नेपालमै पहिलो अन्तराष्ट्रिय गायन तथा नृत्य रियालिटी शो हुँदै, विजेताले एक करोड पाउने

काठमाडौं । नेपालमा पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको छ । इन्ट्रा नेशनल एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालकै पहिलो अन्तराष्ट्रिय रियालिटी शो मेरो भ्वाईस यूनिभर्स र मेरो डान्स यूनिभर्सको आयोजना हुने भएको हाे । यो शोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउनडेशनको एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने फाउनडेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मेरो भ्वाईस यूनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परिवार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान, जस्ता वरिष्ठ गायकहरु समावेश छन् । त्यस्तै डान्स यूनिभर्सको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई छन् । यि शोहरु एलिन श्रेष्ठले निर्देशन गर्ने भएका छन् । उनले यस अघि राष्ट्रिय तथा अन्तराष्ट्रिय रियालिटी शोहरु निर्देशन गरिसकेका छन् । जस्तै नेपाल आईडल, बूगी—बुगी नेपाल लोक स्टार, सारेगमपा लिल च्याम्पको निर्देशन गरिसकेका छन् । मेरो भ्वाईस यूनिभर्सका विजेताले एक करोड पाउनेछन् । क्रमश दोस्रो हुनेले ३० लाख तेस्रो हुनेले २० लाख पुरस्कार पाउनेछन् । डान्स तर्फ क्रमश एक करोड, ३० लाख, र २० लाख पाउनेछन् । फाउन्डेशनले नेपाल बाहेक म्यानमार, थाईल्याण्ड भुटान, भारत, अष्टेलिया, अमेरिका, क्यानडा, लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेका छन् । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

चलचित्र ‘ह्रस्य दीर्घ’बाट पुनरागमन गर्दै नायिका विपना थापा

काठमाडौं । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । ‘हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ’, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गरेकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी थिइन् । चन्द्र पन्तको निर्देशन रहने चलचित्र ‘ह्स्व दीर्घ’मा कलाकार ब्रह्मानन्दम, प्रदीपरामसिंह रावत, सुनिल कुमारलगायतको समेत अभिनय रहनेछ । ‘विश्वभर प्रदर्शन गर्न लायक बनाउन हामीले केही भारतीय र नेपाली कलाकारलाई साथमा लिएर चलचित्र बनाउँदै छौँ । यसमा भारतीय प्राविधिकसमेत रहनेछन्’, निर्देशक पन्तले भने । रासस

आहा ! रारा पोखरा गोल्डकपको तयारी पूरा, एक विदेशीसहित १० टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । सहारा क्लब पोखराको आयोजनामा यही पुस १४ देखि २३ गतेसम्म सञ्चालन हुने ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । ‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ क्लबको आयोजनामा २२ औँ संस्करणको सो फुटबल प्रतियोगिता पोखरा फुटबल रङ्गशालामा हुनेछ । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष हरिराम (सुरज) गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोट्र्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र सहारा क्लब पोखराको सहभागिता हुनेछ । आयोजक सहाराले यस पटकको संस्करणमा पुरस्कार राशिमा वृद्धि गरेको छ । क्लबका महासचिव रामजीप्रसाद अधिकारीका अनुसार प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्डर र प्रशिक्षकले जनही २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ र हरेक खेलको ‘म्यान अफ द म्याच’ ले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने महासचिव अधिकारीले बताए । प्रतियोगितामा बचत रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । हाल तेस्रो ब्याचको सो एकेडेमीमा १० जिल्लाका १३ बालकले आवासिय रुपमा फुटबल खेल्दै शिक्षा प्राप्त गरिरहेका छन् । सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबका महासचिव अधिकारीले बताए । पुरस्कारको राशि ५० हजार ५ रुपैयाँ रहेको छ । गत वर्षका तुलनामा पुरस्कार राशिमा १५ हजार ५ रुपैयाँ थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसक्नुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।