जनकपुरमा हर्षबढाई गर्दै भित्र्याइयो फूलपाती (फोटोसहित)

जनकपुर । नवरात्रको सातौं दिन दशैं घर वा पूजा कोठामा नव दुर्गामध्येकी सातौं कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सत्य सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ, त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्री भनिन्छ । कालरात्री कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने पुराणोक्त कथन छ । जनकपुरका प्रसिद्ध शक्तिपीठहरुमा शुभसाईतमा फूलपाती भित्र्याइएको छ । राजदेवी मन्दिरमा तान्त्रिक विधिअनुसार पूजापाठ सम्पन्न भएपछि हर्षबढाई गर्दै फूलपाति भित्र्याइएको हो । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले सलामी अपर्ण गरेका थिए । सो अवसरमा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतो, जनकपुरका सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनिधिहरुको सहभागिता थियो । जनकको कुलदेवीको रुपमा रहेको जनकपुरको राजदेवी लगायत शक्रिपीठहरु भव्य रुपमा सजाइएको छ । युवा क्लवहरुको सहभागितामा दशैंलाई भव्यता दिने गरिएको छ ।

नरोइर्कन दशैं मनाउनु भनेर छोराछोरीले फोनमा भनेपछि…

पाल्पा । “नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दशैंका समयमा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दशैं, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभन्दा पनि चिन्ता भरिएको देखिन्छ । परदेशमा रहेको छोरा दशैंको बेला घर नआउँदा आमाको मन नराम्रोसँग कुँडिएको छ । घरको पिँढीमा बसेर त्यही परदेशी छोरालाई सम्झेर बस्नु यतिखेर उनीहरूको दैनिकी जस्तै बनेको छ । “दशैं लाग्यो यसपालि पनि घर आउन पाइएन आमा भनेर छोराले फोनमा भन्यो, सबैका छोरा घरमा आउँदा परदेशमा भएको छोरालाई सम्झेर मन साह्रै रुन्छ”, यस्तै बिलौना पोख्नुहुन्छ, रामपुर नगरपालिका५ स्थित सुन्दरटोलकी ६२ वर्षीया अम्बिका न्यौपाने । उनका पाँच भाइ छोरा र एक छोरीमध्ये साथमा दुई छोरा मात्रै घरमा छन् । अरू सबै परदेशी भूमिमा छन् । वर्षदिनमा एकपटक आउने ठूलो चाडपर्वले परदेशमा भएका छोराछोरी घर नफर्कंदा बेलाबेलामा मन भक्कानिएर आउने गरेको उनी बताउनुहुन्छ । “तीन भाइ छोरा कुबेत र दुबईको रोजगारीमा छन्, एक छोरी घरजम गरेर भारतमा बसोबास गर्छिन्, यसपालि पनि परदेशमा भएका सबै छोराछोरी घर नआउने भए,” दुःख व्यक्त गर्दै उनले भने, “दशैंमा घर आउन मन थियो तर छुट्टी पाइएन आमा नरोइर्कन दशैं मनाउनु भनेर छोराछोरीले फोन गरेर भने, त्यो भनेपछि झनै मन थामिएको छैन ।” चाडपर्वका बेला मिठोमसिनो घरमा पाक्दा पनि रातदिन परदेशमा रहेका छोराछोरीलाई उनी सम्झनुहुन्छ । उनीलाई दशैं नजिकिँदै गर्दा घरमा भएको छोरा परदेशमा झोला बोकेर निस्कँदा झन् पीडाबोध भएको छ । “दुई भाइ छोरा परदेशमा थिए, अर्को घरमा भएको छोरा पनि