च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

काठमाडाैं । च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आज दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ । लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।

भारतबाट साढे १८ सय टन कन्दमुल आयात, २५ करोड बढीकाे काराेबार हुने आशा

काठमाडौं । कालीमाटी तरकारी तथा फलफूल बजारमा माघेसंक्रान्तिका लागि साढे १८ सय टन कन्दमुल भित्रिएको छ । पुस महिनामा मात्रै माघेसंक्रान्तिमा उपभोग हुने कन्दमुल (तरुल, सखरखण्ड र पिँडालु) १८ सय ४२ टन कालीमाटी तरकारी बजारमा भित्रिएको हो । गत वर्षको तुलनामा यस वर्ष कन्दमुलको आयात बढी भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । उनका अनुसार माघेसंक्रान्तिका लागि गत वर्षको पुस महिनामा १५८१ टन कन्दमुल तरकारी बजारमा भित्रिएको थियो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार यस वर्ष १८ सय ४२ टन कन्दमुल मध्ये १३ सय १९ टन तरुल भित्रिएको छ । भित्रिएको तरुलमध्ये ९० प्रतिशत स्वदेशी र बाँकी १० प्रतिशत भारतबाट आयात भएको छ । यस्तै, २९६ टन पिँडालु र २२६ टन सखरखण्ड कालीमाटी बजारमा भित्रिएको छ । भित्रिएको पिँडालु सबै स्वदेशी र ५१ प्रतिशतभन्दा बढी सखरखण्ड भारतबाट आयात गरिएको हो । तथ्यांक अनुसार पिँडालुमा देश आत्मनिर्भर भएतापनि तरुल र सखरखण्डामा देश अझै आत्मभिर्नर हुन सकेको छैन् । सूचना अधिकारी श्रेष्ठका अनुसार अन्य वर्षको तुलनमा यस वर्ष पनि स्वेदशी पिँडालुनै कालीमाटी भित्रिएको छ । पिँडालुमा देश आत्मनिर्भर भएतापनि केही मात्रामा तरुल र पूर्ण रुपमा सखरखण्डका लागि नेपाल भारतमै निर्भर हुनुपरेको छ । ‘केही वर्ष अगाडीसम्म काठमाडौं उपत्यकामा भित्रिएका तरकारीहरु कालीमाटी तरकारी बजारमा आएपछि मात्र अन्य बजारमा पठाइन्थ्यो, तर अहिले सबै बजारमा जाने हुँदा कन्दमुलको आयात बढेको होला, अन्य बजारको तुलनामा कालीमाटीमा नै धेरै आयात हुने हुँदा हामीले आयात बढेको भन्ने गरेका हौं, उनले भने । उनका अनुसार बारा, चितवन, धादिङ, दोलखा, गोरखा, झापा, काभ्रे, मकवानपुर, नवलपरासी, मोरङ, सर्लाही, सिन्धुली लगायतका जिल्लामा मुख्त तरुल/पिँडालु उत्पादन हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत वर्षको तुलनामा मूल्य सामान्य घटेको छ । गत वर्ष यहीं समयमा प्रतिकिलो ५९.२८ रुपैयाँ पर्ने तरुल अहिले प्रतिकिलो ६० रुपैयाँमा बिक्री भएको छ । गत वर्ष प्रतिकिलो ५१.१६ रुपैयाँ पर्ने पिँडालु घटेर ४५ र सखरखण्ड ६९.४३ रुपैयाँबाट घटेर ६५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ । यद्यपि, माग बढ्न थालेपछि मूल्य थप बढ्न सक्ने समितिले जनाएको छ । काठमाडौं उपत्यकामा तरकारी माग मध्ये कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्छ भने बाँकी ३० प्रतिशत बल्खु तरकारी बजारले पूर्ति गर्दै आएको छ । यस वर्षको माघेसंक्रान्तिमा काठमाडौं उपत्यकामा मात्रै २५ करोड बढीको कन्दमुलको कारोबार हुने  अनुमान व्यवसायीले गरेका छन् ।

क्रिकेट एक्सेलेन्स सेन्टर र बजाज माेटरसाइकलकाे सहकार्य सुरु

काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने भएकाे छ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराजले बुधबार क्रिकेट एक्सिलेन्स सेन्टरसँग यसबारे सम्झाैता गरेकाे हाे । यसपछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ । सम्झाैता समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सेलेन्स सेन्टरसँग आवद्ध हुन पाउँदा अत्यन्त खुसी भएकाे बताए । ‘बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गर्नुभएको छ र पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ । तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ,’ उनले भने । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ । गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।