गोरु जुधाइ : मनोरञ्जनको माध्यमदेखि विजयोत्सवको गाथा
त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटसहित आसपासका जिल्लामा गोरु जुधाउन लागिएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीमा २८ हल, विदुर नगरपालिका–१० रसुवासँगको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाउन लागिएको हो । स्थानीय सरकार (गाँउपालिका)को सहयोगमा स्थानीय क्लब तथा समूहमार्फत जिल्लाको पञ्चकन्या गाउँपालिका–३ पिपलडाँडा, लिखु गाउँपालिका–३ कट्टीछापलगायतका स्थानमा गोरु जुधाई प्रतिस्पर्धा आयोजना गरिएको छ । नुवाकोटसहित यहाँसँग जोडिएका बस्ती धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा सात हल र नीलकण्ठ नपा–१४ धुवाँकोटस्थित भङ्गेरीमा १७ हल गोरु जुधाउन लागिएको छ । केही स्थानमा जुधाउने गोरुको यसअघि नै दर्ता गरेर ‘वान भर्सेज वान’ अनुसार जुधाइन्छ । नेपालको गोरु जुधाइलाई स्पेनको ‘बुल फाइट’सँग तुलना गरेर प्रत्यक्ष अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन यो मेला निकै प्रभावकारी बन्दै आएको जनाउँदै स्थानीय सरकारसहित सङ्घ र प्रदेश सरकार, पर्यटन प्रवद्र्धनको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाको प्रथामिकतामा परेको पर्यटन व्यवसायी तथा जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख एवं हाल तादी गाउँपालिकाको अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी सन्तमान तामाङले बताए । तारुका दुई दिन जुधाइने माघे सङ्क्रान्ति पर्वका अवसरमा तारुकामा आयोजित गोरु जुधाइ ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिमार्फत गर्न लागेको समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष विभिन्न सांस्कृतिक कार्यक्रमसहित गोरु जुधाइलाई महोत्सवका रूपमा आज र भोलि दुई दिन राखिएको छ । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ’, उनले भने, ‘गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराइएको छ ।’ तारुकाको गोरु जुधाइलाई नेपालकै उद्गम थलोका रूपमा लिइन्छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने यहाँका बूढापाकाको भनाइमा गोरु जुधाइलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले जानकारी दिए । गोरु जुधाइलाई अहिले धेरै स्थानमा अनुशरण गरिएको र आधुनिकता दिए पनि तारुकाको गोरु जुधाइमा मौलिकपन कायम राखेर परम्पराको निरन्तरता र माघे सङ्क्रान्ति पर्वको महत्वको गरिमालाई कायम राखेर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ । बेत्रावतीमा नेपाल-भोट सन्धिमा प्राप्त उपलब्धिमा सुरु बेत्रावतीको गोरु जुधाइको इतिहास भने फरक रहेको यहाँ गोरु जुधाउँदै आएको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष सुवास डङ्गोलले बताए । नेपाल र भोटबीच भएको युद्धअन्तर्गत विसं १८४९ मा वेत्रगङ्गा (फलाखु) नदी किनारमा भएको व्यापारिक सन्धिपछि नेपाली पक्षको जितको उत्सवमा गोरु जुधाइ सुरु भएको उनको भनाइ छ । ‘नेपाल–भोट युद्धमा नेपालले के पायो भनेर प्रश्न पनि उठ्छ । तर यहीँ (बेत्रावती)मा भएको सन्धिमा नेपाल–तिब्ब्त मैत्रीपूर्ण सम्बन्ध रहने, उपहार साटासाट गर्ने, नेपालीलाई बाह्य शक्तिले आक्रमण गर्दा चीनले सघाउने, नेपालले लुटेको सम्पत्ति फिर्ता दिने, दुई पक्षबीचको विवादमा चिनियाँ आवासीय मन्त्रीसमक्ष पेस गर्नेलगायत सहमति भएको पाइन्छ’, अध्यक्ष डङ्गोलले भने, ‘नेपाल आक्रमण गर्न यही (बेत्रावती)सम्म आएको चिनियाँ सैनिक फौज फर्केर गएपछि नेपालको सीमा रसुवागढीसम्म कायम भयो । यसलाई यहाँ नेपालको जितको उत्सवमा गोरु जुधाएर विजयीको गाथा गाइएको हो ।’ नुवाकोट रसुवावासीको संयुक्त पहलमा बेत्रावतीमा विसं २०६७ देखि गोसाइँकुण्ड युवा क्लबको पहलमा व्यवस्थितरूपमा गोरु जुधाउन थालिएको क्लबका पूर्वअध्यक्ष सुरज लवटले जानकारी दिए । पञ्चकन्यामा घले राजाको मनोरञ्जन तथा विजयोत्सवमा नुवाकोटको तारुका, बेत्रावतीभन्दा पञ्चकन्यामा गोरु जुधाइने परम्पराको इतिहास फरक छ । यहाँ घले र तामाङ समुदायको बासोबास रहेको स्थानमा गोरु जुधाइको इतिहास घले राजालाई मनोरञ्जन दिनदेखि तत्कालीन घले राज्यमा विजयोत्सव मनाइने गरिएकोसँग जोडिन्छ । पञ्चकन्यामा जुधाइने गोरु बाइसे÷चौबीसे राज्य सञ्चालनको समयमा घले राजाहरूले मनोरञ्जन लिन गोरुलगायतका पशु÷चौपाय जुधाउने गरेको इतिहासलाई निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले जानकारी दिए । यहाँ विसं २०७२ देखि संस्थागतरूपमा गोरु