समाजसेवी शान्तलाल मुल्मीको ‘मभित्रको म’ सार्वजनिक

काठमाडौं । वरिष्ठ समाजसेवी शान्तलाल मुल्मीको मभित्रको म पुस्तक सार्वजनिक भएको छ । नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, भाषासेवी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका थिए । ७८ वर्षे मुल्मीले जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्बन्धी लगायतमा पुस्तकमा आत्मवृतान्त पस्केका छन् । कार्यक्रममा प्रमुख अतिथि एवम पूर्व प्रधान न्यायधिस कल्याण श्रेष्ठले नछोडी धर्म नतोडी ब्रम्ह, गरेर कर्म नै जीवनको मर्म हो भन्ने सन्देश आत्मवृतान्तले पस्केको बताए । आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने पनि बताए । उनले राजनीतिबाट नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरेका थिए । यस्तै भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताउँदै मभित्रको म पुस्तक पढ्दा आफ्नै कथा व्यथा पढेको जस्तै हुने बताए । साहित्यकार सुलोचना मानन्धरले आफूले आफैलाई ढाँट्न नसक्ने र मान्छेले जीवनमा गलत गरेतापनि सुधार्ने मौका प्राप्त हुने सन्देश इमान्दारितापूर्वक लेखकले लेखेको बताइन् । पुस्तक नियात्राजस्तै अनि आख्यानजस्तै रहेको पनि उनले टिप्पणी गरिन् । समालोचक केशव दाहालले मभित्रको म आत्मवृतान्तमा शव्दको माधुर्यता रहेको , शव्दको लय मिलेको र मेरो अस्तित्व खोज्न सिक्न सिकाउने खालको रहेको बताएका थिए । छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक विमाेचनसँगैं कार्यक्रममा गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदक दिइएको थियो ।

खेलकुलमन्त्री अथकले खेलाडीलाई भनेः स्व. प्रकाश दाहाल जस्तै जुझारु हुनुस्

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्व. प्रकाश दाहाल निडर र जुझारु स्वभावको ब्यक्ति भएको बताएका छन् । आफुले निकै नजिकबाट दाहालको जुझारुपन महशुस गरेको बताउँदै मन्त्री अथकले खेल क्षेत्र र खेलाडीहरुमा पनि त्यसप्रकारको जुझारुपन आवश्यक रहेको बताएका हुन । स्व. प्रकाश दाहालको स्मृतीमा आयोजित दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मन्त्री अथकले दाहालको ब्यक्तित्वबाट आफु निकै प्रभावित भएको उल्लेख गरे । सामाजिक रुपान्तरणको मोर्चा हुँदै सगरमाथाको सफल आरोहणसम्मको चरणमा दाहालले ठुलो सामर्थ देखाएको स्मरण गर्दै मन्त्री अथकले नेपाली खेलक्षेत्रको विकासमा दाहालको भुमिकाको खुलेर प्रशंसा गरेका हुन । दाहालको ब्यक्तित्वसँग मिल्ने खालको खेल संचालन गरेको प्रति खुसी ब्यक्त गर्दै उनले भने, “बक्सिङ बहादुरहरुको खेल हो, स्व. प्रकाश दाहाल पनि निकै बहादुर थिए ।” फरक प्रसंगमा बोल्दै मन्त्री अथकले समग्र खेलक्षेत्रको विकासकालागि आफु चिन्तित रहेको बताए । खेल क्षेत्रको विकासमा अबरोध पुर्याउने छुट कसैलाई नरहेको उल्लेख गर्दै त्यसखालको प्रवृत्तिलाई हाटाउँदै अगाडी बढ्न आफु प्रतिवद्ध रहेको समेत उनले स्पष्ट पारे । नेपाल बक्सिङ संघको आयोजनामा सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदमा आगामी मंसिर ३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको सोमबार एक औपचारीक कार्यक्रमका बिच मन्त्री अथकले उद्घाटन गरेका हुन ।

३० गते नेपाल बन्द, पेट्रोलियम पदार्थको मूल्य घटाउन दवाव

काठमाडाैं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले यही कात्तिक ३० गते ‘नेपाल बन्द’ आह्वान गरेको छ । पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदवाव दिने भन्दै नेकपाले कात्तिक ३० गते मंगलबार नेपाल बन्द आह्वान गरेको हो । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य बस्तुहरुमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई जनदवाव दिन ‘नेपाल बन्द’को आह्वान गर्नु परेको बताए । उनले सो ‘नेपाल बन्द’ शान्तिपूर्ण हुने र त्यसले सरकारले बढाएको महंगीविरुद्ध राष्ट्रिय ऐक्यवद्धता प्रर्दशन गर्ने तर्क समेत गरे । नेता बास्तोलाले ‘नेपाल बन्द’लाई शान्तिपूर्ण बनाउन जनतालाई अपिल गर्ने र त्यसमा सहयोग गर्न सञ्चारकर्मीहरुलाई पनि आग्रह गरे । उनले भने, ‘पेट्रोलियम पदार्थको गरिएको मूल्यवृद्धि सरकारले रोक्नु पर्छ,  राज्यलाई दवाव दिनका निम्ति एउटा राष्ट्रिय सोलिडारिटी र जनताको ऐक्यवद्धता र दवाव दिनका निम्ति हाम्रो पार्टीले कात्तिक ३० गते नेपाल बन्द भनेका छौं, नेपाल बन्द भनेको शान्तिपूर्ण तरिकाले राज्यलाई दवाव दिनका लागि एउटा सोलिडारिटी यो महंगीको विरुद्धमा राज्यको बैधानिक लुटपाट, कानुन बनाएर लुटपाट गर्ने, नियम बनाएर लुटपाट गर्ने राज्य आफैं जो बनेको छ ।’ नेता बास्तोलाले राज्यले जनतालाई महंगी बढाएर बैधानिक लुटपाट मच्चाएको आरोप लगाए । उनले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारणबारे झुट बोलिरहेको भन्दै आक्रोश समेत व्यक्त गरे ।