लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै, विजेतालाई १५ विधामा पुरस्कार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘ओपन गल्फ टुर्नामेन्ट २०२२’ हुने भएको छ । कोरोना संक्रमणको कारणले गत दुई वर्षदेखि हुन नसकेको उक्त गल्फ टुर्नामेन्ट आगामी चैत ११ गतेदेखि हुन लागेको हो । इन्स्योरेन्सले बुधबार एक पत्रकार सम्मेलन गर्दै उक्त प्रतियोगिता दुई दिनसम्म हुने जानकारी गराएको हो । प्रतियोगिता चैत ११ गते र चैत १२ गते त्रिभुवन विमानस्थल परिसरस्थित रोयर नेपाल गल्फ कोर्समा हुने छ । उक्त प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुनेछ । जसमा १२० जना खेलाडीहरू सहभागी हुने इन्स्योरेन्सले जनाएको छ । महिला पुरुष दुवै सहभागी हुन पाउने उक्त प्रतियोगितामा १० जना महिला र बाँकी पुरुष खेलाडी हुने आयोजकले जनाएको छ । त्यसमध्ये ९ देखि १४ वर्षसम्मका १६ जना जुनियर खेलाडी हुने छन् भने १८ वर्षभन्दा माथिका स:शुल्क खेल्न पाइने उक्त प्रतियोगिताको लागि इच्छुक तथा योग्यता पुगेका खेलाडीले बिहीबार(चैत १० गते) सम्ममा नाम दर्ता गराइसक्नु पर्ने हुन्छ । रोयल नेपाल गल्फका कोषाध्यक्ष मधुर शिन्याका अनुसार उक्त प्रतियोगितामा रोयल नेपाल गल्फका सदस्य, इन्स्योरेन्स र गैर सदस्य अतिथिहरु योग्य हुनेछन् । साथै, उक्त प्रतियोगितामा सहभागी विजेता खेलाडीहरुलाई विभिन्न १५ विधाका पुरस्कार वितरण गरिने छ । जसमा नगद पुरस्कारको व्यवस्था भने छैन । यो एमाच्योर गल्फ टुरनामेन्ट भएकोले नगद पुरस्कारको व्यवस्था नरहेको कोषाध्यक्ष शिन्याले बताए । इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत खेलकुद विकासको लागि उक्त प्रतियोगिताको प्रायोजन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत एनपी प्रधानले बताए । कम्पनीले यसअघि पनि दुई पटक सन् २०१८ र २०१९ मा गल्फ टुरनामेन्टको प्रायोजन गरेको थियो । त्यसपछि कोराना संक्रमणका कारण सन् २०२० र २०२१ मा भने कार्यक्रम हुन नसकेकोले बताउँदै पुनः यसलाई निरन्तरता दिइएको सीईओ प्रधानले बताए ।

पपुवा न्युगिनीमाथि नेपालको सानदार जित

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि ७ विकेट जित हात पारेको छ । १७४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितमा शीर्षक्रमका ब्याट्सम्यान आरिफ शेख १०२ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहे । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ४८ बलमा ४ चौकासहित ४४ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ६४ बलमा ५० रनमामा स्टम्पिङ आउट भए । कुशलको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । ओपनर आसिफ शेख २ रनमै आउट भए । चौथो ओभरको पहिलो बलमा आसिफलाई कावुआ मोरेआले बोल्ड आउट गरे । त्यसको एक बलपछि दीपेन्द्रसिंह ऐरी चाद सोपरबाट शून्यमा आउट भए । पपुवा न्युगिनीका चाल्र्स अमिनीले २ र मोरेवाले १ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । प यस त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । युएईसँग ४८ रन र ९९ रनले पराजित भएको थियो । नेपालले अव घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुई ओडिआई सिरिज खेल्नेछ । जुन शुक्रबार र शनिबार हुनेछ । त्यसपछि नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच टि२० आई सिरिज हुनेछ ।

माटो जोगाऔं भन्दै वसन्तपुरमा एकैसाथ ३०० जनाद्वारा नृत्य

काठमाडौं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ नामक विश्वव्यापी अभियानलाई समर्थन गर्नको लागि वसन्तपुर दरबार क्षेत्रमा ३०० जनाले सांगीतिक प्रस्तुति दिएका छन् । ईशा फाउण्डेशनका संस्थापक सद्‌गुरु जग्गी वासुदेवद्वारा पहल गरिएको ‘सेभ सोइल’ अभियानमा वसन्तपुरमा भेला भएकाहरूले नृत्य र साङ्गीतिक प्रस्तुति दिएक हुन् । आफूलाई भू-मित्र भन्न रुचाउने समर्थकहरू, शनिबार साँझ वसन्तपुरमा नेपालको झण्डा बोकेर माटो जोगाऔँ, अहिल्यै केही गरौँ, आउनुहोस्, यसलाई साकार पारौंजस्ता नारासहितका प्लेकार्डहरू बोकी कार्यक्रममा सहभागी थिए । साथै, उनीहरू सबैले ‘सोइल सङ’ अर्थात् माटोको लागि रचिएको गीतमा सँगै नृत्य गरेका थिए । सो गीत र नृत्य, माटो जोगाऔँ अभियानको लागि रचिएको हो । भू-मित्रका स्वयंसेवकहरू अर्जुन कार्की र पार्थ लामिछानेको साङ्गीतिक प्रस्तुति दिएका थिए । माटो जोगाऔँ अभियान सद्‌गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको विनाशबारे सम्बोधन गरी माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट हुन आह्वान गरेको छ । यो अभियानको उद्देश्य खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनको लागि सबै राष्ट्रका नेतृत्वकर्तालाई राष्ट्रिय नीतिहरू बनाउनु पनि हो । यस अभियानअन्तर्गत, माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलहरूका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न, सद्‌गुरुले बेलायत, युरोप, एशिया र मध्यपूर्व गरी २७ राष्ट्रहरूमा ३० हजार किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने कार्यक्रम छ । उक्त १०० दिवसीय यात्रा २१ मार्चमा लण्डनबाट सुरु भई दक्षिणी भारतमा समापन हुनेछ । यस अभियानको मुख्य उद्देश्य ३.५ अर्ब मानिसहरूको समर्थन जुटाउने र सरकारहरूलाई पर्यावरणको लागि दीर्घकालीन नीतिहरूमा लगानी गर्न विश्वास दिलाउनु हो ।