ स्याड

खै, हजुर त कस्तो मान्छे …। अस्ति मेरो जन्मदिनमा पनि फेसबुकमा ह्यापीबर्थ डे बुढी भनेर दुई शब्द लेख्नु भएन् । मन्दिर त लानुभयो । फोटो पनि खिच्नुभयो तर फेसबुकमा राख्नुभएन ? हेर्नुत अरुका बुढाहरुले कत्ति आफ्नो र परिवारको फोटो राख्छन् । त्यो मेरो साथी छिन् नि शर्मिला, उसको बुढाले बुढाबुढीको कति फोटो राख्छन् । कत्ति माया है उनीहरुमा । कम्तिमा मेरो फोटो नराखे पनि छोरी आभ्याको त राख्नु नि हो । हजुर त खै कस्तो बुढा हो ? अचम्म । श्रीमतीले एकविहानै फतफताउदै चियाको कप डाइनिङ् टेवलमा राख्दा म झसंग भएँ । अनि श्रीमती रिसाएको भान भएर मैले फकाउँदै उसलाई मायालु पाराले भन्न थाले, फेसबुकमा फोटो राखेन भनेर नरिसाउन । माया त गर्छु नि औधी । जवाफमा उनले उल्टै खाउला झै गरेर मलाई हेर्दै भनिन्, माया मात्र गरेर हुन्छ ? जनाउनु पदैन ? जमाना देखावाको छ नि बुढा । म ट्वा परें र सोच्न थालें । आजका जमानामा धेरै मान्छे यस्ता छन्, जो नयाँ लुगा किने भने नयाँ लुगा लगाएर र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिहाल्छन् । अलिकति घाम लाग्यो भने फिलिङ् गर्मी भन्दै, अलिकति जाडो भयो कि फिलिङ् कोल्ड भन्दै । आज मिठो र नौलो केही पकाए भने हत्तनपत्त फोटो अपलोड हुन्छ सामाजिक सञ्जालमा । र, आफनो सफलता र असफलता त्यही समाजिक सञ्जालमा पोस्ट भएको लाइक र कमेन्टबाट निक्यौल गर्छन् । छिमेकी को छ ? आफू बसेको घर वरपर कस्ता मान्छे छन् ? आफ्ना नातागोता इ्ष्टमित्र कहाँ छन् ? कसलाई आपत परेको छ ? यस्ता कुराहरुको रत्तिभर ख्याल नगरि एउटा दश एघार हजारको मोवाइलमा इन्टरनेट जोडेर नचिनेको मान्छेलाई साथी बनाएर घन्टौं कुरा गर्छन् र रमाउछन् भर्चुअल संसारमा । म सोच्छु, के मेरी श्रीमतीले भने झै म कस्तो मान्छे हो त ? मान्छेको आ-आफ्नो स्वाभाव र रुची हुन्छ । मलाई भर्चुअल संसारभन्दा वास्तविक संसार मन पर्दछ । तर, यो भनिरहँदा म सामाजिक सञ्जाल नचलाउने चाही होइन् । फेरि सामाजिक सञ्जालमा मेरो अफिसका कार्यालय सहयोगीदेखि उच्च लेवलका कर्मचारी पनि साथी छन् । नातागोता मात्र होइन्, नेतादेखि पत्रकार लगायत सबैथरिका साथीहरु गरि करिब एक हजारभन्दा धेरै छन् । मैले फिलिङ गर्मी भन्दै, फिलिङ कोल्ड भन्दै वा मोटर साइकल किने भने फिलिङ ह्यापी भन्दै नितान्त निजी कुरा सामाजिक सञ्जालमा राखे भने मैले आफनो स्तर बढाए कि घटाए ? मेरा हजारौं साथीमध्ये कतिलाई मेरो निजी कुरासँग सरोकार नहुन पनि त सक्छ । बरु मैले निजी कुराभन्दा आफू बसेको ठाउको नौलो कुरा, जानकारी र शिक्षाप्रद कुरा राख्दा त्यसले समाजलाई केही भएपनि