सामाजिक सहानुभूति युवा क्लबले पाटन क्षेत्रमा शनिबार सरसफाइ गर्ने

काठमाडौं । सामाजिक सहानुभूति युवा क्लबले शनिबार सरसफाइ कार्यक्रम गर्ने भएको छ । क्लबले ललितपुरको पाटन मन्दिर क्षेत्रमा सरसफाइ कार्यक्रम गर्ने भएको हो । क्लबका अध्यक्ष सुवास असरपतिले युवा सक्रियता मार्फत समाज रूपान्तरणको नारा सहित सरसफाइ कार्यक्रम गर्ने लागेको बताए । सरसफाई कार्यक्रम बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म गर्ने उनले जानकारी दिए । क्लबले सबैलाई सरसफाइ कार्यक्रममा साथ दिन अनुरोध गरेको छ ।

शुक्रबारको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/ट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । रातको समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव दुई डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । रासस

खोटाङमा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा

खोटाङ । जिल्ला अदालत खोटाङमा आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेदका एक सय ८४ मुद्दा दर्ता भएको छ । एक वर्षको अवधिमा अदालतमा दर्ता भएका एक सय ८४ मुद्दामध्ये एक सय ३८ मुद्दा फछ्र्योट भएको छ भने ४६ वटा मुद्दा आर्थिक वर्ष २०७९र८० का लागि जिम्मेवारी सरेको जनाइएको छ । गत वर्षको तुलनामा यस वर्ष सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दोब्बरले वृद्धि भएको जिल्ला अदालत खोटाङका श्रेस्तेदार रामाकान्त यादवले जानकारी दिए । ‘आव २०७७/७८ मा ७० मुद्दा दर्ता भएको थियो,’ उनले भने, ‘जिल्लामा सम्बन्धविच्छेद गर्ने दम्पतीको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।’ दश स्थानीय तह रहेको खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि हुँदै जानुको मुख्य कारण गरिबी देखिएको छ । जिल्लाका अधिकांश महिला आफूले भनेअनुसार खान, लाउन नपाएको तथा श्रीमान् वैदेशिक रोजगारीमा गएको समयमा सासू–ससुराले हेरविचार नगरेको भन्दै सम्बन्धविच्छेद गर्न अदालत पुग्ने गरेको पाइएको छ । मादक पदार्थ सेवन तथा झैझगडाका कारण पनि सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि भएको पाइएको श्रेस्तेदार यादवले बताए। ‘कतिपय सम्बन्ध एक वर्ष पनि टिक्न नसकेको देखिएको छ,’ उनले भने, ‘आफूखुसी विवाह गरेका २० वर्ष उमेर समूहका तथा मागी विवाह गरेर ४५ वर्षसम्म श्रीमान/श्रीमती मिलेरसँगै जीवन बिताएका जोडीहरूसमेत सम्बन्धविच्छेद गर्न अदालत आउने गरेका छन् ।’ पछिल्लो समय कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको अधिवक्ता कुवीरकाजी राईले बताए। ‘केही जोडीहरू युरोपियन मुलुक जानका लागि सहमतिमै सम्बन्धविच्छेद गर्छन् । तर उनीहरुको आपसी सम्बन्ध बिग्रिएको हुन्न,’ उनले भने, ‘श्रीमान/श्रीमती दुवैले हामी सम्बन्धविच्छेद गर्न तयार छौँ भनेपछि सहयोग गर्नुप¥यो १ तर, उनीहरुले कानुनीरूपमा मात्रै सम्बन्धविच्छेद गरेका हुन्छन् । यसैबीच जिल्ला अदालत खोटाङमा गत आव २०७८र७९ मा विभिन्न शीर्षकमा तीन सय १९ मुद्दा दर्ता भएको छ । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको एक सय २९ गरी चार सय ४८ मुद्दा हेरिएकामा दुई सय ६९ मुद्दा फछ्र्योट भएको छ भने एक सय ७९ मुद्दा आव २०७९/८० का लागि जिम्मेवारी सारिएको छ । सम्बन्धविच्छेदमा एक सय ८४, अङ्शवण्डामा ३६, अपुतालीसम्बन्धी एक, जग्गासम्बन्धी दुई, लेनदेनसम्बन्धी १६, लिखत बदरसम्बन्धी १३, मानाचामलसम्बन्धी ११, भूमिसम्बन्धी एक मुद्दा दर्ता भएका छन् । यस्तै राज्यविरुद्धको कसुर एक, हातहतियार तथा खरखजना १४, बहुविवाह सात, बालविवाह एक, कर्तव्य ज्यान १३, ज्यान मार्ने उद्योग १२, आत्महत्या दुरुत्साहन एक, जबर्जस्ती करणी १६, हाडनाता करणी ११, जबर्जस्ती करणी उद्योग १०, बाल यौन दुरुपयोगसम्बन्धी आठ मुद्दा परेका छन् । चोरी तथा डाका कसुरमा २३, ठगी दुई, आपराधिक प्रवेश चार, पशुपक्षीसम्बन्धी कसुर पाँच, नागरिकता कसुर एक, लागुऔषधसम्बन्धी कसुर चार, सवारी ज्यान वा अङ्गभङ्ग १६, कुटपिट वा अङ्गभङ्ग, जालसाजी पाँच, लुटपाट एक, गाली बेइज्जतीसम्बन्धी कसुर १६ र चेक अनादरसम्बन्धी चार वटा मुद्दा जिल्ला अदालतको तथ्याङ्कमा उल्लेख छ । आव २०७८/७९ मा अदालतमा दर्ता भएका ६० प्रतिशत मुद्दा फछ्र्योट भएको श्रेस्तेदार यादवले जानकारी दिएका छन् । । रासस ।