करिब ३ करोड खर्च भइसकेको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको निर्माण अलपत्र

रेसुङ्गा । गुल्मीमा निर्माण गर्न थालिएको लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला विगत तीन वर्षदेखि अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रङ्गशालाको पहिलो चरणको काम विसं २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरु हुन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद्मार्फत ठेक्का भई पहिलो चरणमा माटो काट्ने, भर्ने, पर्खाल निर्माण र दुबो रोप्ने काम दुई करोड ८० लाखमा सम्पन्न भएको निर्माणको जिम्मा पाएको सुनकोसी अभियान जेभी काठमाडौंका इञ्जीनियर पृथ्वीबहादुर शाहीले जानकारी दिए । बुल्मचौरलाई एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइले रङ्गशालाको रूप दिएको छ । दोस्रो चरणमा एक करोड ५० लाख लागतमा भवन, प्यारापिट निर्माण, रङ्गशाला वरपर नाली बनाउने र कार्यालयका लागि छुट्टै भवन बनाउने भने पनि यसको सम्झौता अझै नभएको इञ्जीनियर शाहीले बताए । पहिलो चरणमा गरिएका काम भत्कँदै जाने र दोस्रो चरणको काम समयमै सुरु नहुने कारणले गर्दा रङ्गशाला निर्माण हुने स्थानका स्थानीय बासिन्दा चिन्तित बन्न थालेका छन् । रङ्गशाला बन्ने आशा हराउँदै गएकाले आफूहरूको गौचरन र रातो माटो बिक्री गरेर जीविका चलाउने बाटो पनि हराएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय ओमबहादुर कुमालले तीन वर्षदेखि रङ्गशाला अलपत्र पर्दा पनि कसैको ध्यान नपुगेको बताए । ‘राम्रै चौर थियो गाईभैँसी चराउन भएकै थियो, दशैँमा रातो माटो बेचेर वर्षभरको घर खर्च चल्थ्यो’, ६६ वर्षीय ओमबहादुर भन्छन्, ‘रङ्गशाला बन्दा खुसी भए पनि अहिले काम अघि नबढ्दा दुःखी छौँ’, उनले भने । सोही स्थानका बेदुमाया कुमाल पनि रङ्गशाला नबन्ने पिरलोमा छन् । रङ्गशाला बनेमा घर–घडेरी बिक्री भएर आर्थिक आम्दानी हुने आशा विस्तारै निराशामा परिणत भएको उनले बताए । सोही स्थानका कृष्णबहादुर कुमाल पनि विकास हुनु सबैका लागि राम्रो भए पनि हुँदाहुँदैको चौरलाई रङ्गशालाको नाममा त्यसै छोड्न नहुने बताउँछन् । राज्यको लगानी बालुवामा पानीसरह भएको बुल्मचौरका अर्का स्थानीय रुद्रबहादुर कुमालले बताए । ‘सरकारले लगानी गरेपछि त रेखदेख गर्ने व्यक्ति हुनुपर्ने हो’, उनी भन्छन्, ‘बेवारिसे अवस्थामा रङ्गशाला हुँदा भएको संरचना पनि भत्किन थाले’, उनले भने । रङ्गशाला निर्माण सम्पन्न भइसक्दा रु एक अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको थियो । पन्ध्र हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय रङ्गशाला बन्ने गरी चरण–चरणमा काम सुरु भएको हो । रङ्गशाला बनेमा प्रत्यक्ष लाभ लिने बुल्मचौरका तीन सय २५ घरपरिवार यतिबेला निराश अवस्थामा रहेको इस्मा–६ अम्मरपुरका वडाध्यक्ष ढालबहादुर कुँवरले बताए । यस क्षेत्रमा कुमाल समुदायको बाहुल्यता छ । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख डिल्ली विकले राष्ट्रिय खेलकुद परिषद्मार्फत सिधै ठेक्का भई काम अगाडि बढेकाले आफूहरूले केही गर्न नमिल्ने बताए । आफ्नो मातहतमा नभए पनि समय–समयमा रङ्गशालाको रेखदेख गर्ने गरेको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्ले गाउँपालिकासँग समन्वय नगरीकन रङ्गशालाको काम अगाडि बढाएकाले अहिलेसम्म आफ्नो मातहतमा काम गर्न नमिल्ने गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आफू निर्वाचित भएर आएपछि बुझ्दा अब रङ्गशालामा बजेट नआउने भएकाले रङ्गशाला गाउँपालिकालाई हस्तान्तरण गर्न सम्बन्धित निकायमा माग गरेको पनि अध्यक्ष खड्काले जानकारी दिए । रासस

भुजुङ होमस्टे र हनीहन्टिङ यात्रामा राजेश हमालसहित २०० जना सहभागी हुने

काठमाडौं। स्पार्क ग्रुपले लमजुङको भुजुङ गाउँमा हनी हन्टिङ सहित आयोजना गरेको ‘स्पार्क एड्भेन्चर’ कार्यक्रममा अभिनेता राजेश हमालसहित २०० जना सहभागी हुने भएका छन् ।  मंसिर २२ देखि २४ गतेसम्म आयोजना हुने यस एड्भेन्चरमा अभिनेता हमाल, विपिन कार्की, तिलगंगा अस्पतालका पिताम्बर अधिकारी, पाइलट विजय लामा,रंगकर्मी सुनिल पोखरेल, डाक्टर लोचन कार्की लगायत २०० जना सहभागी हुने स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए । गायक रामकृष्ण ढकाल सहित कार्यक्रममा पत्रकार किशोर नेपाल तथा सञ्चारकर्मी भूषण दाहाल लगायतको  सहभागीता रहने भट्टराईले जानकारी दिए । असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रवर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । मंसिर २२ गते विहान काठमाडाैंमा उद्घाटन गरेर भुजुङकाे यात्रा सुरू हुनेछ । भुजुङ पुगेपछि त्यहाँकाे हाेमस्टेमा बस्ने र भुजुङ गाउँमा साहसिक अफ रोड यात्रा, जंगली मौरीकाे मह काढ्नका लागि पदयात्रा, स्थानीय लोकसाँस्कृतिक कार्यक्रम, बेसीसहरमा रामकृष्ण ढकालसँगै म्युजिकल ककटेल डिनर नाइट यो यात्राको मुख्य आकर्षण रहेको आयोजक समूहले जनाएको छ ।

स्विजरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।