फाइदा दिन्छ जस्तो लाग्छ । सायद यही सोचले होला, म र मेरो श्रीमतीको अक्सर यहि कुरामा ठाकठुक परिरहन्छ । हामी किन भर्चुअल संसारमा अनावश्यक समय दिएर रमाइरहेका छौं ? के यो चलाएर अनावश्यक व्यस्त हुनुभन्दा यसलाई सीमित चलाएर ज्ञान वा जानकारीको लागि मात्र चलाएर बाँकी समय यसमा खेर नफाल्दा हुन्न ? बरु आफ्नो करेसाबारीमा तरकारी रोप्नु राम्रो होइन् ? बरु फूल लगाउनु राम्रो होइन ? अध्ययन गर्नु राम्रो होइन ? छिमेकीसँग टोल विकासका कुरा गर्नु राम्रो होइन ? यस्तो कोरोनाको समयमा मृत्युसँग लडिरहेको मानिसले कोरोनाको कारणले मेरो फलानो मरे, हार्दिक श्रद्धाञ्जली भनेर राख्नुभन्दा मर्ने मरिगए भनेर यसो हौशला दिने र हिम्मत दिने कुरा राख्नु राम्रो होइन ? नेतालाई गाली गरेको कुरा राख्नुभन्दा यो नेताले यो काम राम्रो गर्यो, यो पक्ष राम्रो छ, यसो गर्नु पर्छ भनेर राख्नु राम्रो होइन ? कुनै समाजसेवीले यो काम राम्रो गरे भनेर किन सकारात्मक कुरा राख्न हिचकिचाउँछन् भर्चुअल संसारका प्रयोगकर्ताहरु ? आफूले पोष्ट गरेका कुरा कस-कसले पढ्छन् भन्ने ख्यालै नगरि अरुले गाएको गितलाई, अरुले दिएको डाइलगलाई अनावश्यक टिकटक बनाउनुभन्दा आफ्नै वरिपरि लुकेर रहेका मानिसहरुको प्रतिभालाई उर्जागर गर्दै सामाजिक सञ्जालमा राखे हुँदैन ? म यस्तै यस्तै सोच्दै थिएँ । यत्तिकैमा अचानक श्रीमती हस्याङ्फस्याङ् गर्दै मलाई सुनाउन थालिन्, थाहा छ, हिजो त्यो परको आशा दिदीकोमा चोरी भएछ नि ? म छक्क पर्दै भन्न थाले, अनि घरमा कोही थिएनन् ? जवाफमा उसले, होइन आशा दिदी सपरिवार घुम्न जानु भएको थियो, फेसबुकमा घुमेको फोटो थियो…। अनि मैले भन्न थाले, देख्यौं चोरहरुले पनि त फेसबुक चलाउछन् नि । घुमेको फोटो राखेपछि कोही छैन भनेर चोर्यो होला नि चोरले । अनि उनले फेरि सुनाइन् । थाहा छ, त्यो शर्मिलाको त डिर्भोस भएछ नि, आज फोटो राखेको थियो फिलिङ् स्याड भनेर । उनले यसो भनिरहदा मैले जिस्काउँदै उसलाई भने अनि शर्मिलाको त बुढाबुढीले फेसबुकमा सँधै फोटो राख्छन् भनेको होइन ? धेरै माया गर्छन् भनेको होइन ? मैले यसो भनिरहँदा उनी मलाई भन्दै थिइन्, त्यो त देखावा रहेछ बुढा । देखावातिर जानु हुँदैन रहेछ । बरु मेरो र छोरीको फोटो समाजिक सञ्जालमा नराख । तर, माया चाही यस्तै गरिराख है भन्दै मलाई अंगालो हालिन् । मैले पनि होइन, व्यक्तिगतभन्दा पनि तिमी र हाम्रो छोरीले समाजको लागि केही राम्रो गरेउ भने म हालिहाल्छु नि तिम्रो फोटो फिलिङ ह्याप्पी बुढी भन्दै भनेँ । अनि हामी दुवै जना हाँस्दै मोबाइललाई सोफातिर मिल्काएर कुटो बोकेर करेसाबारीतिर लाग्यौं ।

