महोत्तरीका महिला माटो बेचेर दशैं खर्चको जोहो गर्दै

महोत्तरी । दशैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडबाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् । अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो संकलनमा लागेका छन् । मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठअघि माटोले पोतेर रंग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक-फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ’ सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास-३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका-३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ।’ रातो माटो एक बोरा (४० किलो) घर पुर्‍याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउँछिन् । पितृपक्ष सकिएर दसैँ प्रारम्भ भइसकेको छ । गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् । माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही-७ की पारोवती ठाकुरले बताइन् । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने  र ओसार्ने काममा व्यस्तता देखिन्छ । बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भंगाहा-४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन्, ‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ।’ मधेसका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो संकलनको होड चलेको छ । यी समुदायका  महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । भंगाहा-५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्छन्, ‘घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन् ।’ दशैंमा थारु, बाँतर र मुसहर  महिलाको साथसंगतले अन्य जाति समुदायका महिला पनि अहिले माटो संकलनमा लागेका छन् । दशैंअघि माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र स-साना नानीको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने गौशाला-१ रामनगरकी पवनवती महरा बताउँछिन् । मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दशैंमा घर पोत्ने चलन छ। रासस

दसैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि नै देवीको मन्दिरमा पूजा गर्नेको आज पनि घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरमा पूजाआज गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिने गरिँदै आएको छ । यसैगरी चौँथो दिन कुष्माण्डा, पाँचाैँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रिको पूजा गर्ने गरिन्छ । पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता तथा निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुटघण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ । क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न उहाँ अवतरण गरेको श्रीमददेवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । उपत्यकाका नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नरदेवीलगायत मन्दिर रङगीचङगी बत्तीले सजाइएका छन् ।