जुधाउन थालिएको हो । गोरुधनी किसानको उल्लेख्य सहभागिता यहाँ जुधाइने गोरुलाई ‘वान भर्सेज वान’का आधारमा नछुट्टिएसम्म जुधाइने गरिएको छ भने विजेता गोरुको धनीलाई नगदसहित प्रशंसापत्रले सम्मान गर्ने गरिएको छ । प्रतिस्पर्धामा गोरु सहभागी गराउन गोरुधनी किसान उत्साहित हुने गरेका छन् भने उनीहरूलाई आकर्षण गर्न आयोजकले जुधाइने गोरुको बीमा, उत्कृष्ट तथा आकर्षण जुधाइलाई थप प्रोत्साहनको समेत व्यवस्था मिलाएको जनाएको छ । ‘खेती गर्नसमेत गोरु पाल्न छाडेका किसानले मकर सङ्क्रान्तिमा प्रतिस्पर्धा गराउनलाई भनेर व्यावसायिकरूपमा गोरु पालेर जुधाउन ल्याउने गरेका छन्,’ तारकेश्वर–३ नुवाकोटका वडाध्यक्ष सूर्यमान श्रेष्ठले भने, ‘उत्कृष्ट गोरुको धनी बन्न किसानले पौष्टिकयुक्त दाना, कुखुराको अण्डा, चना खुवाएर हिमालजस्तो जुरो बनाएर गोरु पाल्ने गरेका छन् ।’ गोरु जुधाइ भिडन्तलाई धार्मिक एवं सांस्कृतिक प्रतिस्पर्धा मात्र नभई पछिल्लो समय खेल पर्यटनको प्रवद्र्धनमा समेत टेवा पुग्दै आएको छ । गोरु जुधाइलाई आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सम्बन्धित पालिकामार्फत आर्थिक सहयोग पुगेको छ भने नेपाल पर्यटन बोर्डले समेत प्रवद्र्धन गर्दै आइरहेको छ । मकर सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको विभिन्न स्थानमा जस्तै नुवाकोटसँग सीमा जोडिएको धादिङको खाल्टे, भङ्गेरीलगायतमा स्थानमा गोरु जुधाइ प्रतिस्पर्धासहित कृषि प्रदर्शनीलगायतका माध्यमबाट परम्परालाई निरन्तरता दिइएको छ ।
‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन
काठमाडौं । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र माघेसङ्क्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको ‘तिम्रो मेरो साथ’ले चितवन प्रिमियरमार्फत सकारात्मक प्रतिक्रिया बटुलेको निर्मातासँगै निर्देशक रहनुभएका रमेश एमके पौडेलले जानकारी दिए । ‘प्रेमकथालाई दर्शकले रूचाए । निर्माताका रूपमा अन्य चलचित्रमा आवद्ध भएपनि निर्देशनमा डेब्यु गर्दा नयाँ अनुभव भइरहेको छ’, उनले भने । सवीर श्रेष्ठको कार्यकारी निर्माण र लेखन रहेको उक्त चलचित्रमा शिव ढकालले छायाङ्कन, सुवाष भुसाल/योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । यस्तै द्वन्द्व निर्देशकका रूपमा दुई दशकदेखि सक्रिय रहेका अष्टमान महर्जनले ‘गुञ्जन’मार्फत चलचित्र निर्देशनमा डेब्यु गरेका छन् । ‘मैले द्वन्द्वप्रधान चलचित्र बनाउँछु अपेक्षा धेरैमा थियो । यद्यपि निर्देशक बन्दै गर्दा मैले राम्रो कथालाई रोजेको हुँ’, उनले भने । हीराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाहीको निर्माणमा बनेको उक्त चलचित्रमा सारा सिर्पाली, कविर खड्का, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, ऋचा थापा, रोहन शाही, निरुता स्याङतान, कञ्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, अमेश न्यौपानेलगायतले अभिनय गरेका छन् । चलचित्र गुञ्जनमा महेश दबाडीको लेखन, राजेश श्रेष्ठको छायाङ्कन, कविराज गहतराजको नृत्य निर्देशन र विपीन मल्लको सम्पादन रहेको छ ।
लुम्बिनीले जित्यो नेपाल टी २० लिगको उपाधि, पायो ५५ लाख
काठमाडौं । पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । विरानगरका लागि अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए भने पृथु बास्कोटाले २३ रन जोडे । त्यस्तै हुसेन तालतले १३ रन बनाए । विराटनगरले १०९ रन समेट्ने क्रममा लुम्बिनीका सागर ढकाल र हरमित सिंहले समान दुई–दुई विकेट लिए भने किशोर महतो र विपुल शर्माले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको लुम्बिनीले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनाएको थियोे । लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४१ रन जोडे भने हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले २० तथा इशान पाण्डेले १६ रन बनाए । विरानगरका नन्दन यादव र राज नाननले समान दुई–दुई विकेट लिए भने सूर्य तामाङ, कप्तान रोहितकुमार पौडेल, हुसेन तालत र किओन जोसेफले समान एक–एक विकेट लिए । प्रतियोगितामा जनकपुर रोयल्स तेस्रो भयो । उसले रु १० लाख पायो । त्यस्तै काठमाडौँ नाइट्स चौथो भयो । काठमाडौँले रु पाँच लाख पायो । यही पुस ९ देखि सुरु भएको प्रतियोगितामा काठमाडौँ नाइट्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स, फार वेस्ट युनाइटेड, विराटनगर सुपर किंग्स र पोखरा एभेन्जर्स गरी ६ टोली सहभागिता रहेको थियो ।