पाँच तारे होटल भित्र र बाहिरको दृश्य नियालेपछि…
काठमाडौं । २०७९ भदौ ६ गते सोमबार दिउसो २ बजेको समय । सधैं व्यस्त रहने काठमाडौं बानेश्वरको देब्रे पट्टीको सडक आज भने बन्द थियो । सुरक्षाकर्मीले अगाडि गुडिरहेका सवारी साधनहरुलाई दायाँ पट्टी जान संकेत गर्दै थिए । बानेश्वर चोक नजिकै रहेको पाँच तारे एभेरेष्ट होटलको गेटमै महिलाहरुको जमात थियो । चर्को घाम । त्यही चर्को घाममा चर्को–चर्को आवाज आइरहेको थियो– ‘हामीलाई न्याय दे’, ‘द्वन्द पीडित सुरक्षाकर्मीको परिवारलाई न्याय दे ।’ त्यही आवाजलाई वेवास्ता गर्दै सोही होटलको गेट हुँदै भित्रिँदै थिए महँगा र चिप्ला कार । ती कारहरु थिए एनएमबि बैंकले आयोजना गरेको ‘वुमन इन लिडरसिप’ कार्यक्रमा भाग लिनेहरुको । सोमबार एनएमबि बैंकले एभरेष्ट होटलमा विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता र महिलाहरुको नेतृत्व सम्बन्धि कार्यक्रम गर्यो । सो कार्यक्रममा विभिन्न क्षेत्रमा उच्च ओहोदामा रहेर काम गरेका र गरिरहेका महिलाहरुको सहभागिता थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष भवानी राणा, अनुभवी उद्यमी, पर्यटन व्यवसायी तथा दि द्वारिका होटलकी अध्यक्ष अम्बिका श्रेष्ठ, ग्यालेक्सी फोरके टेलिभिजनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) चारु चड्डा र एनएमबि बैंककी ब्राण्ड एण्ड मार्केटिङ हेड प्रनिशा श्रेष्ठ पेनालिष्टको रुपमा थिए भने पूर्व मिस नेपाल सुगारिका केसी मोडरेटरका रुपमा सहभागी थिइन् । २ बजेका लागि निर्धारण गरिएको कार्यक्रम करिब साढे २ बजे सुरु भएर करिब पाँच बजे सकियो । कार्यक्रममा विभिन्न क्षेत्रमा महिलाको नेतृत्व, महिलाहरुले भोग्दै आएका समस्या, घरदेखि कार्यालयसम्म गर्नु परेको काम र पुरुषहरुले गरेको सहयोग तथा असहयोगका विषयमा पनि घनिभुत रुपमा छलफल भयो । बाहिर पाँचतारे होटल एभरेष्टको गेटमा द्वन्द पीडित सुरक्षाकर्मीका परिवारको हारगुहार थियो । चर्को स्वरको माइको आवाज होटलभित्रको मेघा हलमा पुग्न सकस थियो । द्वन्द पीडित सुरक्षाकर्मीका परिवार भने पनि त्यहाँ अधिकांश महिलाहरु सहभागी थिए । सायद ती सबै महिला द्वन्द पीडित सुरक्षाकर्मीका आमा, श्रीमति, दिदीबहिना वा अन्य आफन्त हुन सक्छन् । होटलको हलमा महिलाको समानता, समावेशिता र समताका कुरा भइरहेका थिए । उनीहरुको गुनासो नेतृत्वको थियो । हामी नेतृत्वमा पुग्न सकेनौं, हामीलाई नेतृत्वमा पुग्न कसैले अवरोध गरे, हामीले चुल्होदेखि चौकोसम्मको काम गर्नु पर्ने बाध्यता छ, ‘वर्किङ स्टेशन’मा काम गर्न सहज वातावरण भएन । यस्ता यस्तै विविध विषयमा छलफल चलिरहेको थियो । करिब डेढ घण्टासम्म भएको सो कार्यक्रमकी मोडरेटर सुगारिका केसीले पेनालिष्टहरुसँग अनेकौं जिज्ञासाहरु तेर्स्याइन् । चारै जना पेनालिष्टले सहज रुपमा प्रतिक्रिया दिए । चारै जनाको धारणा थियो– ‘महिलाहरुलाई नेतृत्वमा पुग्न चुनौति छ, महिलालाई समाजले झ्वाट्टै विश्वास गर्दैन, नेतृत्वमा पुगिहाले पनि विश्वास गर्न समय लाग्छ, महिलाले महिलालाई असहयोग गर्ने परिपाटी पनि छ ।’ कार्यक्रमा एफएनसीसीआईकी पूर्व अध्यक्ष समेत रहेकी भवानी राणाले भनिन्, ‘हुन त मैले निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिसकेँ, त्यसको नेतृत्वमा पुग्नका लागि मैले धेरै संघर्ष गर्नु पर्यो, रातदिन भन्न पाइएन तर राति ढिलो घर गएपछि मेरो श्रीमानले महिला मान्छे यति ढिलो घर किन आएको भनेर प्रश्न गर्नुहुन्छ, गर्नु हुन्थ्यो, तर उहाँ ढिलो आयो भने मैले कहिल्यै प्रश्न गरिनँ, पदले त निजी क्षेत्रको ठूलो संस्थाको नेतृत्व गरेँ, तर घरबाटै ममाथि विश्वास कति हुन्छ भन्ने कुरालाई पनि यो उदाहरणले प्रष्ट गर्छ ।’ उनले थपिन्, ‘पाँच दशकसम्म महासंघको नेतृत्व पुरुषले नै गरे, १५ वर्षको संघर्षपछि म महासंघको अध्यक्ष बनेँ, सोही समय मैले नेपालको ६९ जिल्लामा पुग्ने अवसर पाएँ, त्यतिबेलै नेपाल कस्तो छ ? विभिन्न क्षेत्रमा महिलाको नेतृत्व कस्तो छ ? भन्ने विषय राम्रोसँग बुझेँ, पुरुषहरुको बिचमा एउटा मात्रै महिलाले काम गर्न गाह्रो नै हुन्छ, तर महिलाको क्षमतामा पनि सबै कुरा भर पर्छ ।’ कार्यक्रमा व्यवसायी अम्बिका श्रेष्ठले फरक दृष्टिकोण राखिन् । उनले महिलाहरुलाई नेतृत्व गर्न कसैले नरोकेको धारणा राखिन् । ‘यहाँ नेतृत्वमा पुग्न कसैले कसैलाई रोकेको छैन, आफ्नो क्षमता, योग्यताले व्यक्ति नेतृत्वमा पुग्ने हो तर आफ्नो क्षमतालाई रिअलाइज्ड गर्न सक्नुपर्छ, पुरुषहरुलाई पनि दोष लगाउनु हुँदैन, मैले अहिलेसम्म विभेद महसुस गर्नु परेको छैन,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन् । कार्यक्रमा एनएमबि बैंककी ब्राण्ड एण्ड मार्केटिङ हेड प्रनिशा श्रेष्ठले पहिले महिलाहरुलाई नेतृत्व भन्दा पनि काम काममा लगाउँदा जेन्डरका इस्यू आउने भएपनि अहिले त्यस्तो नभएको धारणा राखिन् । विभिन्न क्षेत्रमा महिला नेतृत्वको अभाव भने अहिले पनि रहेको उनको भनाइ छ । उनले बैंकहरुमा क्षमता र विश्वसनियताको मूल्यांकन पनि भइरहेकोले महिलाहरु विस्तारै नेतृत्वमा पुगिरहेको बताइन् । ग्यालेक्सी फोरकेकी सीईओ चारु चड्डाले महिलाको नेतृत्व विकासको आवश्यकता रहेको बताइन् । पुरुष र महिलाबीचको खाडलको अन्त्य गर्दै एकआपसमा सहकार्य र समन्वय गर्नु पर्ने उनको भनाइ छ । उनले महिलाहरुले पनि ‘माइन्डसेट’ नै परिवर्तन गर्नु पर्ने धारणा राखिन् । होटल भित्रको सभाहलमा विभिन्न क्षेत्रमा महिलाको नेतृत्वको अभाव भइरहेको गुनासो र गरिरहँदा सडकमा भने पीडित सुरक्षाकर्मीहरुका आफन्त महिलाहरु न्यायको गुहारमा थिए । ‘बहादुर सुरक्षाकर्मीको कदर गर’, ‘सम्मानजनक न्याय लिएर छाडौँ’, ‘सत्य निरुपण आयोगबाट धोका भयो’ लगायतका पम्पलेट प्रदर्शन गर्दै उनीहरु न्यायको गुहार गरिरहेका थिए । पाँचतारे होटल भित्रको सभाहलमा पनि महिला थिए । सोही होटलको गेटमा पनि महिला नै थिए । होटलभित्रको महिला सोफामा थिए । उनीहरुको गुनासो नेतृत्वको थियो । गेट बाहिरका महिलाहरु सडकमा चप्पल बिसाएर बसेका थिए । उनीहरुको माग न्यायको थियो । होटल भित्र समानता, समता र समावेशिताको बहस थियो । होटल बाहिर द्वन्द्वमा घाइते भएका अशक्त सुरक्षाकर्मीहरुको उपचारको थियो । सडकमा द्वन्द्वमा मृत्यु भएका श्रीमानको न्यायका लागि एक श्रीमतिले आफ्नो श्रीमानको न्याय मागिरहेकी थिइन् । तर, पाँचतारे होटलमा घरमा सिन्को नभाँच्ने श्रीमान भन्दै आलोचना भइरहेको थियो । कार्यालयमा महिला भएकै कारण पदोन्नी नगरेको हाकिमको टीप्पणी भइरहेको थियो । होटलभित्र सेण्डविच, केक र कफि सहितको भद्र बहस थियो । होटल बाहिर पानी समेत नपाइरहेको धोक्रो आवाजसहितको सम्मानजनक राहतको माग थियो । तर, न होटलभित्रका महिलालाई सडकका महिलाको वास्ता थियो । नत सडकमा बसेका महिलाहरुलाई होटल भित्रका महिलाहरुको विषयमा चासो थियो । अनि हामी कसरी भन्दैछौं, ‘समानता, समता र समावेशितासहितको महिला सहभागिता ?
