म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी !

हो ! ठिक सुन्नुभयो । बिल्कुलै ठिक । म ‘ए प्लस’ ल्याएर फेल भएको विद्यार्थी हुँ । मेरो समाजमा ‘ए प्लस’, ‘बि प्लस, ‘सि प्लस’, ‘डि प्लस’का ठूल्ठूला लक्ष्मण रेखा छन् । मलाई यो समाज, परिवार र विद्यालयदेखि डर लाग्छ । यदि मेरो ग्रेड ‘ए प्लस’ भन्दा कम आयो भने, मलाई मेरो छिमेकी, साथीहरूले कस्तो यार केही जान्दैन यो त भन्नुहुन्छ । मलाई मेरो परिवारले भन्नुहुन्छ, ‘हामीले यत्रो सुविधा देको छौं तँलाई । ट्युसन हाल्देको छौं, कोचिङ क्लास छ पुगेन भने अलि लामो समय पढ् ट्युसन म पैसा तिरिदिन्छु तर हाम्रो परिवारको नाक चाहिँ राख्नुपर्छ ।’ मेरो परिवारले पनि मलाई एकदमै सत्य कुरा भन्नुभएको छ । जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ मेरो समाजले पनि यसको छोरो त पढाइमा हिरो छ भनेर बुवालाई भनिदिन्छन् तर मैले अहिलेसम्म पनि बुझेको छैन खास त्यो ‘हिरो’ कस्तो हो भनेर ! मेरो तपाईंहरू सबै जनालाई प्रश्न छ- हाम्रो समाजले बनाइदिएका ‘ए प्लस हिरोहरू’ले के भोलि हाम्रो समाजकै तिनै मान्छेका समस्या समाधान गर्न सक्लान् त ? हाम्रो समाज, वातावरण, हावापानी, अर्थ व्यवस्थालाई चाहिने जसले मेरो ओखलढुंगामा बस्नुभएकी हजुरआमाको घाउमा मलम लगाउन सकोस् ! जुम्लाको स्याउ, फर्पिङको नासपाती र भोजपुरको खुकुरीको शक्ति चिनेर विश्व बजारमा स्थापित गर्न सक्ला त ! मेरो दाइ नेपालमा काम नपाएर घरकी सानी छोरी पढाउन नसकेर मुटु निचोर्दै विदेशिएको कुरा बुझ्ला त ! यो सबै प्रश्न तपाईंहरूलाई नै छोड्दै छु । मैले समाज र परिवारको कुरा त गरें । अब पालो आयो विद्यालयको मेरो समाजमा दुई प्रकारका विद्यालय छन्, सरकारी र प्राइभेट। हाम्रो शिक्षा अहिले या त प्राइभेटको कुरा गर्दा व्यापारीकरणको पासोमा छ वा सरकारी यथास्थितिवादको पासोमा। अब भन्नुस् कुन राम्रो हो ? खै म चाहिँ कुनलाई राम्रो भन्नु आफैं दुविधामा छु त्यसैले त यो लेख्दै छु । अहिले यो कुरा छोडौं । अब जाऊँ मेरो ग्रेडको विषयमा ! जब मेरो ‘ए प्लस’ ग्रेड आउँछ विद्यालयमा सबैले वाह ! वाह ! गर्नुहुन्छ। पत्रिकामा छापिन्छ, फोटो टासिन्छ कलेजको भित्तामा । ‘कति ट्यालेन्ट छौ तिमी’ भन्नुहुन्छ। के रियल ट्यालेन्ट भनेकै एक्जाममा राम्रो ग्रेड ल्याउनु हो तर मलाई एउटा कुराको एकदमै डर लाग्छ। के कुरा थाहा छ ? के अबको १० वर्षपछि म त्यही भित्ताको फोटो हेर्न जाँदा कतै त्यो फोटोले मलाई देखेर खित्का छोडी छोडी हाँस्ने त हैन ? हाँस्ने यो अर्थमा कि पढाइको ‘हिरो’को अर्थ र परिभाषा बुझाउन । आज म जस्ता धेरै आवाजविहीन भएर बसेका छन् किनकि हाम्रो यो कुरा कसले सुनिदिन्छ ? कोही छैन ! ‘तँ तेरो जिन्दगीमा के चाहन्छस्’ भनेर कसैले मात्र एकपटक सोधिदिएको भए त हुन्थ्यो नि तर कोही छैन सोध्ने, कोही छैन । म त यसरी कसैले सोधेको भए मज्जाले उसको काखमा डाँको छोडेर रोइदिन्थें । अब मलाई भन्नुहोस् के म जस्ता धेरै हामीहरूलाई यो कुराको समाधान रूनु मात्र हो त ? (सामाजिक सञ्जालबाट)  

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा रहेका अस्थायी टहराहरु हटाउने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा संचालनमा रहेका अस्थायी टहराहरु हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरु हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए । उनले फूल, प्रसादी लगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरु हटाउन लागिएको स्पष्ट पारे । प्रवक्ता अधिकारीले भने, ‘पशुपति क्षेत्रको आफनै ऐन, कानुन छ । त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तरगत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरुको लागि केही पसलहरुको व्यवस्थापन गरेका छौं । त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने हाम्रो नीति होईन । छैन र हुनु पनि हुँदैन । केही अरुनि पसलहरु राखिएको थियो । व्यवस्थित ठाउँ बनाएरपछि ती टहराहरुलाई हटाउन लागिएको हो ।’ कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरुका लागि आवश्यक फूलमाला, प्रसादी, चिनोलगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ । कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरुको दर्शनका लागि आवश्यक पूजा सामग्रीलगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए ।

भारतमा ६.१ म्याग्निच्युडको भूकम्प

काठमाडाैं । भारतमा ६.१ म्याग्निच्युडको भूकम्प आएको छ । देशको दक्षिण–पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ । स्थानीय समयानुसार शुक्रबार राति भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।