घटस्थापनाको अघिल्लो दिन मात्रै परदेशको बाटो लाग्यो, बुबाआमालाई सधैँ छोराछोरी काखमै भए हुन्थ्यो भन्ने लाग्छ, तीनै परदेशी छोराछोरीलाई सम्झेर रुँदै दिनरात बितेको छ,” उनले आँसु पुछ्दै भने । घरभित्र उमारिएका जमरा, छरछिमेकका छोराछोरी घरमा भित्रँदा बुबाआमालाई अझ बढी आफ्ना सन्ततिको यादले झस्काइदिन्छ । यतिबेला दशैं पर्व मनाउन स्वदेश तथा विदेशमा रहेका नेपाली घर फर्कंदा गाउँमा चहलपहल छ । सहर बजार सुनसान बनेका छन् । स्वदेशमा जागिर पाइएन, विदेश पठाउनुपर्ने बाध्यता चाडपर्व आउँदा छोराछोरीकै झल्को आउने ७४ वर्षीय चुडामणि न्यौपाने बताए । “नातिनातिना र बुहारीलाई हेरेर चित्त बुझाउने त होला नि, कमाई पनि गर्नै पर्यो तर ठूलाठूला चाडपर्वमा छिमेकीका छोराछोरी झोला बोकेर घर आउँदा हाम्रा पनि आइदिए हुन्थ्यो भन्ने लाग्दोरहेछ”, उनले भने । उनी भन्छन्, “हाम्रा पालामा त विदेश जाने चलन नै थिएन, गाउँमै कुटो कोदालो गरेर जीवन धानियो, अहिले त गाउँमा बसेर कोही काम गर्दैनन्, विदेशमा पैसा रूखमै टिप्न पाइने झैँ गरेर उतै दौडिन्छन् ।” “ए परदेशी आऊ है गाउँमै दशैं तिहार आइसक्यो झल्को लाइसक्यो,” लोकगायिका विष्णु माझीको यो गीतले पनि परदेसिएका नेपालीका परिवारको मन झस्काइदिएको छ । परदेशमा रहेका सन्तति, श्रीमान्, आफन्तसँगसँगै बसेर दशैं मनाउने रहर कस्लाई पो नहोला र ? परदेशको जागिर भनेको समयमा छुट्टी नमिल्दा दशैं पर्वमा घर जान नपाउँदाको पीडा परदेशीका पनि उत्तिकै छन् । यसपालीको दशैंमा पनि परदेशीको छुट्टी नमिल्दा चाडपर्व आउँदा पनि नरमाइलो लागेको अनुभव सुनाउनुहुन्छ, लिमिसरा राना । “गाउँमा जताततै चाडपर्वको रौनक छ, श्रीमान् परदेशमा हुनुहुन्छ, मनमा पीर त हुन्छ नै तर पनि चित्त बुझाउनै पर्यो,” उनले भने । चाडपर्व घरपरिवारसँगै रमाइलो गरी मनाउने रहर भए पनि मनभित्रै पीडा र वेदनालाई लुकाएर परदेशी भूमिमा बस्नु परेको पाल्पा रामपुरका कमल पराजुलीले बताए । अर्काको अधीनमा बसेर काम गर्नुपर्यो, भनेको समयमा घर जान नपाइने, चाडपर्वको बेला घरपरिवार, आफन्त र गाउँको बढी याद आउने गरेको उनी बताउँछन् । उनका अनुसार विदेशमा रहे पनि नेपाली मुलुकका साथीभाइबीच एकापसमा सँगै बसेर परम्परा र संस्कृति धान्दै दशैं मनाउने गरिएको छ । रासस

मिस इन्टरकन्टिनेन्टल नेपाल पाठकलाई बिदाई

काठमाडाैं । मिस इन्टरकन्टिनेन्टल नेपालका नेशनल डिरेक्टर राजेश राैनिया‍रले मिस इन्टरकन्टिनेन्टल नेपाल निशा पाठकलाई बिदाइ गरेका छन् । उनलाई प्रतियाेगिताकाे लागि राैनियारले शुभकामना दिँदै बिदाइ गरेका हुन् । पाठक इजिप्टमा हुन गइरहेकाे मिस इन्टरकन्टिनेन्ट २०२१ काे लागि छिटै जाँदै छिन् । उक्त बिदाई कार्यक्रममा निशाले प्रतियाेगितामा लगाउने राष्ट्रिय पाेसाक र इन्ट्राेडक्सन भिडियाे प्रस्तुत गरिएकाे थियाे । पाठक ४९ औं मिस इन्टरकन्टिनेन्टल नेपाल हुन् ।