रामपुरका महिलालाई आलु चिप्स बनाउन भ्याइनभ्याई, भन्छन् : गृहिणीलाई यो व्यवसाय राम्रो छ
रामपुर । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ । बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहेका छन् । अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताउँछन् । ‘सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा उद्योग थालिएको छ, यो क्षेत्रमा नयाँ व्यवसाय भएकाले सबैले हौसला दिएका छन्, चिप्सले बजार पाएको छ’, उनले भने । व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ । समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ । समूहमा महिलाहरु मिलेर काम गरेपछि दिन बितेको पत्तो नभएको बताउँछन् देवी अधिकारी । उनी भन्छन्, ‘बिहान–साँझ घरकै कामले व्यस्त भइन्छ, दिउँसो खाली समय चिप्स बनाउन थालेपछि धेरै सदुपयोग भएको छ, हामीजस्ता गृहिणी महिलाका लागि यो व्यवसाय राम्रो रहेछ, प्रशस्त जग्गा छन्, आलु फलाएर चिप्स बनाएर बिक्री गरियो भने अरूको निर्भर रहनु परेन ।’ उत्पादन स्थानीय बजारमा अहिले खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताए । अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित गर्ने, दैनिकजसो उत्पादन हुने हुँदा उपभोक्ताले ताजा चिप्स उपभोग गर्न पाइरहेको गीता अधिकारी बताउँछन् । दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) २०, ३०, ४० र ५० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ । व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताए । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् । चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् । हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकार या विभिन्न निकायसँग सहयोगको अपेक्षा महिला समूहले लिएको छ । महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका छन् । घरकै उत्पादन भएकाले पनि लगानी धेरै गर्नु परेको छैन । अहिलेसम्मको आम्दानी समूहले केही व्यवसायमा लगानी गरेको छ भने केही बचतसमेत गरेको जनाएको छ । कृषिजन्य उत्पादनलाई वडाले प्राथमिकता दिँदै आलु पकेट क्षेत्रका रुपमा रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्दै गएपछि महिलाले व्यावसायिक चिप्स उत्पादनमा आकर्षित भएको वडाध्यक्ष दिवाकर देवकोटा बताउँछन् । समूहभित्रका महिलाबाट उत्पादित ३० क्विन्टल आलुको चिप्स तयार हुन बाँकी नै छ । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुने भएकाले पनि आलु खरिदमा समस्या छैन । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाभित्रका १० वटै वडामा फरक फरक खालको सीपमूलक तालिम सञ्चालन गरिएको बताए । तालिमपश्चात् महिलाले व्यावसायिक रुपमा काम सुरु गरिरेको र अब पुनर्ताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनी बताउँछन् । रामपुरमा उत्पादन भएका सामग्री बिक्री वितरणको व्यवस्थापनका लागि बजार नजिकै एउटा कोसेलीघर तयार पारेर एकै ठाउँबाट बिक्री वितरण गर्ने व्यवस्था गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘तालिम लिइसकेपछि महिलाले उत्साहजनक रुपमा काम गरिरहनुभएको छ’, उनले भने, ‘महिलालाई आयआर्जनको क्षेत्रमा हौसला बढाउने र उत्पादित सामग्रीको बजारीकरणको कार्य नगर सरकारले सहयोग गर्नेछ, यहाँ उत्पादन भएका वस्तु पोखरामा खुलेको पाल्पा हाउसमा लगेर बिक्रीका लागि प्रक्रिया भइरहेको छ ।’ रामपुरको उत्पादनले बजार थेग्न सकिन्छ । स्थानीय उत्पादनलाई रामपुर नगरपालिकाले बजारीकरणको प्रबन्ध गरिदिने भएको छ । रासस
सांस्कृतिक साँझको आयोजना गर्दै ‘खुकुरी एक्स’, प्रवेश शुल्क एक हजार रुपैयाँ