गुन (लघुकथा)

काठमाडाैं । बैगुनी छ मान्छे । कोभिड-१९ को नयाँ भेरियन्ट देखा परेसँगै आक्रान्त छ मुलुक । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढिरहेको छ । नफर्कने बाटो लाग्नेहरु बढिरहेका छन् । त्यसको त आत्मबल र उपचारका कारण सङ्क्रमण मुक्त हुनेहरुको सङ्ख्या पनि कम छैन । ७२ वर्षीय प्रेममाया पनि ५ दिनको उपचार पछि निको भएर आज अस्पतालबाट घर जाँदै छिन् । खुसी हुनुपर्ने हो तर अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनी रोएको देखियो । एकदिन भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजन र उपचार खर्च तिर्ने बेला उनी रोएको देखेर डाक्टरहरुले भने ‘नरुनोस् हामी तपाईंको उपचार खर्च बरु मिनाहा गर्दिन्छौं ।’ यो सुनेर उनले भनिन्- ‘म यो पैसा तिर्न नसकेर रोएकी होइन बाबु । म लागेको पैसा तिर्न सक्षम छु । मैले तिरेको पैसाले बरु अरु कोही दुःखीले उपचार पाओस् ।’ ‘अनि किन रुनु भएको त ?’  नर्सको प्रश्नमा आमैले जवाफ दिइन् । ‘मैले ७२ वर्षसम्म प्रकृतिले दिएको वायु लिँदा कतै कहिल्यै एक रुपैयाँ पनि तिरिनँ । आज एकदिन अक्सिजन लिएको यति धेरै पैसा तिर्दै छु । प्रकृतिले कत्रो गुन लगाएको रहेछ हामीमाथि । भोलिका पुस्ताले प्रत्येक पल यस्तो महङ्गो ग्यासँ बोकेरै हिड्नुपर्ने अवस्था आउने हो कि भन्ने सम्झेर आँसु झरे बा ।’ यस्तो गुन बिर्सेर मान्छे प्रकृतिको दोहनमा लागेको पाउँदा दुःख लाग्छ । प्रकृतिको ऋण चुकाउन कम्तिमा प्रत्येक जन्मदिनमा एउटा वृक्षरोपण गरौं । अब चेतौँ है ! मेरो यही सन्देश छ सबैलाई । अन्तमा आमै मुस्कुराइन् । तारकेश्वर गापा-१ दाङसिङ नुवाकोट हाल पोखरा-११

आज रातो मच्छिन्द्रनाथको रथ बुङ्मती लगिने

काठमाडाैं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङ्मती लगिने भएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङ्मती लैजान लागिएको हो । आज दिउँसो तीनदेखि ४ बजेभित्रमा मच्छिन्द्रनाथलाई बुङ्मती ल्याउने तयारी गरिएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, ‘करुणामयलाई बोक्न मात्रै आठ जना पुजारी चाहिने भएकाले सक्ने जति पुजारी भगवान् लिन पाटन आउँछाैँ ।’ यसैगरी वडा २२ ले पनि कोरोनालाई ख्याल गरी बाजा बजाएर हुल गर्दै मच्छिन्द्रनाथ लिन नजान आग्रह गरिसकेको शाक्यले जानकारी गराए । बिहान ६ः५० देखि ७ बजेर ४ मिनेट जाँदासम्म भगवान् झिक्ने उत्तम साइत रहँदा सो समयमा साङ्केतिकरूपमा ल्याउने काम गरिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । उनले भने, ‘बुङ्मतीका मानिस आएर लोेकेश्वरलाई लाने चलनानुसार आएर लानु हुनेछ ।’ मुलुकमा कोरोना कारण सङ्क्रमणका साथै मृत्युदर पनि बढ्दै जाँदा लोकेश्वरलाई बुङ्मती पठाउँदा सुरक्षा व्यवस्था कडा गरिने भएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताएन् । उनले भनिन्, ‘सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक–पटक हामीले क्षमापूजा गराइरहेका छाैँ । यसैगरी आज बिहान पनि क्षमापूजा गरियो ।’ बिग्रँदो मौसम र समयका कारण भोटोजात्रा भने गर्न नसकेकोमा वलीले दुखेसो गरे । गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । यही जेठ १ गते पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट सुस्तरी सुस्तरी लगभग डेढ सय मिटर पर सोह्रखुट्टे पाटीसम्म रथ तानेर परम्परा धान्ने काम सम्पन्न गरिएको थियो । त्यसैगरी बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने चैतकृष्ण प्रतिपदाका दिन रक्तवलोकेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो । उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा मच्छिन्द्रनाथ जात्रालाई मनाउने गरिन्छ । किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामरुकामाक्षबाट नेपाल ल्याएका थिए । काठमाडौं उपत्यकामा मुहार रातो भएका रक्तवलोकेश्वर करुणामयको स्थान निकै उच्च छ । यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने चलन रहिआएको छ ।