यौनकर्मीलाई अपराधी व्यवहार नगर्न संसदीय समितिमै माग
फाइल फोटो काठमाडौं । यौनकर्मीहरुलाई अपराधी व्यवहार गर्न नहुने माग संसदीय समितिमा उठेको छ । शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा सहभागी भएर यौनकर्मीहरुको छाता संगठन जागृति महिला महासंघकी प्रतिनिधि मञ्जु अधिकारीले सो माग राखेकी हुुन् । अधिकारीले नेपालमा ५२ हजार भन्दा धेरै महिलाहरु यौन पेशामा सहभागी भएको समेत बताइन् । यौनकर्मीहरुको पक्षमा आवश्यक कानूनको आवश्यकता भएको उनको भनाई थियो । यौन पेशामा अधिकांश एकल महिलाहरुको सहभागिता रहेको उनले विकासन्यूजलाई बताएकी थिइन् । ‘कपिय परिवार वा श्रीमान सहितका महिलाहरुपनि यौनपेशामा सहभागी छन्, तर उनीहरुको संख्या न्यून छ, अधिकारीले भनिन्, कतिपय महिलाहरुलाई श्रीमानले नै यौनपेशामा आवद्ध गराएका छन ।’ बाध्यताले यौनपेशामा लाग्नुपरेकालाई र इच्छाले यौनपेशामा लागेकालाई राज्यले एउटै व्यवहार गरेको उनको भनाई थियो । स्वतन्त्र तवरले यौनपेशामा लाग्नेलाई कसैले रोक्न नहुने धारणा अधिकारीको छ । त्यस्तै एचआइभी तथा एड्स रोग न्यूनिकरण तथा संक्रमितहरुको सुरक्षाका निम्ति पैरवी गर्ने विभिन्न संस्थाहरुले समितिमा उपस्थिति भएर लामो समयदेखि एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) अगाडि बढाउनुपर्ने माग संसदको शिक्षा तथा स्वास्थ्य समितिसमक्ष गरेका छन् । एचआइभी संक्रमित लागेका मानिसहरु र बालबालिकाहरुलाई समाजमा अझै पनि विभेद गर्ने अवस्था रहेको भन्दै यस्तो कुराको अन्त्य हुनुपर्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले समितिसमक्ष माग राखेका थिए । त्यस्तै अल्पसंख्यक तेस्रो लिंगीका मानिसहरुपनि समाजमा अपहेलित रुपमा बाँच्नुपरेको अवस्था रहेको कारण उनीहरुको पहिचान र अधिकारका लागि कानूनको आवश्यकता भएको लैंगिक तथा यौनिक अल्पसंख्यकका प्रतिनिधि खेमबहादुर बमले गुनासो गरेका थिए । समितिमा सांसदहरुले एचआइभी संक्रमितहरुलाई सरकारले शतप्रतिशत औषधी उपचारको व्यवस्था गर्नुपर्ने, मनोवैज्ञानिक उपचारको लागि सहयोग गर्नुपर्ने, एचआइभी संक्रमितहरुलाई दिर्घरोगी सरहको सुविधा उपलब्ध गराउनुपर्ने र संक्रमितहरुलाई वृद्धभत्ता सरह भत्ता सरह भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका थिए । त्यस्तै समितिमा बोल्ने सांसदहरुले एचआइभी र एड्स (उपचार तथा रोकथाम विधेयक ) लाई अगाडि बढाउन आफुहरुले आवश्यक सहयोग गर्ने बताएका थिए ।
हात्तीको आक्रमणबाट ५३ जनाको मृत्यु
झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिए । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को दोस्रो संशोधन २०७० का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ । घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पु¥याएमा १० हजार देखि रु ३० हजार रुपैयाँ सम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ । यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई एक करोड १० लाख ७२ हजार एकसय ९३ रुपैयाँ क्षतिपूर्ति दिइएको पाठक बताउँछन्। यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताए। हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गरे । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् । धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारीले बताए। सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ । रासस