पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड क्षति

महोत्तरी । महोत्तरी  जिल्लाको मटिहानी नगरपालिका– ८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा रु डेढ करोड बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोही पसलसँगै टाँसिएर रहेको आरएन अडियो, नेपाल म्याक्स टेलर, समीर रेडिमेड र शत्रुधन ठाकुरले सञ्चालन गरेको नाम नखेलिएको सैलुन र दुईतले भवनको विभिन्न कोठामा पनि आगलागी भई जम्मा रु डेढ करोड बराबरको धनमाल क्षति भएको उनको भनाइ थियो । मटिहानी नगरपालिकासँग बारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको बारुणयन्त्र हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भए पनि करिब दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीमा कुनै प्रकारको मानवीय तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ । रासस

अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

काठमाडौं । चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी निर्देशक डा. जोरिट बिट्सचेगीले चोरी निकास भई आफ्नो म्युजियममा पुगेको १७ औं शताब्दीको काठको कलात्मक तोरण, १४ औं शताब्दी कालका उडिरहेको गन्धर्वको आकृति कुँदिएको काष्ठकला र १३ औं शताब्दीको मल्लकालिन ध्यानमुद्रामा रहेको प्रस्तरको बुद्धको मूर्ति काठमाडौं ल्याई पुरातत्व विभागलाई हस्तान्तरण गरे । २२ हजार अमेरिकी डलर बराबरको पुरातात्विक महत्वको सांस्कृतिक सम्पदा फिर्ता भएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनले सो मूर्ति राष्ट्रिय संग्राहलयमा तत्कालका लागि राख्ने र पछि हराएको ठाउँमा नै सुरक्षित ढंगले प्रतिस्थापन गर्ने जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले चोरी भएको नेपालको पूरातात्विक महत्वको ती सम्पदाहरु आफैले ढुवानीसहित व्यहोरेर नेपाल फिर्ता गरेको भन्दै रुविन म्युजियम अफ आर्ट र सो खोजी कार्यमा संलग्न परराष्ट्र मन्त्रालय, अमेरिकास्थित नेपालको महावाणिज्य दुतावास, पूरातत्व विभागप्रति आभार व्यक्त गरे । उनले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरु अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र संचारकर्मीहरुले पुनः सहयोग गर्ने विश्वास व्यक्त गरे । पूरातत्व विभागका अनुसार नेपालबाट गैरकानुनी ढंगले चोरी भई विभिन्न मुलुकमा निकासी भएका पुरातात्विक महत्वका सम्पदाहरु ७६ वटा फिर्ता भईसकेका छन । ्

स्वरोजगार बन्दै जुम्लाका महिला

चन्दननाथ नगरपालिका– ६ की सङ्गीता रावलको दुई वर्षअघिसम्म कमाइ केही थिएन । घरपरिवारको गुजारा चलाउन निकै गाहे हुन्थ्यो । आर्थिक उपार्जनका लागि उनले सीपमूलक तालिन लिइन् । अहिले उनलाई परिवार चलाउन सहज भएको छ । आर्थिक आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक विकास कार्यालय जुम्लाले एकमहिने हाते होजियारी सीप सिक्ने व्यवस्था गरेपछि सङ्गीता विस्तारै आत्मर्निभर बन्न थालेकी छिन् । “तालिमले आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न भएको आभास दिलाएको छ”, उनले भनिन्, “सीप सिकेर आत्मनिर्भर बन्ने अभियानमा लागेकी छु ।” यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको उनको भनाइ छ । “एक महिनासम्म आर्थिक आर्जन गर्ने सीप सिक्यौँ”, सङ्गीताले भनिन्, “अब घरमै बसेर सिकेको सीप व्यवहारमा ल्याएर व्यावसायिक बन्ने कार्यमा जुट्छौँ । टोपी र मोजा बुन्न सिकेका छौँ । घरमै बसेर टोपी र मोजा बुनेर नजिकैको बजारमा बिक्री गर्न सहज भएको छ । यो सीपले हाम्रो जीवनस्तरमा सुधार ल्याएको छ ।” चन्दननाथ– ४ की अमृता भारतीलाई पनि यस तालिमले व्यावसायिक बन्न पे्ररित गरेको छ । सानो लगानीमा सञ्चालन गर्न सकिने व्यवसाय भएकाले सहजै चलाउन सकिने छ । सिकेको सीप कहिले पनि खेर नजाने भएकाले जुनसुकै बेला काम लाग्ने उनको भनाइ छ । “सीप सिकेर मात्र हुँदैन”, उनले भनिन्, “उत्पादन गरी त्यसलाई बिक्री पनि गर्न सक्नुपर्दछ ।” सङ्गीता र अमिृता मात्र होइन, जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका बेरोजगार महिला अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । गरिब तथा विपन्न वर्गका महिलालाई आर्थिक तथा सामाजिक रूपमा अगाडि बढाउन यसप्रकारका तालिमको आयोजना गरेको सामाजिक विकास कार्यालयले जनाएको छ । कुनै बेला श्रीमान्सँग हात थापेर गुजारा गर्ने यी महिलाहरू अहिले आर्थिक रूपमा आफैं सवल बन्न थालेका छन् । अर्थले मान्छेको जीवनमा ठूलो प्रभाव पार्छ । उनीहरू पनि समाजमा आर्थिक रूपमा सक्षम बन्दै गएका छन् । आफूहरूलाई आर्थिक रूपमा सक्षम बनाउन सहयोग गर्नेप्रति उनीहरू खुसी छन् । पछिल्ला दिनमा हरेक क्षेत्रका महिला आत्मनिर्भर हुँदै आएकोमा यहाँका महिलाले गरेका उत्पदानका कामले अरू पनि प्रभावित भएका छन् । उनीहरूका परिवार पनि यसबाट खुसी छन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले सीपलाई व्यावसायिकरूपमा अगाडि बढाउन महिलालाई आग्रह गरे । बजारमा पाइने रेडिमेडभन्दा हातले बुनेका मोजा, टोपी बलियो र टिकाउ हुनेहुँदा सीपलाई सही सदुपयोग गर्न उनले सुझाए । रासस