क्यानले आयोजना गर्ने सबै खेलहरु एक्सन स्पोर्टसले प्रशारण गर्ने
काठमाडौं । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको हो । यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिला/पुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ । आगामी दिनमा नेपाल क्रिकेट संघद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुनेछन् । क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले यस सम्झौतापछि क्रिकेट प्रेमी नेपाली दर्शकहरुले सजिलै नेपाली क्रिकेट प्रत्यक्ष हेर्न सक्ने र यसले क्रिकेटको लोकप्रियतालाई थप उचाईमा पुर्याउने बताएका छन् ।
गायक सपुत र दुलाल बने ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’
काठमाडाैं । सरकारले लोकगायक प्रकाश सपुत र लोक गायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो । गीत संगीतको माध्यमबाट समूदायका विपद् जोखिम न्यूनीकरण सम्बन्धि जनचेतनामूलक सन्देश प्रवाह गर्न उनीहरुलाई सो सम्बन्धि सदभावना दूत नियुक्त गरिएको प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । “विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनका क्रियाकलापहरु प्रभावकारी रुपमा कार्यान्वयनका लागि जनचेतना अभिवृद्धि गर्न अति आवश्यक हुन्छ, यसै सन्दर्भमा गीत संगीतको माध्यमबाट समूदायमा जनचेतना अभिवृद्धि गर्ने मुख्य अभिप्रायबाट बाग्लुङ र सिन्धुपाल्चोक जिल्लाका स्थायी बासिन्दा तथा लोकप्रिय गायक, गायिका सपुत र दुलाललाई विपद जोखिम न्यूनीकरण सद्भावना दूत घोषणा गरिएको छ,” उनले भने । प्राधिकरणले यस वर्षको मनसुनबाट सिन्धुपाल्चोक, मनाङ, बाजुरालगायतका ४८ जिल्ला बाढी, पहिरोबाट बढि प्रभावित रहेको उल्लेख गर्दै त्यसको क्षतिको मूल्यांकन गर्ने काम भईरहेको पनि जनाएको छ । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको आवश्यक व्यवस्था मिलाएकाे छ ।
साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।