सकियो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ निटफेस्ट २०२२ को दोस्रो संस्करण सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो । । अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने ‘सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु । मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ । ‘ मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने उनले जानकारी दिए । ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो । समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रङ्गकर्मीको सहभागिता रहेको थियो । महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रङ्गमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताइन् । समापनका दिन शनिबार ‘रङ्गमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो । आयोजक मण्डला थिएटरको ‘कुभिण्डोको कथा’को प्रिमियर मञ्चन भएको थियो ।

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारको अहमद विन अली रङ्गशालामा भएको अन्तिम १६ को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २ (१ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सीले खेलको ३५औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औं मिनेटमा जुलियान अल्भारेजको गोलपछि अग्रता दोब्बर भयो । खेलको ७७औं मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै अष्ट्रेलियालाई खेलमा फर्काउने प्रयास गरे पनि पर्याप्त हुन सकेन । प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अर्जेन्टिना दोस्रो टोली बनेको छ । यसअघि आजै भएको अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्सले अमेरिकालाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ ।

यु–१९ क्रिकेट : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौं । मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिवार कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिसँग भेट पक्का गरेको हो । शनिवार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए । अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए । तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ पूरा गरे । यस्तै आकाश त्रिपाठीले २३ रन, विशाल भुषाल र निर्मल गुरुङले समान १३/१३ रन बनाए भने देव खनाल ११ रनमा आउट भए । यस्तै नर सार्की २६ रनमा अविजित रहे । बलिङतर्फ मधेसका लागि निकेश गुप्ता ३ विकेट, अभिषेक तिवारी र नितेश यादवले समान २/२ विकेट लिए । जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब सोमवार हुने फाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । यस्तै लिगको अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गर्दै सुखद् अन्त्य गरेको छ । कर्णालीले दिएको १५२ रनको लक्ष्य कर्णालीले ३ विकेटको क्षतिमा भेटाउन सफल भएको हो । प्रदेश १ का सोनु अनसारीले सर्वाधिक ४५ रन जोड्दा भुपाल दंगला र कप्तान दिपेश कँडेलले ४२ तथा २९ रनको अविजित पारी खेले । प्रदेश १ को ३ विकेट निकाल्दा कर्णालीका युनिस सिंह र मोहन बिकले समान १–१ निकाल्दा एक खेलाडी रन आउट भए । यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ५२ रन बनाउन सक्यो । सुवास ऐरले सर्वाधिक ४७ रन जोड्दा मेहन बिक २९ रनमा अविजित रहे । ओपनर मनिष थापा २६ रन जोड्दा युनिस सिंहले १३ तथा कप्तान विपिन रावलले ११ रनको व्यक्तिगत स्कोर बनाउनु बाहेक अन्यले राम्रो अंक जोड्न सकेनन् । कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कँडेल र अनिस ओझाले ३/३ विकेट लिए । फाइनल खेल सोमवार हुनेछ ।