मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिता हुँदै
काठमाडौं । कराओके इन्टरटेनमेन्टले मिस्टर, मिस र मिसेस नेसनल २०२३ प्रतियोगिताको आयोजना गर्न लागेको छ । राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवालाई सक्षम बनाउन यो कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ । कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए । संस्थाका प्रमुख सल्लाहकार पूर्व एसएसपी दीपक रञ्जितले आफू राष्ट्र निर्माणमा लागेका व्यक्तिहरूको साथमा रहेको बताए । पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफीमा हुन लागेको यो प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा र अन्तिम प्रतिस्पर्धा होटल यलो प्यागोडामा हुने भएको छ । रोजिन शाक्यको ग्रुमिङ्ग सेसन तथा अन्य विज्ञबाट विभिन्न विधाको तालिमपश्चात् अन्तिम प्रतिस्पर्धामा नेपाली र अंग्रेजी भाषामध्ये कुनै भाषाको छनोट गरी निर्णायकका प्रश्नको जवाफ दिनसक्ने प्रावधान राखिएको छ ।
‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन बुटवलमा, विजेताले १ करोड पुरस्कार पाउने
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’ को फिल्ड अडिसन सुरु भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा हुने भएको छ । जसअनुसार बुटवलमा फागुन १० गते हुने तय भएको हो । यस्तै सिलिगुरीमा फागुन १४ र १५ गते दमकमा फागुन २० र २१ गते र काठमाडौँमा फागुन २७ र २८ गते हुनेछ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौँमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्ने नियम बनाइएको छ । त्यस बाहेक मेरो डान्स यूनिभर्सको संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ । डिजिटल अडिसनको अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ बर्षको हुनपर्ने आयोजकले जनाएको छ । ‘मेरो भ्वाइस यूनिभर्सुको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान छन् । साथै मेरो डान्स यूनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार मेरो भ्वाइस यूनिभर्सका विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, मेरो डान्स यूनिभर्सको विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै डान्स यूनिभर्सको सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
नेपाल एपीएफ स्कुलको सेमिफाईनल यात्रा सुनिश्चित
काठमाडौं । सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता अन्तर्गत पहिलो क्वाटर फाईनल खेलमा आयोजक नेपाल एपीएफ स्कुलले सैनिक आवासीय महाविद्यालयलाई १-० गोलले पराजित गरी आफ्नो सेमिफाईनलको यात्रा सुनिश्चित गरेको छ । आज भएको खेलमा नेपाल एपीएफ स्कुलको तर्फबाट डम्बर वि.क.ले १ गोल गरेका थिए । त्यसैगरी आज सम्पन्न दोस्रो क्वाटर फाईनल खेलमा लिटल एन्जल्स स्कुल, लतितपुरले ब्लुम नेपाल स्कुललाई ३-२ को गोल अन्तरले पराजित गर्यो । लिटल एन्जल्स स्कुलको तर्फबाट आयुष माझी, सुमन वि.क. र प्रज्जवल गुरुङ्गले १-१ गोल गरेका थिए भने ब्लुम नेपाल स्कुलको तर्फबाट राजकुमार रावलले २ गोल गरेका थिए । भाेली ९ गते हुने क्वाटर फाईनल चरणका खेलहरुमा ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ब राराहिल मेमोरियल स्कुल, कीर्तिपुर र नेपाल पुलिस स्कुल, साँगा विरुद्ब ब्राईट होराईजन चिल्ड्रेन्स होम, मातातिर्थ खेल्ने अायाेजकले जनाएकाे छ ।