नेत्रहिन युवा संघ नेपालको १५ बुँदे घोषणा पत्र जारी, सम्मानजनक व्यवहारको ग्यारेन्टी गर्न माग

काठमाडौं । नेत्रहिन युवा संघ नेपालले १५ बुँदे घोषणा पत्र २०८० जारी गरेको छ । संघले सोमबार काठमाडौंमा पत्रकारहरुसँग अन्तर्किया कार्यक्रमको आयोजना गर्दै १५ बुँदे घोषणा पत्र जारी गरेको हो । संघले घोषणा पत्रमार्फत् अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै निति तथा योजना निर्माणमा आफुहरुको सार्थक सहभागीताको सुनिश्चितताको जोडदार माग गरेको छ । सार्वजनिक एवं निजी क्षेत्रका हरेक निकायमा अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरूको समेत पूर्ण र प्रभावकारी ढङ्गले सार्थक प्रतिनिधित्वको अधिकारलाई मुल प्रवाहिकरणको रुपमा स्थापित गर्न संघले जोडदार माग गरेको छ । संघका महासचिव अर्जुन रावलले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै निति तथा योजना निर्माणमा आफुहरुको सार्थक सहभागीताको सुनिश्चितता हुनु पर्ने बताए । उनले समाजमा उपाङ्ता भएका व्यक्तिहरुले भोग्नु परेको व्यवहारको विषयमा जानकारी गराउँदै सरकारले हरेक क्षेत्रमा आफुहरुको सम्मानजनक सहभागिता हुनु पर्ने उनकाे भनाइ छ । यस्तो छ संघको १५ बुँदे घोषणा पत्र ः १‍. सङ्घीय संसद्मा पेश भएको विध्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै विधेयकलाई अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागी अपाङ्गताको क्षेत्रमा कार्यरत् सङ्घसंस्थाहरूसँगको आपसी सहकार्य, कार्यगत एकता र समन्वयमा पैरवी तथा वकालतको कार्यलाई तिव्रताका साथ अगाडी बढाउन यो संस्था पुर्ण प्रतीबद्द छ। २. नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्धनको लागी प्रारम्भिक पहिचान, सहयोग प्रणाली, मुल्याङ्कण प्रणाली, समावेशी सिकाई वातावरण र पहुँचयुक्त शिक्षण सिकाई सामाग्री विकास, प्रवर्धनको लागी तिनै तहका सरकार तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग आवश्यक सहकार्य, समन्वय र पैरवी र वकालतको कार्यलाई अगाडी बढाउन आवश्यक पहलकदमी चाल्न संस्था कटिबद्द छ। ३. विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागी छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता, पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामाग्री विकास र प्रवर्धनको लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग गंभीर छलफलमार्फत निर्णायक निश्कर्ष मा पुग्न वाञ्छनीय वकालत तथा पैरवी गर्न संस्था अग्रसर छ। ४. अपाङ्गता भएका विद्यार्थीको उच्चतम शैक्षिक उपलब्धी हासिल गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक संरचनागत एवं नीतिगत ब्यवस्थाका लागी सरोकारवाला निकायसंग निरन्तर संवाद, वकालत तथा पैरवी गर्नुलाई संस्थाले आफ्नो अपरिहार्य कार्यभार ठान्दछ। ५. दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको छापा अक्षरमा अन्य व्यक्तिसरह पहुँच स्थापित गर्नका निम्ति संसदबाट तत्काल म्याराकस सन्धी Marrakesh Treaty  अनुमोदन गर्न सम्बन्धित जनप्रतिनिधिलगायत सरोकारवाला संग संस्था जोडदार माग गर्दछ। साथै श्रव्य दृश्य एवं डिजिटल माध्यमबाट उपयुक्त अनुकुलताको सिद्दान्तलाई आत्मसात