महेश खरेलको उपन्यास ‘यात्रा जिन्दगीको’ लोकार्पण
काठमाडौं । साहित्यकार महेशराज खरेलको पहिलो उपन्यास ‘यात्रा जिन्दगीको’ एक समारोहकाबीच प्रतिनिधिसभाका सभामुख देवराज अधिकारीलगायतले सार्वजनिक गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै सभामुख घिमिरेले खरेलको उपन्यासमा पूर्वी पहाडी जीवन छर्लङ्ग देखिएको बताए । उनले भने, ‘यस उपन्यासमा हामी हुर्किएको समाज, हामीले भोगेको पूर्वी पहाडको जीवन र त्यहाँको परिवेशको यथार्थ चित्रण गरेका छन् ।’ उपन्यास सार्वजनिक उप्रान्त भएको परिचर्चामा पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. फणिन्द्रराज निरौलाले खरेलको उपन्यास प्रगतिधारामा उभिएको बताए । उनले यस कृतिमा खरेलका जीवन भोगाइ प्रस्तुत भएकोले यसलाई उपन्यास भन्ने कि नभन्ने विषयमा शंका रहेको उल्लेख गरे । अर्का समीक्षक डा. रजनी ढकालले उपन्यासको केन्द्रमा उपन्यासकार खरेलकी आमा अयोध्या खरेल रहेको, उनको त्याग, समर्पण र संघर्षका कथाहरू भएको उल्लेख गर्दै कृतिको नाम ‘अयोध्या’ राखेको भए हुने जिकिर गरिन् । नेपाली साहित्यिकवृत्तमा पहिले पनि अनुभवोन्यासहरू आइसकेकाले यसलाई उपन्यास भन्न सकिने उनको तर्क थियो ।शुभकामना मन्तव्य दिँदै प्रा.डा. गोविन्दराज भट्टराईले खरेलको कृतिमा जीवन दर्शन रहेको उल्लेख गरे । त्यस्तै प्रा.डा. यादवप्रकाश लामिछानेले पूर्वी पहाडबाट बसाइ सर्न बाध्य पारिएका परिवारहरूको कथा यसमा रहेको बताए । शब्द संयोजन साहित्यिक मासिक पत्रिकाको आयोजनामा सम्पन्न कार्यक्रममा उपन्यासकार खरेलकी ९१ वर्षीया आमा अध्योध्या खरेल, उपन्यासकार खरेल, कवि वासुदेव अधिकारी, सुमी लोहनीलगायतले बोलेका थिए ।
नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले पायो भारतको तीन अवार्ड
काठमाडौं । नाट्यकर्मी विमल सुवेदीको ‘डिपार्टेड डन’ ले बुधबार भारतको नयाँ दिल्लीमा सम्पन्न १८औँ महिन्द्रा थिएटर एक्सिलेन्सी (मेटा) अवार्डमा तीन अवार्ड जितेको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिने मेटा अवार्डमा चार विधामा मनोनयनमा परेको नाटकले अभिनय, कोरियोग्राफी र सङ्गीतमा अवार्ड जितेको हो । जबर्जस्ती आफ्नो जन्मथलो छाड्न बाध्य भएका नेपाली भाषी भुटानीको अवस्था चित्रण गर्ने नाटक सुवेदीले चलचित्र बनाउने सिलसिलामा तयार गरेको जानकारी दिए । ‘यसलाई मैले हाम्रो जितको रूपमा लिएको छु । यहाँ अब हामीलाई गर्ने विश्वास पक्कै बढ्ने छ’, निर्देशक सुवेदीले भने, ‘हाम्रो नाटक चाँडै नै मुम्बईको पृथ्वी थिएटर र एनीपीएमा मञ्चन हुने भएको छ ।’ भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न विधालाई प्रदान गरिने यो अवार्डमा ‘दि डिपार्टेड डन’ चार सय ९५ बाट छानिएर उत्कृष्ट दशमा परेको थियो । छानिएका नाटक यही चैत ११ देखि १७ गतेसम्म दिल्लीमा मञ्चन भएका थिए । नेपालको थिएटर भिलेज र भारतको अखोका थिएटरको सहकार्यमा तयार भएको नाटकले सन् २०१९ मा सेरेनपिडिटी आर्ट्स ग्रान्ट अवार्ड प्राप्त गरेको थियो । निर्देशक सुवेदीको लेखन तथा निर्देशन रहेको नाटक ‘दि कन्फेसन’ केही दिनअघि मात्र नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)को हलमा मञ्चन भएको थियो । रासस
ओलम्पिक छनोटको खेल नेपालमा हुने
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले प्रतियोगिता नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई नेपाल र भियतनामबीच मात्र प्रतिस्पर्धा हुन लागेको हो । उक्त समूहको विजेता टोली महिला ओलम्पिक फुटबलको दोस्रो चरणमा पुग्नेछ । एशियाली राष्ट्रलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टोली दोस्रो चरणमा पुग्नेछ । नेपालमा आयोजना हुने पहिलो चरणको खेल यही चैत २२ र २५ गते दशरथ रङ्शालामा हुनेछ । खेल हेर्ने दर्शकका लागि साधारण टिकटको मूल्य प्यारापिटतर्फ रु तीन सय र भिआइपी प्यारापिटतर्फ रु एक हजार कायम गरिएको एन्फाले जनाएको छ । उक्त प्रतियोगिताका लागि करिब रु ४३ लाख खर्च लाग्ने आयोजकले जनाएको छ । रासस