उपत्यकामा जेठ महिनाभरि थपिएको निषेधाज्ञाः के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही खुकुलो पार्दै १० दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । जेठ ३१ गते राति १२ बजेसम्म थप गरिएको निषेधको आदेशमा किराना तथा खाद्यान्न पसल सञ्चालन गर्न पाइने उल्लेख छ । यसअघि पसल सञ्चालनमा रोक लगाइएको थियो । यसपटक उद्योगलाई पनि आवासीयरूपमा मजदुर राखेर काम गर्न खुला गरिएको छ भने रातिको समयमा ढुवानी पनि खुला गरिएको छ । उपत्यकामा वैशाख १६ गतेदेखि आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइँदै आइएको छ । गर्न पाइने गतिविधि यसपालि भने तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माणका लागि आवासीयरूपमा श्रमिकलाई राखेर स्वास्थ्य मापदण्डको पालना गरी काम गर्न सकिने छ । यसअघि उक्त कार्यमा समेत रोक लगाइएको थियो । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि घरबाहिर जान पाइने तर स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्नुपर्ने छ । निषेधाज्ञाका बेला अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा दुईजना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुनेछ । अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा, प्रिन्ट तथा सरकारी छापाखानालगायत ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरेनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीका सवारी साधनमा ब्यानर राखेर राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । वित्त कम्पनीमा कर्पोरेट कार्यालय र धितोपत्र बोर्डमात्रै खुल्न पाइने छ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधैँ विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ । घरमै विवाह, व्रतबन्ध गर्दा सात जनामात्रै उपस्थित हुन पाइने र आवागमनमा एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । भीडभाड नहुने गरी नित्यपूजाका गतिविधिमात्रै गर्न पाइने छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिश, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ । बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा उपत्यकाभित्र दुई जना हिँड्न पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रका आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउनेछन् । सूचना विभागको पास भएका पत्रकार हिँड्न पाउने र त्यसबाहेकको हकमा आवातजावतका लागि प्रशासन कार्यालयबाट पास बनाउनुपर्ने आदेशमा भनिएको छ । गर्न नपाइने गतिविधि अनलाइनबाहेकका शैक्षिक गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवा दिनेबाहेकका कार्यालयका सेवा स्थगन गरिएको छ । उक्त अवधिमा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागिबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । सार्वजनिक एवं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । थोक तरकारी बजारमा फुटकर बिक्री गर्न नपाइने आदेशमा उल्लेख छ । विवाह, व्रतबन्धजस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । फुटपाथ, खुला ठाउँका व्यवसाय र कवाडी सङ्कलनमा रोक लगाइएको छ । आदेश पालना नगरेमा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । रासस

महिला उद्यमीहरुलाई आधुनिकीकरण र सशक्त बनाउन योगदान पुर्याउँदै खल्ती

काठमाडाैं । युएनसिडिएफ र युएनिसकेपसँगकाे सहकार्यमा खल्तीले घरेलु, सानो तथा मध्यम व्यवसाय गर्ने महिला उद्ममीलाई प्रशिक्षण दिइरहेकाे छ । प्रशिक्षण मार्फत खल्तीले महिला उद्यमीहरुलाई आर्थिक रूपमा अझ बढी स्वतन्त्र बनाउने उद्देश्य लिएको जनाएकाे छ । खल्ती डिजिटल वालेटका परियोजना संयोजक प्रभात कुमार झाले महिलाले नेतृत्व गरेको व्यवसायहरुलाई सशक्त र डिजिटाइज गर्न सानो योगदान पुर्याउन पाउनु खल्तीकाे लागि ठूलो सम्मानको कुरा भएकाे बताए । ‘हामीलाई विश्वास छ कि हाम्रो प्रशिक्षणले वहाँहरुको व्यवसायलाई प्रभावकारी रूपमा वृद्धि गर्न थप मद्दत मिलेको छ,’ उनले बताए । आफुहरुले सेवा र उत्पादनहरूको निःशुल्क डिजिटल मार्केटिंग प्रदान गर्न र बिक्री बढाउनका लागि हाइपरलोकल मार्केट अर्थात् खल्ती बजारमा पनि उद्यमीहरुलाई ल्याएका झा बताउँछन् । यस कार्यक्रमलाई थप प्रोत्साहित गर्नका लागि खल्तीले विभिन्न बैंकहरुसँग सहकार्य गरि धेरै महिलाहरुलाई निःशुल्क बैंक खाता बनाउन सहयोग गर्दै आइरहेको छ। यस कार्यक्रमले महिला व्यवसायीहरुलाई हरेक व्यापारिक कारोबार सजिलै डिजिटल माध्यमबाट गर्न प्रशिक्षण तथा तालिम प्रदान गरेको छ। त्यसैगरी महिलाको नेतृत्वमा संचालन भईरहेको व्यवसायका लागि पनि खल्तीले प्रत्येक टप–अपमा ४% क्यासब्याक प्रदान गरेको छ । यसबाहेक, खल्तीले महिला उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्न र झन्झटरहित भुक्तानीको लागि ५०० एसएमएस र निःशुल्क खल्ती क्यूआरहरू पनि उपलब्ध गराईरहेको छ। खल्ती डिजिटल वालेटले अहिले पनि साना व्यवसायहरुलाई कसरी डिजिटाइज गर्ने विषयमा प्रशिक्षण संचालन गरिरहेको छ।

दया फाउण्डेशनद्वारा अस्पतालहरुलाई स्वास्थ्य उपकरणहरु सहयाेग

काठमाडाैं । दया फाउण्डेशनले देशमा व्याप्त कोरोना महामारीको संक्रमणको उपचारको क्रममा खडा भएका चुनौती तथा समस्याहरुको समाधानमा राहत पुर्याउने उद्देश्यले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ । संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, नेपाल एम्बुलेन्स सर्भिस र आनन्द कुटी आइसोलेशन सेण्टरमा हालसम्म ६ थान हाई फ्लो नेशल क्यानुला, ५ थान ५ लिटरको अक्सिजन कन्सन्ट्रेटर, १० थान १० लिटरको अक्सिजन कन्सन्ट्रेटर, १५ थान थर्मल गन, १५ थान अक्सिमिटर साथै १००० थान सुरक्षा किट (पीपीई, फेससिल्ड, सेनिटाइजर, मास्क, पञ्जा) प्रदान गरेको छ । फाउण्डेशनका अध्यक्ष राजेश प्रधान यस्ताे समयमा थोरै नै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै विपन्न वर्गको कोभिड–१९ को उपचारमा सहयाेग पुर्याउने बताए फाउण्डेशनले क्रिटिकल केयर नर्सिङ्ग संघ नेपाल र नेपाल क्रिटिकल केयर विकास फाउण्डेशनसँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ्ग सम्बन्धी भर्चुयल प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । दया फाउण्डेशन समाजसेवी स्व.दयाराम भक्त माथेमाको स्मृतिमा उनका परिवारद्वारा पारिवारिक ट्रस्टको रुपमा समाजसेवाको लागी सन् २००९ मा स्थापित संस्था हो जसको मूलभूत उद्देश्यमा शिक्षा, स्वास्थ्य र संस्कृति पर्दछ । कोरोना महामारीको पहिलो लहरमा उल्लेख्य स्वास्थ्य सेवा उपलब्ध गराए बापत टेकु अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको कोभिड नर्सिङ्ग युनिटलाई दया फाउण्डेशनले “एक्सलेन्स अवार्ड”बाट सम्मानित गरेकाे थियाे ।