डिशहाेमले ओमानमा हुने सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने

काठमाडाैं । डिसहाेमले ओमानमा हुने सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ । साेमबार नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्क लिमिटेड बीच उक्त खेलकाे प्रत्यक्ष प्रशारण गर्ने सम्झाैता भएकाे हाे । डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्र्पोर्टस एचडिआइ १ र डिशहोम गो ओटिटि एप मार्फत प्रत्यक्ष प्रशारण गर्नेछ । सिडब्लुसी लिग २ ट्राइ नेसन सिरिजका छ वटा म्याचहरु यही भदाै २८ गते देखि असोज ४ गते सम्म हुनेछ ।

चन्द्रागिरिले पायो अन्तर नगरस्तरीय फुटसलको उपाधि

काठमाडौं । अन्तर नगरस्तरीय कर्मचारी मैत्रीपूर्ण फुटसल प्रतियोगिता-२०७८ को उपाधि चन्द्रागिरि नगरपालिकाले हात पारेको छ । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबार तारकेश्वर-१० स्थित जी-फोर फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा चन्द्रागिरि प्रथम भएको हो । तारकेश्वर, चन्द्रागिरि, टोखा र कीर्तिपुर नगरपालिकाको सहभागिता रहेको उक्त प्रतियोगितामा क्रमशः चन्द्रागिरि प्रथम, कीर्तिपुर द्वितीय र टोखा तृतीय भएका थिए । विजयी खेलाडीलाई प्रमाणपत्र वितरण गर्दै टोखा नगरप्रमुख प्रकाश अधिकारी र प्रशासकीय अधिकृत प्रकाश आचार्यले आपसी समन्वय कायम गरी काम गर्न खेलकुद प्रतियोगिताले महत्वपूर्ण सहयोग पुग्ने बताए। तारकेश्वर नगरप्रमुख रामेश्वर बोहराले नगर क्षेत्रमा खेलकुद विकास र विस्तारका लागि नगरपालिकाले प्राथमिकता दिएको जानकारी दिए । रासस

नाडाद्वारा ट्राफिक सचेतना अभियान सञ्चालन

काठमाडाैं । अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले ट्राफिक सचेतना अभियान सञ्चालन गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा नाडाले शुक्रबार काठमाडौंमा ट्राफिक सचेतना अभियान सञ्चालन गरेको हो । नाडाले ट्राफिक प्रहरीलाई पाँच हजार थान मास्क र १० हजार थान स्टिकर हस्तान्तरण पनि गरेको छ । ट्राफिक प्रहरीसँगै मिलेर त्रिपुरेश्वरमा यातायातका साधनहरुमा ट्राफिक सन्देश बोकेका स्टिकरहरु टाँस्ने लगायतको जनचेतनामूलक काममा सहभागी भईएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । अभियानमा हर्न निषेध, ट्राफिक नियम पालना गरौँ लगायतको स्टिकर सवारी साधनमा टाँसिएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले मास्क लगाउनकालागि ट्राफिक प्रहरीले विभिन्न संघसंस्थाको सहकार्यमा निरन्तर अभियान चलाइरहेको बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हर्न नबजाउन र अनिवार्य रुपमा मास्क लगाउन सबैलाई अनुरोध गर्दै आएको छ ।