गरी, थप अतिरिक्त बोझ बिना प्रचलीत परम्परागत किसिमको बौद्दिक सम्पती एवं प्रतिलिपी अधिकार सम्बन्धी कानुनी ब्यवस्थालाई सिमित अपवादहरू मार्फत दृष्टी सम्बन्धी अपाङ्गता भएका व्यक्तिको अध्ययनको हक सुनिश्चित गर्ने सन्दर्भमा तय भएको उक्त सन्धी तत्काल अनुमोदनको अपरिहार्यताबारे संस्थाले सबैको गंभीर ध्यानाकर्षण गराउन चहान्छ। ६. सर्वसाधरणका निम्ति खुला गरिएका सम्पुर्ण स्थलहरूमा बिना कुनै बिभेद , पुर्ण र प्रभावकारी ढङ्गले अपाङ्गता भएका व्यक्तिको सहभागीताको हकलाई अक्षुर्ण राख्न सम्बन्धित पक्षसंग संस्था अनुरोध गर्दछ। साथै उपयुक्त अनुकुलताको अस्विकारलाई समेत अपाङ्गता भएका व्यक्तिमाथी गरिने बिभेदको रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनले उल्लेख गरेको सन्दर्भ समेत संस्था सम्बन्धित निकायहरूलाई स्मरण गराउन चहान्छ। ७. अपाङ्गता भएका व्यक्तीहरूको आधारभूत स्वास्थ्य सेवा लगायत यौन तथा प्रजनन् स्वास्थ्य सेवा, शारीरिक, मानसिक र संवेगात्मक स्वस्थताको स्थिति सिर्जना गर्न आवश्यक पहुँचयुक्त सुचना तथा जानकारीको प्रत्याभुत हुने प्रणाली बिकास गर्न तथा अपाङ्गता भएका व्यक्तीहरूको स्वास्थ्यको अधिकार सुनिश्चितता का निम्ति पहुँचयुक्त स्वास्थ्य पूर्वाधार विकास र प्रवर्धन, समावेशी स्वास्थ्य सेवाको प्रवर्धन, पहुँचयुक्त औषधी र स्वास्थ्य उपकरणको विकास र प्रवर्धनलगायतका पक्षहरूमा सरकारी तथा गैरसरकारी निकायहरूसँग सहकार्य गर्न संस्था सम्बन्धित पक्षसंग आह्वान गर्दछ। ८. राजनीतिक सहभागिताबिना अधिकार प्राप्ती र कानुनको कढाइका साथ कार्यान्वयन गराउन सकिदैन भन्ने अवधारणालाई आत्मसात गर्दै पहुँचयुक्त निर्वाचन प्रणालीमार्फत राजनैतिक प्रकृतिका हरेक चुनावमा चुन्ने, चुनिने, र निति तथा योजना निर्माण, कार्यन्वेयन एवं मुल्याङ्कन प्रक्रियामा हस्तक्षपकारी भुमिका निर्वाहसहित अपाङ्गता भएका व्यक्तीहरूको राजनीतिक सहभागिता सुनिश्चितता र अपाङ्गता समावेशी लोकतान्त्रिक अभ्यास प्रवर्धनको लागी क्षमता विकास, सचेतना प्रवर्धन, र सम्बन्धित निकायहरूमा पैरवी तथा वकालतका कार्यहरू स्थानीय तहदेखि नै तिव्रताको साथ अगाडी बढाउन संस्था अठोट गर्दछ। ९. दृष्टीसम्बन्धी अपाङ्गता भएका शिक्षकहरूको पेशागत् वृत्तीविकास तथा अन्य औपचारिक तथा अनौपचारिक क्षेत्रमा आवद्ध दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूको पेशागत् हक, हित र सुरक्षाको लागी क्षमता अभिवृद्धी, नमुना कार्यक्रम विकास र अभिमुखिकरणका गतिविधीहरूलाई आपसी सहकार्य र समन्वयका साथ अगाडी बढाउन आवश्यक कार्यनीति तयार पारी लागु गर्न संस्था सङ्कल्परत छ। १०. अपाङ्गता भएका व्यक्तिहरूले रोजगारीका क्षेत्रमा भोग्नुपरेको बिभेद, बहिष्करण र भिन्नकरणप्रति खेद प्रकट गर्दै, अन्य व्यक्ति सरह पुर्ण र प्रभावकारी ढङ्गमा, पहुँचयुक्त कार्यस्थल र अपाङ्गता समावेशी रोजगार वातावरण को सिर्जना, बिकास र प्रवर्धनमार्फत अपाङ्गता भएका व्यक्तिको रोजगारको अधिकारको सुनिश्चितताका निम्ति संस्था सम्बन्धित पक्षहरूसंग जोडदार माग गर्दछ। साथै, दृष्टीसम्बन्धी अपाङ्गता भएका युवाहरूको रोजगारी सुनिश्चितता तथा स्वरोजगार प्रवर्धनको लागी