धेरैलाई मन पर्ने कर्कलोको सुप कसरी बनाउने ?

काठमाडौं । यतिबेला बारीमा कर्कलो (पिँडालु)को साग कलकल हुने मौसम हो । नेपालको धेरैजसो क्षेत्रमा कर्कलोको साग पाइन्छ । कर्कलोको पात, डाँठ र जरा बाट धेरै प्रकारका परिकार बनाउन सकिन्छ । जस्तैः कर्कलोबाट विभिन्न तरकारी र अचारका विभिन्न परिकार बनाएर खाने खाने गरेको पाइन्छ । कर्कलोमा प्रशस्त मात्रामा भिटामिन र खनिज तत्वहरु पाइन्छ । विशेषगरी कर्कलोमा भिटामिन ए र आइरन लगायत बी समूहका भिटामिनहरु पाइन्छ । त्यस्तै खनिज तत्वहरुमा फोलेट, क्याल्सियम, फोस्फरस र पोटासियम पनि प्रशस्त मात्रामा पाइन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कर्कलोको सुपलाई एउटा परिकारको रुपमा विकास गरेको छ । कर्कलोको पातबाट सजिलो, पोषिलो र कम मूल्यमा आइरन र भिटामिन ए युक्त हरियो सुप जस्तो खाद्य परिकार बनाई खान सकिने विभागले जनाएको छ । कसरी बनाउने कर्कलाेकाे सुप ? कर्कलोको पातलाई केलाएर सफा पानीले राम्ररी पखाल्ने र पखालेको पातलाई मसिनो गरी टुक्रा पार्ने । टुक्रा पारीसकेपछि थोरै पानीमा राखर उसिन्ने र चिसो बनाउने । चिसो भएको कर्कलोलाई मिक्सरमा राखेर पेस्ट बनाउने । कर्न फ्लोर वा मकैको मसिनो पिठोलाई मनतातो पानीमा हालेर फिट्ने । त्यसपछि कर्कलाको पेष्टमा मिसाएर घोल्ने । कर्कलाको पेष्ट र मकैको पिठो मिसायको घोलमा आवश्यकताअनुसार अदुवा, लसुनको पेष्ट, टिमुरको धुलो, नुन र तेल राखेर पकाउने । विस्तारै चलायर राम्ररी पकाउने । पाकीसकेपछि कचौरामा राखेर खाना अगाडि कागतिको रस राखेर चलाएर खाने । यसरी तयार भएको कर्कलोको सुप सबै उमेरका मानिसहरुको लागि उपभोग्य हुने विभागले जनाएको छ । आवश्यक कच्चा पदार्थ कर्कलोको पातको लेदो – ९५ ग्राम कर्न फ्लोर वा मकैको पिठो – ५ ग्राम अदुवाको पेष्ट – २ ग्राम लसुनको पेष्ट – ३ ग्राम टिमुरको धुलो – ०.३० ग्राम जिराको धुलो – १ ग्राम नुन – २ ग्राम भुटेको तोरीको तेल – १० ग्राम पानी – २०० मि.लि. कागतिको रस – १ चिया चम्चा

दृष्टि देखाउने तिलगंगा आँखा शिविरको भित्तेचित्र कथा

काठमाडौं । तिलगंगा आँखा अस्पतालको नाम सबैले सुन्नु नै भएको होला । आँखा सम्बन्धी कुनै समस्या आयो भने तिलगंगा जानु भन्ने साथीभाइ वा नातेदारहरूले सल्लाह दिन्छन् । गाउँमा आँखा शिविर संचालन भइरहेको छ भने सुरुमा तिलगंगा आँखा अस्पताल नै दिमागमा आउँछ । तिलगङ्गाले नेपाली जनता मात्रै होइन, विश्वका कयौं मानिसलाई आँखा देख्ने बनाएर नयाँ जीवन दिएको छ । धेरैले तिलगंगा आँखा प्रतिष्ठानलाई आँखा दिने भगवान मान्छन्, जब लामो समयदेखि दृष्टिविहीन भएकाले संसार देख्छन् ।  मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादवको समस्या आँखाको थियो । दुवैजनालाई आँखा नदेख्ने समस्याका कारण जिन्दगी अधुरो लागेको थियो । जब तिलगंगा आँखा प्रतिष्ठानले गाउँमा आँखा शिविर संचालन गर्याे, तब उनीहरूले स्पष्ट रुपमा बन्द संसारमा रहेका आँखालाई खुला संसार देखे ।  