काठमाडौं । खुकुरी एक्स कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा सांस्कृतिक साँझको आयोजना गर्ने भएको छ । खुकुरी एक्सले परम्परागत संस्कृतिलाई लक्षित गर्दै सो साँझको आयोजना गर्ने भएको हो । खुकुरी एक्सले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक महोत्सवको आयोजनाको गर्ने जानकारी दिएको छ । खुकुरी एक्सले यही चैत ३० गते सांस्कृतिक साँझको आयोजना गर्ने खुकुरी एक्स इन्टरटेनमेन्ट इभेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिश थपलियाले जानकारी दिए । उनका अनुसार ३० गते हुने ‘न्यु इयर इभ २०८०’ लाजिम्पाटको मल्ल होटलमा हुँदैछ । सीईओ थपलियाका अनुसार कार्यक्रम बेलुका ५ बजेदेखि राति २ बजेसम्म हुनेछ । यो साँझले पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने विश्वास आयोजक टिमल लिएको छ । खुकुरी एक्स कम्पनीको कार्यक्रममा प्रवेश शुल्क पनि लाग्ने छ । थपलियाका अनुसार प्रवेश शुल्क एक हजार रुपैयाँ छ । त्यसमा नेवारी समुदायको रक्सीको चुस्किको व्यवस्था पनि मिलाइएको छ । ‘न्यु इयर इभ २०८०’ मा लगभग २५ सय मान्छेको उपस्थिति हुने पनि थपलियाले बताए । सो साँझमा ७ वटा विभिन्न नामक ब्यान्डले प्रस्तुति दिने छन् । दिपक बज्राचार्य, परिवर्तन, डान्स, डिजे लगायतको टिमले प्रस्तुति दिने छन् । साथै कालभैरवको पनि नाच रहेको छ । ‘यो साँझ एकदमै रमाइलो हुन्छ, नेपालको परम्परा झल्काउने छ, हामी अङ्ग्रेजी नयाँ वर्षमा जसरी रमाइलो गर्दै आएका छौं, नेपाली नयाँ वर्षमा पनि त्योभन्दा बढी रमाइलो गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरेका हौं,’ उनले भने ।
सर्वाधिक कमाई गर्ने यी हुन् सात नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी चलचित्रको तथ्याङ्क सार्वजनिक गरेको छ । बोर्डका अनुसार २०७९ सालमा मा नेपाली ५२ र विदेशी ८३ गरी १३५ चलचित्र प्रदर्शन भए पनि एक सय ३२ वटा चलचित्रको कमाइ सार्वजनिक गरिएको हो । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार गरेको छ । विदेशीतर्फ कन्नड चलचित्र ‘केजिएफ च्याप्टर २’ले छ लाख ७७ हजार ६ सय ९९ टिकेट बिक्री भएबापत १९ करोड २९ लाख १३ हजार सात सय ५८ रुपैयाँ ग्रस कमाएको छ । नेपाली र विदेशीतर्फ सर्वाधिक कमाई गर्ने यी दुई चलचित्र हुन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा सामान्य फरक भने पर्न सक्ने बक्सअफिस अधिकृत प्रवीण पाण्डेले जानकारी दिए । तथ्याङ्क अनुसार यस वर्षभरमा प्रदर्शन भएका चलचित्र शिवानीको पाँच वटा टिकट मात्रै बिक्री भएका छन् । जसबाट चलचित्रले पाँच सय २० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । ‘सबै चलचित्र भवनमा बक्सअफिसको प्रविधि जडान भए पनि अनुगमनको अभावमा केही हेरफेर हुनसक्छ । केहीले नियतवश पनि गरिरहेका हुन्छन् । तर बोर्डले यसमा अनुमगन बढाएको छ’, अधिकृत पाण्डेले भने, ‘हामीसँग रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेका हौँ ।’ बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक व्यापार गर्ने सात नेपाली चलचित्र यसप्रकार छन् । कबड्डी ४ : द फाइनल म्याच ‘कबड्डी’कै शृङ्खलाका रूपमा अगाडि बढिरहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । बोर्डको विवरणअनुसार चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को सात लाख ६६ हजार सात सय टिकट बिक्री भएबापत २१ करोड ३८ लाख १३ हजार चार सय ६२ रुपैयाँ ग्रस व्यापार गर्न सफल भएको छ । बाँसुरी फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्रमा सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारीलगायतका कलाकारको अभिनय छ । छक्का पञ्जा ४ हास्यकलाकारको समूहले टेलिशृङ्खलामा पाइरहेको लोकप्रियतालाई ठूलोपर्दामा ल्याउन अभिनेता दीपकराज गिरीले ‘६ एकान ६’ मार्फत चलचित्र निर्माण सुरु गरे । त्यसपछि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’ निर्माण गरेको