नेपाल स्काउटको ‘सम्पदा साईकल यात्रा’

काठमाडाैं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साईकल यात्रा’ निकालेको छ । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरु बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्तिको कामना गर्दै ‘सम्पदा साईकल यात्रा’ निकालिएको हो । युवाहरुसहितको सहभागितामा विश्वमा शान्तिको सन्देश दिने उद्देश्यले बुद्धको जन्मस्थल नेपालमा पनि सो साईकल यात्रा आयोजना गरिएको स्काउटका राष्ट्रिय अध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिए । उनले आफूहरुले नेपाल स्काउटलाई स्थापित संस्थाको रुपमा विकास गर्न सफल भएको दावी समेत गरे । काठमाडौंको बसन्तपुरमा एक कार्यक्रममा बीच सो साईकल यात्राको समापन गर्दै अध्यक्ष भण्डारीले हरेक नेपालीको घरघरमा पुगेर सेवा दिने गरी यसको संयन्त्रको निर्माण गरिएको पनि बताए । साईकल यात्रामा निस्केकाहरुले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टि सर्ट प्रर्दशन गरेका थिए ।

हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक आउनुपर्ने

राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ । शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो । महासंघले हेमोफिलिया भएका व्यक्तिहरु अपांगताको ऐनभित्र परेको र अपांगता भएकाहरुको सूचिको दशौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन अनुरोध गरेको छ । त्यस्तै यसबारेमा गणकहरु पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दिपक न्यौपानेले बास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे । हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ । हेमोफिलिया भएको व्यक्तिमा कुनैपनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरुले बताउने गरेका छन् । विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् । नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हिमोफिलिया सोसाइटी नेपाल मार्फत् हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।

चर्चामा आएको ३ वर्ष बित्दा पनि पुल बनाउने योजना अलपत्र

फाइल फाेटाे विराटनगर । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वयन गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो । विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको शिलान्यास गरेका थिए । त्यसयता आकाशे पुलको डिजाईन गरि ठेक्का समेत लगाइएपनि हालसम्म पुल निर्माणले पुर्णता पाउन सकेको छैन । पुल बनाउने ठाँउको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् । महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक बर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिलागरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिबृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कंचनबाडीचोकमा आरके बिल्र्डसले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलकालागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ । घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्र्डसले आवश्यक सामाग्रि र प्राबिधिक भारतबाट झिकाई सकेपनि बनाउने ठाँउको सुनिश्चिता हुन नसक्दा निर्माणले पुर्णता पाउन नसकेको बताएको छ । यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिएपनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सृजना भएको हो । कला बिल्र्डसले सो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरेपनि स्थानियको विरोधका कारण निर्माण कार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गा धनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्र्डसका प्रोपाइटर सञ्जय यादव बताउँछन् । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने महानगरको विकाससँग जोडिएको बिषयबस्तुमा सबैले सहयोग गर्नुपर्ने बताए ।  देखिएका विवादहरुलाई समाधान गरेर चाँडै निर्माणलाई पुर्णता दिने उनको भनाई छ । महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याएपनि सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरिएको र स्थानियलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । यसको समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायविच समन्वय हुन जरुरी देखिएको छ ।