तिलगंगा आँखा अस्पताल परिसरको एउटा भित्तामा मिथिला भित्तेचित्र कोरिएको छ । मिथिला चित्रकारद्वय सिंह र यादवले आफ्नो आँखाको समस्याको कथालाई मिथिला भित्तेचित्रमा प्रस्तुत गरिन् । एउटा दुर्गम गाउँमा आँखाका समस्या भएका धेरै मान्छे हुन्छन् । तिलगंगा आँखा अस्पतालले त्यो दुर्गम गाउँमा आँखा शिविर संचालन गर्छ ।  आँखा शिविरमा मिथिला चित्रकारद्वय राजकुमारी सिंह र अन्जिना यादव पनि सहभागी हुन्छन् । उनीहरू आँखा नदेख्ने भएपछि ठूलो समस्यामा परेका थिए । सिंहलाई मोतिबिन्दु भएर चित्रकला नै कोर्न समस्या हुन्छ । चित्रकार यादवलाई पनि सिंहको जस्तै समस्या हुन्छ । शिविरमा सिंह र यादवलाई काठमाडौं बोलाइन्छ । भित्तेचित्रमा एउटा पाटोमा तिलगङ्गाको परिचय छ । तल प्रतिष्ठानको आँखा अस्पताल छ । अर्काे लेन्स फ्याक्ट्रि छ । चित्रको दाया भागको तल्तिरको कुनामा आँखा बैंक छ । त्यसको ठ्याक्कै अर्काे कुनामा शैक्षिक तथा तालिम केन्द्र छ । चित्रको बीचमा अन्धोपनको रोकथाम र नियन्त्रण गरौं, सर्जी सेन्टर अनुसन्धान विभाग लगायत देखाउन खोजिएको छ ।  भित्तेचित्रको तिलगंगा आँखा प्रतिष्ठानको भवन बाहिर बाह्य कार्यक्रम भनेर देखाइएको छ । त्यो भनेको तिलगङ्गाले ग्रामीण भेगमा आयोजना गर्दै आएको आँखा शिविर हो । झट्ट हेर्दा मिथिला चित्रलाई कसैले पनि बुझ्न सक्दैन । तर, त्यो भित्तेचित्रमा कुनै गाउँमा कसैलाई आँखा नदेख्दा उपचार हुन नसक्दा भएको समस्यालाई स्पष्ट पारिएको छ । तिलगंगा आँखा अस्पतालको शिविरमा सहभागी भएर काठमाडौं पुगेर आँखा देख्न पाउँदाको खुशीको सीमा नरहेको सरल रुपमा भित्तेचित्रमा देखाइएको छ ।  त्यो भित्तेचित्र तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको सम्मानका लागि अष्ट्रेलियाली दुतावासको सहयोगमा कोरिएको हो । ‘दृष्टिको चमत्कारले परिवर्तित जीवनहरू’ शीर्षकको भित्तेचित्र रिलेटीभ नेपाल र सारगी सोसल ईण्टरप्राईजेजले कोरेका हुन् । प्रतिष्ठानको एउटा भित्तामा कोरिएको भित्तेचित्र मंगलबार नेपालका लागि अष्ट्रेलियाका राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गरेकी हुन् ।  प्रतिष्ठानले विगत ३० बर्षदेखि नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रणमा ठूलो योगदान पुर्याएको भन्दै भित्तेचित्र मार्फत सम्मान गरेको हो । उपचार गरेमा धेरै प्रकारका अन्धोपन निवारण गर्न सकिने भाव भित्तेचित्रले देखाएको छ । भित्तेचित्रमार्फत नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीको विश्वमा प्रचारप्रसारमा समेत वृद्धि हुनेछ ।  विश्वव्यापी पहुँचले नेपाली कला संस्कृतिका साथै मिथिला कलाकारलाई सशत्त बनाउने उद्देश्यले यस्ता भित्तेचित्र कोरिन थालिएको हो । भित्तेचित्र मिथिला कलाकृतिबाट बनेको हुँदा यस्ता संस्कृतिलाई जोगाउन अन्य ठाउँमा पनि कोरिने छन् ।  प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले जनकपुरका मिथिला भित्तेचित्रलाई तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गरेको बताइन् । 

को हो काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ?

