आज भाइटीकाः ११ बजेर २ मिनेट उत्तम साइत, कुन दिशामा फर्केर टिका लगाउने ?
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ स् ०२ बजेको रहेकाे छ । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाँहिने पार्नु पर्ने शास्त्रीय नियम छ ।
आज गोवर्धन पूजा गरिँदै
काठमाडाैं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
रौतहटमा धानबाली नष्ट
काठमाडाैं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा लगाएको धान हावाहुरी र पानीको कारण उत्पादन लिन नसकिने गरी क्षति भएको छ । केन्द्रका अनुसार बाला लाग्ने बेला भएको ८ सय २५ हेक्टर जमिनमा लगाएको धान पूर्ण रुपमा नोक्सान भएको छ । जिल्लामा यसपाली ३५ हजार ५ सय ३५ हेक्टर जमिनमा धान खेती गरिएकोमा कुल ८ दशमलव १८ प्रतिशत जमिनमा लगाइएको धानमा नोक्सानी पुगेको कृषि ज्ञान केन्द्र रौतहटको तथ्यांक छ । पीडित किसानहरुले आफुहरुले लगाएको सम्पूर्ण धानबाली नष्ट भएकोमा दुखेसो गर्दै सरकारसँग क्षतिपूर्ति माग गरेका छन् । सरकारले किसानको समस्यालाई समाधान गरे जिविकोपार्जनमा सहज हुने उनीहरुको भनाई छ । केहीदिन अघिदेखिको अविरल वर्षाका कारण नेपालको तराई तथा पहाडी भु–भागमा भित्राउन तयारी अवस्थामा रहेका धानबाली नष्ट भएका छन् । सरकारले किसानलाई राहत दिने घोषणा गरेको भएपनि हालसम्म किसानले कुनैपनि राहत नपाएको किसानहरुले बताएका छन् ।