ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौं । फ्रान्न्सको पेरिसमा सन् २०२४ मा आयोजना हुने ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह ‘सी’ को पहिलो चरणको खेल नेपालमा हुने भएको छ । एसिया छनोटको पहिलो चरणअन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा आयोजना हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । समूह ‘सी’ मा प्यालेस्टाइनले नाम फिर्ता लिएपछि अब तीन राष्ट्र नेपाल, अफगानिस्तान र भियतनाम सहभागी हुनेछन् । छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन् । ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन् । ती टोलीलाई सात समूहमा विभाजन गरिएको छ । नेपालले ओलम्पिक तयारीस्वरुप भारतसित दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

इजिप्टको कायरोमा नेपाली मौलिक कला र सांस्कृतिक प्रदर्शनी

काठमाडौं । इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार  आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत-सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुरी तथा बुद्धधर्मको पहिचानसँग  सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवर्द्धनसँगै सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले सहयोग पुर्‍याएका थिए । इजिप्टमा करिब तीन सयको सङ्ख्यामा चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थी अध्ययनरत रहेको दूतावासले जनाएको छ । उक्त प्रदर्शनीमा नेपालसहित इटाली, जापान, मेक्सिको, पाकिस्तान,  ताजकिस्तान, पोर्चुगल, रुस, भियतनाम, स्पेन, श्रीलङ्का, फिलिपिन्स, अष्ट्रेलिया, बोलिभिया, ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, घानालगायत मुलुकका पर्यटन प्रवर्द्धनसम्बन्धी कक्ष राखिएका थिए । त्यहाँस्थित नेपाली राजदूत सुशीलकुमार लम्सालसहित कूटनीतिक तथा स्थानीय कर्मचारीको समेत सहभागिता रहेको उक्त कक्ष र सांस्कृतिक कार्यक्रमको स्थानीय, इजिप्टमा रहेका विदेशी नागरिक तथा विभिन्न देशका कूटनीतिक कर्मचारीलगायतले अवलोकन गरेका दूतावासले जनाएको छ । रासस

त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई सरकारले जनही २ लाख दिने

काठमाडौं ।  सरकारले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही २ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेसँगै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले हालै सम्पन्न नामिबिया र स्कटल्याण्डसँगको त्रिकोणात्मक सिरिज जितेका सम्पूर्ण नेपाली क्रिकेट खेलाडीहरुलाई प्रोत्साहनस्वरुप जनही २ लाख रुपैयाँ दिने घोषणा गरे । त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले ४ वटै खेल जितेर सिरिज क्लिन स्विप गरेको थियो । नेपालले लिग–२ को त्रिकोणात्मक श्रृंखलामा नेपाल पहिलो पटक क्लिन स्विप गरेको थियो । नेपालले श्रृंखलामा नामिबिया र स्कटल्याण्डमाथि २–२ खेलमा विजय हात पारेको हो । यस्तै, नेपालले लगातार चार खेलमा जित निकालेको पनि पहिलो पटक हो । त्रिवि मैदानमा सम्पन्न श्रृंखला अन्तर्गत नेपालले नामिबियालाई दुई र तीन विकेट तथा स्टकल्याण्डलाई तीन र दुई विकेटले पराजित गरेको थियो । स्कटल्याण्डले नामिबियालाई १० विकेट र ४३ रनले हराएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान) ले आज युएई भ्रमणमा जाने टोलीका सदस्यहरुको नाम सार्वजनिक गरेको छ । टिममा क्रिकेटर सन्दीप लामिछाने परेका छैनन् । नेपाली टोलीले युएईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो युएई भ्रमणको शुरुवात गर्नेछ । मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले युएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली युएईसँग खेल्नेछ । युएई भ्रमणमा जाने नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख, प्रतिश जी.सी र श्याम (मौसम) ढकाल रहेका छन् ।