टोकियो ओलम्पिक: ४० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडाैं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत र ११ कास्य पदक प्राप्त गरेको छ । जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले १७ स्वर्ण, चार रजत र सात कास्य पदक प्राप्त गरेको छ भने अमेरिकाले १४ स्वर्ण, १७ रजत र ११ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै १० स्वर्ण, १४ रजत र १० कास्य पदक प्राप्त गर्दै रसिया ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहेको छ । यसैगरी अस्ट्रेलिया नौ स्वर्ण, दुई रजत र ११ कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । बेलायत सात स्वर्ण, नौ रजत र नौ कास्यसहित छैटौँ, दक्षिण कोरिया पाँच स्वर्ण, चार रजत र ६ कास्यका साथ सातौँ, नेदरल्याण्डस् तीन स्वर्ण, सात रजत र पाँच कास्य जित्दै आठौँ, फ्रान्स तीन स्वर्ण, पाँच रजत र ६ कास्यका साथ नवौँ तथा जर्मनी तीन स्वर्ण, चार रजत र नौ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७० देशले पदक प्राप्त गर्न सफल भएका छन् । नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए । सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेकी थिइन् । पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिएका छन् । परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह, शाहले १०० मिटर फ्रि स्टाइल, सिंहले १०० मिटर फ्रि स्टाइल तथा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।

एन्फा कार्यसमितिको आकस्मिक बैठक चल्दै, यस्तो छ एजेण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको आकस्मिक बैठक अहिले ललितपुर स्थित एन्फा मुख्यालयमा बसिरहेको छ । बैठकमा राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छलफल हुने बताइएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट आफुले राजीनामा दिने घोषणा गर्ने जनाएका थिए । राजीनामाका कारण उपाध्यक्ष पंकजविक्रम नेम्वाङ भएको बताएका थिए । नेम्बाङले अलमुताइरीको आरोपको खण्डन गर्दै आफूमाथि षडयन्त्र भएको बताएका थिए । उनले छानबिन गर्न एन्फालाई निवेदन समेत बुझाएका थिए । यस्तै अलमुताइरीले पनि बिहीबार छानबिनको लागि निवेदन दर्ता गरेका थिए । यस्तै बैठकमा नेपालमा १३औं साफ च्याम्पियनसिप आयोजना गर्नेबारे छलफल हुनेछ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार नेपाललाई पत्र लेख्दै आगामी अक्टोबरमा साफ आयोजना गर्नको लागि औपचारिक प्रस्ताव गरेको थियो ।

डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौं: मन्त्री ढुङ्गेल

हेटौंडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा १० लाख रुपैयाँ दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उनले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फउन्मुख हुनेमा जोड दिए । ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उनको अनुरोध छ । उक्त लगानी आव २०७७/७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत ६० करोड ५० लाख ७५ हजार रुपैयाँ छ । कृषि विकास बैंकबाट लगानी गरिएको ६० करोड रुपैयाँमध्ये प्रदेशका ३५० कृषकले ५२ करोड ९३ लाख ६३ हजार रुपैयाँ रहेको मन्त्री ढुङ्गेलले बताए । प्रदेशभित्र ६५ कृषि विकास बैंकका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाए । प्रदेशमा ६१ अर्ब रुपैयाँ राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताए । छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उनको भनाइ छ । आव २०७७/७८ मा ६१ अर्ब रुपैयाँ राजस्व उठेको उनले जनाए । प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उनले जानकारी दिए । रासस