क्यानद्धारा आयोजित सबै खेलको टिकट आईएमई पेले बेच्ने, ब्राण्ड एम्बेसडरमा केसी र कामी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन (आईएमई पे) बिच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार आईएमई पे अबको २ वर्षको लागि नेपाल क्रिकेट संघले देश भित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ । सम्झौता लागू भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको विक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ । राजधानी काठमाडौंमा बिहीबार सम्पन्न एक समारोहकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटल सोलुसनका तर्फबाट आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका हुन् । नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले आईएमई पेसँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए । ‘नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको छ । यसै बिचमा आई एम ई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर हो,’ संघका सचिव पारस खड्काले भने । यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताएका छन् । ’आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति उत्साहित रहेको पनि प्रमुख कार्यकारी रेग्मीले बताए । यसैगरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरु मार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ ।

डिशहोममा नयाँ नेपाली फिल्मको मेला, चलचित्र छक्का पञ्जा ४ प्रदर्शनमा

काठमाडौं । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । विभिन्न कारणवस हल सम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोम मार्फत सपरिवार एकै साथ वसेर हेर्न सक्नेछन् । अहिले दिपकराज गिरी, केदार घिमिरे, बुद्धी तामाङ आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र छक्का पञ्जा ४ डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज १९ गते देखि प्रदर्शन भईरहेको कम्पनीले जनाएको छ । प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिशहोम सिनेमाघर को साथै प्लस मुभि र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम विक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाईलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बाेनस संगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पनि पाउन सकिनेछ । ३ महिना अथवा एक हजार रुपैयाँमा वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ बरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सकिने कम्पनीले जनाएको छ । डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्वर ग्राहकको रजिष्टर्ड मोवाईल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।

शारीरिक सुगठनमा जमेका ‘सुनिल’

महेन्द्रनगर । डेढ दशकअघि घरबाट विद्यालय जाँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गोवरियाका सुनिल चन्द कभर्डहल पुगेर जिम गरिरहेको हेर्न खुबै रहर गर्थे । यहाँको राष्ट्रिय बाल विद्यालयमा माध्यमिक तह अध्ययन गर्दा घरबाट हिँडेर विद्यालय पुग्ने चन्द बाटोमा पर्ने कभर्डहल ‘जिम हाउस’ नपुगेको दिन हुन्थेन् । एसएलसी सकेर बिदाको समय कभर्डहल परिसरमा रहेको जिममा प्रशिक्षण थालेका चन्दले एक दशकपछि सुदूरपश्चिमबाटै पहिलोपटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६५ किलो तौल समुहमा काष्य पदक जिते । सुदूरपश्चिममै व्यावसायिकरुपले शारीरिक सुगठनमा लागेका चन्दले राष्ट्रियस्तरमा हुने हरेक प्रतियोगितामा भाग लिनुका साथै रित्तो हात बिरलै फर्किनुपरेको छ । ३२ वर्षीय चन्दले हालै कैलालीको धनगढीमा सम्पन्न प्रथम सुदूरपश्चिम श्री शारीरिक सुगठनको उपाधिसमेत जितेका छन् । ‘स्कुल जाँदा बाटोबाट सधैँ रहरले जिम हेर्थे, पछि गएर अभ्यास नै गर्न थालेँ’, चार महिना भारोत्तलनसमेत खेलेका चन्दले भने, ‘त्यो बेला व्यावसायिक रुपले भन्दा पनि फिटनेसका लागि जिम गर्ने मात्रै थिए ।’ महेन्द्रनगरमा रोयल व्यायामशालासमेत सञ्चालन गरिरहेका चन्दले यहाँ युवाको आर्कषणले थप उत्साह मिलेको बताए । ‘शारीरिक सुगठन स्वास्थ्यसँगै अनुशासन र राम्रो आनाबानीको विकासका लागि निकै सहयोगी छ’, उनले भने, ‘अहिले युवाले यसलाई सकारात्मक रुपमा अङ्गीकार गरेको पाउँछु ।’ उनले नियमित प्रशिक्षण र भोजनको सन्तुलनमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । हाल कञ्चनपुरको महेन्द्रनगरमा चार वटा जिम हाउस सञ्चालनमा छन् । ‘पछिल्लो समय स्वास्थ्यप्रति सचेत भएर फिटनेसमा ध्यान दिनेको जमात बढ्दै छ’, चन्दले भने, ‘शारीरिक सुगठनले ढिलो गरी भए पनि सुदूरपश्चिममा व्यावसायिकता पाउँदैछ ।’ महेन्द्रनगरदेखि स्नातक पढ्न काठमाडौँ पुग्दासम्म चन्दले शारीरिक सुगठनलाई निरन्तरता दिएको बताए । ‘स्नातक सकेर महेन्द्रनगरमै आएर जिम खोले’, उनले भने, ‘जिमको आम्दानीले आफ्नो सामान्य खर्च मात्रै चलेको छ ।’ उनले शारीरिक सुगठनका प्रतियोगितामा भाग लिनुअघि तयारीमा मात्रै लाखौँ रकम खर्च हुने गरेको बताए । डेढ दशकदेखि शारीरिक सुगठनमा सक्रिय चन्दले सन्तुलित आहारामा मात्रै मासिक ६० हजार खर्च हुने गरेको बताए । मिस्टर हिमालयलगायतका थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी हुँदै आएका चन्दले यसमा आबद्ध खेलाडीलाई सङ्गठित गर्न शारीरिक सुगठनको जिल्ला सङ्घ गठनको गृहकार्य गरिरहेको बताए । ‘जिल्ला खेलकुद समितिसित समन्वय गरेर सङ्घ गठनका लागि लागिरहेका छौँ’, उनले भने, ‘विभिन्न कुलतमा युवा लाग्नुभन्दा खेलकुदमा आकर्षित गराउने खालका योजना ल्याउन जरुरी छ ।’ रासस