काठमाडौं । गत शनिबार राजधानीमा भएको एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोर भित्रको गिरोहको कारणले काठमाडौंको फोहोरमैलाको व्यवस्थापन हुन नसेकको वक्तव्य दिए । उनले फोहोरमा ठूलो गिरोह सक्रिय रहेको भन्दै फोहोर व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गएको धारणा राखे । उनले मात्रै होइन निवर्तमान सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले समेत काठमाडौंको फोहोरमैलाको व्यवस्थापनमा अवरोध गर्नेलाई उच्च राजनैतिक तहबाट नै संरक्षण भएको बताउँदै आएकी थिइन् । सिसडोलका वासिन्दाले आफ्ना केही माग राख्नुपर्यो भने फोहोरको ढुवानीमा अवरोध गर्ने गरेको उनको धारणा थियो । यसरी बहालवाला मन्त्रीबाटै उच्च राजनीतिक व्यक्तिकै संरक्षण भएको भनेपछि आम सर्वसाधारणले यस विषयवप्रति चासो देखाएका छन् । को हो फोहोर व्यवस्थापनमा अवरोध गर्ने गिरोह ? सरकारले आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिले आउँदो भदौ १ गतेदेखि फोहोर फाल्न नदिने घोषणा गरेको छ । सो समितिले पत्रकार सम्मेलनमार्फत् आफ्ना मागहरु सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालदेखि विभिन्न सरोकारवाला मन्त्रालयहरुमा ज्ञापनपत्र बुझाउने काम गरेको छ । अहिले पनि विगतदेखि काठमाडौंका विभिन्न ठाउँहरुमा थुप्रिएर रहेका फोहोर उठिसकेको छैन । साथै समयमा नै नियमित रुपमा फोहोर उठ्न नसकेको विषय पनि दोहोरिरहेको छ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा देखिएको समस्यालाई एकले अर्कालाई दोषारोपण गर्ने क्रम रोकिएको छैन । दोषारोपणकै क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबराम श्रेष्ठले फोहोरमैलाको गिरोह भनेर अमुक समूहलाई आरोप लगाएका छन् । ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ, सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौं, फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन, फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ, त्यहाँ भित्रको गिरोहले,’ मन्त्री श्रेष्ठले भनेका थिए । काठमाडौं महानगरपालिका वातावरण तथा कृषि विभागका प्रमुख सरिता राइका अनुसार प्रत्येक वर्षको वर्षायाममा बाटोको कारणले गर्दा फोहोर बिसर्जनमा समस्या हुने गरेको छ । ‘प्रत्येक वर्ष वर्षायाममा बाटो बिग्रने र फोहोरको ढुवानीमा समस्या सिर्जना हुन्छ, साथै यो समयमा फोहोर पनि बढी उत्पादन हुने गर्दछ,’ प्रमुख राइले भनिन् । प्रमुख राइका अनुसारसमस्या प्राकृतिक र मानवीय ढंगले उत्पन्न भएको छ । काठमाडौंको झण्डै ४० प्रतिशत ठाउँबाट महानगरले र अन्य ठाउँबाट निजी क्षेत्रबाट सञ्चालित विभिन्न संस्थाहरुले फोहोर उठाएर बिसर्जन गर्ने स्थलसम्म पुर्याउने गर्छन् । फोहोरको क्षेत्रमा काम गर्ने संस्थाहरुले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध नगरेको प्रमुख राई बताउँछिन् । ‘फोहोरको