राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी

कीर्तिपुर । उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो । खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए । सुदूरपश्चिमका लागि मिलन बोहोराले छ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव तीन ओभरमा अलआउट हुँदै दुई सय १३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए । नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९/१९ रन बनाए । दीपक बोहोरा ११ रनमा आउट भए । गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ तथा उपविजेताले एक लाख रुपैयाँ पाउने छन् ।

मेस्सीको गोलसँगै अर्जेन्टिनाको विश्वकपको आशा जीवितै

दोहा । शनिबार राति भएको खेलमा मेक्सिकोमाथि २–० को जित निकाल्दै अर्जेन्टिनाको विश्वकप यात्रालाई जीवित राख्न अर्जेन्टिना सफल भएको छ । कतारमा समूह ’सी’ को पहिलो खेलमा साउदी अरबसँग पराजित भएपछि अर्जेन्टिनाले शनिबारको खेल पनि आरेको भए उसको प्रतियोगिताको सम्भावना समाप्त हुनसक्ने थियो । खेलको ६४ औं मिनेटमा २० मिटर टाढाबाट गोल गर्दै अर्जेन्टिनाका लागि गोल गरेका थिए भने एन्जो फर्नान्डिजले दोस्रो गोल थपेका थिए । मेसीले विश्वकप खेलको पहिलो खेलमा भएको हारले कठिन भएको बताउँदै भने, ‘पहिलो खेलमा हामीलाई घाटा भयो । हामीलाई थाहा थियो कि हामीले आज जित्नै पर्छ, हाम्रो लागि अब बल्ल विश्वकप सुरु हुँदैछ ।’ मेक्सिकोले राम्रो खेलेको कारण गोल गर्न निकै कठिन भएको उनको भनाइ थियो । मेस्सीले गरेको गोलले उनले अर्जेन्टिनाका लागि विश्वकपमा आठ गोल र २१ खेलमा उपस्थिति जनाउँदैस्वर्गीय डिएगो म्याराडोनालाई बराबरी गरेका छन् । अर्जेन्टिनाले म्याराडोनाको मृत्युको दोस्रो वार्षिकी मनाएको एक दिनपछि यो जीत निकालेको हो । सात पटकका बालोन डी’ओर विजेता मेसीबाहेक सबैका लागि यो अवसर प्राप्त भएको जस्तो देखिने खराब र तनावपूर्ण भिडन्तमा यी गोलहरू गुणस्तरका दुई दुर्लभ क्षणहरू थिए । तर अर्जेन्टिनाले नकआउट चरणमा स्थान पक्का गर्न अझै पनि समूह चरणको अन्तिम खेल पोल्याण्डविरुद्ध जित्नैपर्ने हुन्छ । मेसीले भने, ‘हामी अहिले छोड्न सक्दैनौं । अब हरेक खेल फाइनल हो, हामी कुनै गल्ती नगरिकन खेल्नेछौँ ।’ रासस

विश्वकप फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । जापान दोस्रो जितको खोजीमा हुनेछ । यसअघि भएको पहिलो खेलमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता कोस्टारिका भने पहिलो जितको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को गोलअन्तरमा पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । उक्त खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गर्दै बेल्जियम विजयी भएको थियो । मोरक्को भने पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो । विश्वकपअन्तर्गत आजै हुने तेस्रो खेलमा क्रोएसिया र क्यानडाबीच भीडन्त हुनेछ । समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो भने क्यानडा बेल्जियमसँग पराजित भएको थियो । त्यस्तै आजै हुने चौथो तथा अन्तिममा खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जितको खोजीमा हुनेछ । तेस्तै स्पेन भने दोस्रो जित हात पार्ने दाउमा हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।