कोका–कोलाले ७ जना नेपालीहरूलाई कतार रंगशालामा विश्वकप हेर्ने मौका प्रदान गर्यो
काठमाडौं । वल्र्डकप २०२२ को लागि कतारमै बसोबास गर्दै आएका ७ जना नेपाली आप्रवासीहरुलाई कोका–कोला नेपालले रंगशालामै प्रत्यक्ष रुपमा वल्र्डकप हेर्ने अवसर प्रदान गरेको छ । आफ्नो परिवारको सुख र खुशीको लागि अवसरको खोजीमा विदेशीएका नेपालीहरुको निःस्वार्थपन र अथक प्रयासको सम्मान स्वरुप कम्पनीले उक्त पहल लिएको कोका–कोला नेपालले जनाएको छ । फुटबल हेर्न रुचाउने भएकोले यसरी रंगशालामै बसेर प्रत्यक्ष रुपमा वल्र्डकप हेर्न पाउनु आफुहरुको लागि जीवनकै यादगार र सुनौलो अवसर भएको र यसको लागि कोका–कोला प्रति आभारी रहेको कुरा व्यक्त गरेका छन् । कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोला धेरै वर्षदेखि फिफा विश्वकपको आधिकारिक प्रायोजक रहेको छ र यस वर्ष हामीले विश्वकपको लागि कतारको रंगशाला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालीहरुको लागि केही गर्न चाहन्थ्यौं ।’ कोका–कोलाले यो भन्दा अगाडि पनि आफ्नो दसैंँ क्याम्पेनमा १४ जना नेपाली आप्रवासी कामदारहरुलाई कतार–नेपाल दुईतर्फी हवाइ टिकटको व्यवस्था गरिदिएको थियो जसले गर्दा उनीहरुले निकै लामो समयको अन्तराल पछि आफ्नो परिवारसँग बसेर दसैंँ तिहार मनाउने अवसर पाएका थिए ।
करिब ३ करोड खर्च भइसकेको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माण अलपत्र
रेसुङ्गा । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । ‘राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो’, ६६ वर्षीय ओमबहादुर भन्छन्, ‘रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ’, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताए । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । ‘सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो’, उनी भन्छन्, ‘बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले’, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए । रासस
भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने
काठमाडौं। स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ सहित आयोजना गरेको ‘स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २०० जना सहभागी हुने भएका छन् । मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए । गायक रामकृष्ण ढकाल सहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको सहभागीता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । मंसिर २२ गते विहान काठमाडाैंमा उद्घाटन गरेर भुजुङकाे यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँकाे हाेमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीकाे मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।