अस्मिता आले बेलायतको टोटनम फुटबल क्लबमा आवद्ध
लण्डन । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आवद्ध रहने गरी हालै सम्झौता गरेकी छिन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का लागि सन् २०१९ मा स्टकटल्याण्डमा भएको खेलमा इङ्ल्याण्डको तर्फबाट सहभागीसमेत भएकी थिइन् । आफ्नो क्लबमा अनुबन्धित भएपछि टोटेनह्यामले अस्मितालाई क्लबले पाउनु खुशीको कुरा रहेको र उहाँले क्लबको प्रतिनिधित्व गर्दै १३ नम्बरको जर्सी लगाउने बताएको छ । छोटो समयमा महिला फुटबल क्षेत्रमा उच्च स्थानमा पुग्न सफल भिल्लामा रहँदा राम्रो प्रदर्शन गरेको भनी टोटेनह्यामले प्रशंसासमेत गरेको छ । टोटेनह्याममा अनुबन्ध भएपछि बोल्दै अस्मिताले क्लबको नाम निकै उच्च रहेको र क्लबका प्रशिक्षक रेहानीसँग थुप्रै कुरा सिक्ने र अघि बढ्दै टोलीलाई अग्रस्थानमा लैजाने बताइन् । क्लबका प्रमुख प्रशिक्षक रेहानीले केही वर्षको अन्तरालमै निकै राम्रो गर्न सफल अस्मिता एक शानदार युवा खेलाडी रहेको उनीसँग धेरै क्षमता रहेको कुरा उनका यसअघिका खेल योगदानले देखाइसकेको बताइन् । रासस
घुस अस्वीकार गर्नेलाई सम्मान र दिन खोज्नेलाई हिरासतमा पुर्याउँदै ट्राफिक प्रहरी
काठमाडौं । ‘के तपाई ट्राफिक प्रहरीलाई घुस दिई ट्राफिक कारबाहीबाट बच्न खोज्दै हुनुहुन्छ ?’-होसियार ! परिएला है ट्राफिकको फन्दामा, पुगिएला है हिरासतमा । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमानुसार ट्राफिक कारबाहि गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ । प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एव सम्मान गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए । ट्राफिक प्रहरीले नियम उल्लंघनकर्ताबाट पैसा लिन्छ बन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउदै आएको एसएसपी भट्टराईले प्रष्ट पारे । त्यस्ता खराव प्रबृत्ति बोकेका, घुष दिन खोज्ने चालकहरुलाई दैनिक जसो पक्राउ गर्दै आएको छ, त्यस्ता चालकहरुलाई कुनै पनि बाहानामा छुट नहुने बरु यसलाई अझै कडाईको साथ लग्दै जाने समेत बताए । उनले संगठनले अख्तियार गरेको आर्थिक शुद्धिकरणको अभियानलाई थप उच्चमा पुर्याउन बफादार एव निष्ठावाट भई आफ्नो जिम्मेवारी निर्बाह गरेकोमा धन्यबाद व्यक्त गर्दै थप शसक्त भई कर्तब्य पालनामा अग्रसर हुन शुभकामना सहित निर्देशन समेत दिए । सम्मानित हुनेलाई गर्दै आर्थिक प्रलोभनमा नपरी त्यस्ता चालकहरुलाई कारवाहीको दायरामा ल्याई आफ्नो जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गरी नगद पुरस्कृत सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक शंकर खड्का सहित प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन भने प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदम सिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, बिरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बि.क., प्रकाश थापा, प्रज्ञान के.सी, मनोजकुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमण सिंह बोहोरा, बिजय सिंह ऐर, श्याम सुन्दर यादव, हेमन्त बहादुर खड्कालाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले खादा ओडाएर प्रशंसापत्र सहित सम्मान गरेको महाशाखाले जनाएको छ । आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ । केहि समय यता ट्राफिकलाई प्रलोभनमा पार्न र घुष दिन हुन्न भन्ने मानसिकता व्यापक हुदै गएको र चालकहरुमा समेत प्रभाव पर्न थालेको महाशाखाको बुझाई रहेको छ । यस प्रकारका गलत संस्कारले नियम नमान्ने परिपाटीमा थप बल पुग्नुको साथै समग्र सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा समेत असर गर्ने महाशाखाको बुझाइ रहेको छ । गत आर्थिक वर्षमा घुष बापत ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १६५ जना सवारी चालकहरुलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो ।
टोकियो ओलम्पिक: ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै
काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ । अस्ट्रेलिया १५ स्वर्ण, चार रजत र १७ कास्य पदकसहित पाँचौँ स्थानमा छ । यसैगरी रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौँ स्थानमा झरेको छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । जर्मनी नौ स्वर्ण, आठ रजत र १६ कास्यसहित सातौँ, फ्रान्स छ स्वर्ण, १० रजत र नौ कास्यका साथ आठौँँ, इटली छ स्वर्ण, नौ रजत र १६ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् छ स्वर्ण, आठ रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ–आफ्नो खेलमा प्रतिस्पर्धा गर्नुभएको थियो । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् ।