समूह अहिले यसकै शृङ्खलालाई अगाडि बढाइरहेका छन् । गत फागुन १९ देखि प्रदर्शनरत चलचित्र ‘छक्का पञ्जा ४’ ले बोर्डको विवरणअनुसार छ लाख आठ हजार चार सय दुई टिकेट बिक्री भएबापत १६ करोड ९४ लाख ३४ हजार ६ सय ३४ रुपैयाँ ग्रस व्यापार गरेको छ । प्रदर्शनरत भएकाले यसको व्यापार अझै बढ्ने देखिन्छ । राजनीतिक विकृतिलाई प्रस्तुत गरिएको चलचित्रमा पिताको विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी राजालाई खराब स्वभाव र शैलीको नेताका रुपमा चित्रण गरिएको छ । हेमराज विसीले निर्देशन गरेको चलचित्रमा नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकी लगायतको अभिनय छ । प्रेम गीत ३ ‘प्रेम गीत’ को तेस्रो शृङ्खलाका रूपमा प्रदर्शन भएको ‘प्रेम गीत ३’ नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन भएको थियो । सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, सुनिल थापा र शिव श्रेष्ठ लगायतको अभिनय छ । प्रेम कथानक चलचित्रको पहिचान बनाएको शृङ्खलाबाटै अभिनेता खड्का अहिलेको उचाइमा पुगेको हो । चलचित्रले नेपाली भाषामा दुई लाख ६९ हजार सात सय ४४ टिकट बिक्री भएबापत सात करोड ७० लाख ३५ हजार पाँच सय ५८ र हिन्दी भाषामा ८३ हजार एक सय ४४ टिकेट रुपैयाँ बिक्री भएबापत दुई करोड २७ लाख २९ हजार तीन सय ६७ रुपैयाँको ग्रस व्यापार गरेको छ । महापुरुष सर्वाधिक कमाई गर्ने चौथो चलचित्र ‘महापुरुष’ बनेको छ । चलचित्रले दुई लाख ४७ हजार पाँच सय १७ टिकेट बिक्री भएबापत सात करोड ३८ लाख ९० हजार ६ सय ७० रुपैयाँको ग्रस व्यापार गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, नरेश पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा एक्लो जीवन बिताइरहेका अभिभावकको कथा र चाहनालाई देखाइएको छ । षट्कोण आर्ट्स प्रालिको ब्यानारमा निर्मित चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ र निर्माता दीपेश खत्री छन् । दुई नम्बरी दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुई नम्बरी’ सर्वाधिक व्यापार गर्ने चलचित्रको पाँचौँ नम्बरमा छ । चलचित्रको एक लाख ४१ हजार ६ सय ३९ टिकेट बिक्री भएबापत तीन करोड ८४ लाख ७३ हजार पाँच सय २० रुपैयाँको ग्रस कलेक्सन भएको छ । मित्रताको कथामा आधारित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन् । भुटानी अभिनेत्री उगेन छोदेनले ‘दुई नम्बरी’ मार्फत नेपाली चलचित्रमा अभिनयको सुरुआत गरेका थिए । फूलबारी रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा छैटौँ स्थानमा छ । अवकाश प्राप्त शिक्षकको जीवनी देखाइएको चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राईले अभिनय गरेका छन् । चलचित्रले एक लाख २६ हजार एक सय ९० टिकेट बिक्री भएबापत तीन करोड ५२ लाख ८९ हजार चार सय ५९ रुपैयाँको ग्रस व्यापार भएको छ । अभिभावकले सन्तानबाट राख्ने अपेक्षा र सन्तानले भुलेको संस्कारलाई कथा बनाइएको चलचित्रमा किशोर मालपानीको कथा र उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ । झिङ्गेदाउ ज्ञानेन्द्र देउजाले निर्माण तथा निर्देशन गर्नुभएको चलचित्र ‘झिङ्गेदाउ’ सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको सातौँ स्थानमा छ । बोर्डको विवरणअनुसार चलचित्र एक लाख २२ हजार दुई सय ९० टिकेट बिक्री भएबापत तीन करोड ४१ लाख १३ हजार दुई सय २३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, हिउँवाला गौतम लगायतले अभिनय गरेका छन् । स्वर्गीय भीमनिधि तिवारीको सोही नामको कृतिमा आधारित चलचित्र ‘झिङ्गेदाउ’ मा प्राचीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ । देउरानी-जेठानीको सामान्य झगडाबाट परिवारमा आउने आरोहअवरोहलाई प्रस्तुत गरिएको चलचित्रमा आमा र दुई दाजुभाइको भावनात्मक सम्बन्धलाई चित्रण गरिएको छ । रासस