क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रका संस्थाहरुले पनि फोहोर लैजाने भनेको सरकारले नै तोकेको ठाउँमा हो, उनीहरुले आफ्नो ढंगले फोहोर उठाइरहेका छन्, यदी उठाएनन् भने महानगरले हस्तक्षेप गरेर उठाउँछ,’ प्रमुख राइले भनिन् । फोहोर व्यवस्थापन गर्ने स्थानसम्म पुग्नको लागि बाटो बनाउन, त्यस क्षेत्रमा पूर्वाधारहरुको निर्माण गर्न, लिचेडको सही व्यवस्थापन गर्न र फोहोरको बैज्ञानिक व्यवस्थापन जिम्मेवारी सरकारको रहेको र सो विषय पूरा हुन नसकेको उनको भनाइ छ । ‘काठमाडौं महानगरले नै गिरोह पाल्ने काम गरेको छ’ काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गर्ने निकायलाई काठमाडौं महानगरले वर्षौंदेखि पाल्दै आएको बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट सरोकार समितिका अध्यक्ष श्रीराम ढुंगाना बताउँछन् । मन्त्रीले कुन पक्षलाई किटान गरेर गिरोह भनेको आफुलाई थाहा नभएको तर, आफुहरुलाई भनेको भएपनि कुनै आपत्ति नहुने उनको भनाइ छ । ‘ठिकै छ हामीलाई भनेनी केही आपत्ति छैन, त्यहाँका जनता कोहीपनि बाँच्न पर्दैन भन्ने कसैलाई लाग्छ भने त्यसले त्यही किसिमको प्रचार गर ेहुन्छ,’ उनले भने, ‘यो समस्या हल नगरेको महानगरपालिकाले गर्दा हो, त्यो शक्ति भनेको बस्ने त्यहीँ हो, उनीहरुले भनेको मान्ने भनेको मेयर र उपमेयरले हो, गिरोह बस्ने ठाउँ महानगरपालिका हो, त्यो उनीहरुले नै पालेको हुन्छ ।’ पर्यटनमन्त्री जीबराम श्रेष्ठले फोहोर व्यवस्थापनका काम गरिरहेका निजी क्षेत्रलाई लक्षित गरेर गिरोह नभनेको हुन सक्ने फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष ध्रुब आचार्यले विकासन्युजलाई बताए । उनका अनुसार निजी क्षेत्रले विगत २० वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापको क्षेत्रमा काम गर्दै आएकोले मन्त्रीको सो टिप्पणी आफुहरुलक्षित हुन सक्दैन । ‘कुनै गिरोहले काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेको भन्ने भनाइ सतही बुझाइ भएको उनले बताए । ‘यो सतही बुझाई हो जस्तो लाग्छ, फोहोरको क्षेत्रमा बाहिर सुनिएको जस्तो राजनीति पनि छैन,’ उनले भने । सबै राजनीतिक दलको नेतृत्वमा सरकार बनेको बेलामा पनि पछिल्लो १ वर्षदेखि ल्यान्डफिल्ड साइट पटक–पटक बन्द भएको र फोहोरको ढुवानीमा समस्या देखिएको उनको भनाइ छ । ‘मुख्य कुरा ल्यान्डफिल्ड साइडमा व्यवस्थापकीय कमजोरी हो, स्थानीयहरुको पनि स्वास्थ्य, बाटो, शिक्षा लगायत धेरै कुराको माग रहेको छ,’ उनले भने ‘उठेका मागहरु सम्बोधन गरेको भए अहिले यो समस्या आउने थिएन ।’ अहिले सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो र काठमाडौं त्रिशुली जोड्ने हाइवे बिग्रेको कारणले ढुवानीमा समस्या भएको अध्यक्ष आचार्यको भनाइ छ । अहिले फोहोर व्यवस्थापनमा देखिएको समस्या तिनै तहका सरकारहरु मिलेर समाधान गर्न चाहने हो भने रातारातमै सम्भव हुने आचार्य बताउँछन् ।