रोजगार तयारी तालिम ९इल(तजभ(वयद त्चबष्लष्लन०, व्यवसायिक तथा सिपमुलक तालिम, बजार व्यवस्थापन, समावेशी रोजगार सचेतना आदिजस्ता गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गर्न संस्था दृढतापुर्वक प्रयत्नशील छ। ११. अन्तराष्ट्रीयस्तरमा बिकास आविष्कार र प्रवर्धन भइरहेका विभिन्न किसिमका नविनतम पहुँचयुक्त प्रविधीहरूलाई सरल र सुलभ किसिमले नेपालका दृष्टीसम्बन्दी अपाङ्गता भएका युवाहरुले पहुँच हासिल गर्न सक्ने गरी प्रवर्धन गर्नका लागी सम्बन्धित सरोकारवाला निकायहरूसँग आपसी सहकार्य, समन्वय र साझेदारी गरी आवश्यक कामकारवाहि अगाडी बढाउन संस्था सरोकारवालाहरूसंग आह्वान गर्दछ। १२. अपाङ्गता समावेशिकरणको पूर्वसर्तको रूपमा पहुँचयुक्ततालाई अनिवार्य रुपमा आत्मसात गर्दै भौतिक तथा डिजिटल दुनियाँलाई पहुँचयुक्त बनाउनको लागी सचेतना, अभिमुखिकरण, क्षमता विकास र पैरवी वकालतका कार्यलाई अभियानको रूपमा अगाडी बढाउनुलाई संस्थाले आफ्नो आधारभुत जिम्मेवारी ठानेको छ। १३. अपाङ्गता भएका खासगरी दृष्टीसम्बन्धी अपाङ्गता भएका व्यक्तीहरूले सर्वसाधरणका लागी खुला गरिएका बैंकिङ सेवा तथा सुविधा उपभोगका क्रममा खेप्नुपरेको बिभेदकारी अपाङ्गताद्वेषी ब्यबहारप्रति संस्था आपत्ति व्यक्त गर्दछ। अपाङ्गता भएका व्यक्तिहरूको अन्य व्यक्ति सरह समान र पुर्ण प्रभावकारी तवरले सहज र समान बैङ्किङ तथा वित्तीय सेवा तथा सुविधा उपयोगका निम्ति वित्तीय क्षेत्रको पहुँचयुक्तता सुनिश्चितताको लागी आवश्यकता अनुसार, बैंक तथा वित्तीय संघसंस्थाले उल्लङ्घन गरेका प्रावधानसंग सम्बन्धित प्रमाण सङ्कलन, पैरवी तथा वकालत र आवश्यक कानुनी उपचारजस्ता प्रकृयाहरूलाई सशक्त अभियानको रूपमा अगाडी बढाउन संस्था पुर्ण जिम्मेवारीका साथ लाग्न प्रतीबद्द छ। १४. सङ्घीय गणतान्त्रिक शासकीय स्वरूपअनुसार संवैधानिक अधिकार र दायित्वहरू विकेन्द्रिकरण भइरहेको वर्तमान अवस्थालाई हृदयाङ्गम गर्दै जिल्ला तथा प्रादेशिकस्तरमा कृयाशिल नेत्रहिन युवा सङ्घ नेपालका शाखाहरूलाई पालिकास्तरसम्म विस्तार गर्दै समग्र अपाङ्गता आन्दोलनलाई स्थानीय तहदेखि नै प्रभावकारी र सशक्त बनाउन संस्था दृढतापुर्वक अघी बढ्ने योजनामा प्रतीबद्द छ। साथै अपाङ्गता समावेशी विकासको लागी स्थानीयस्तरमा रहेका दृष्टीसम्बन्धी तथा अन्य अपाङ्गता भएका व्यक्तिको अधिकारको वकालत एवं पैरवीको क्षेत्रमा कार्यरत् बिभिन्न संघ संस्थाहरू, यस संस्थाका शाखाहरू एवं तिनका सदस्य तथा पदाधिकारीहरूको ज्ञान, सीप र दक्षताको बिकास , क्षमता अभिवृद्दी एवं नेतृत्व बिकास लगायत सशक्तिकरणका निम्ति आवश्यक वाञ्छनीय कार्यक्रमहरू बिकास तथा सञ्चालन गर्न संस्था प्रतिबद्द छ। १५. अपाङ्गता भएका बालबालिका तथा युवाहरुको खेलकुद तथा मनोरञ्जनको हक सुनिश्चितताका निम्ति विभिन्न किसिमका खेल तथा मनोरञ्जन क्षेत्रहरूमा पहुँचयुक्तता प्रवर्धन, सचेतनामुलक कार्यक्रमको प्रवर्धन्, समावेशी खेलहरूको पहिचान, बिकास र प्रवर्धन एवं मनोरञ्जन क्षेत्रलाई पहुँचयुक्त बनाउनको लागी अनुसन्धान, अभियान र सचेतिकरणका कृयाकलापहरूलाई स्थानीयस्तरदेखि नै अगाडि बढाउनका निम्ति आवश्यक वकालत तथा पैरवीको अगुवाइ गर्न संस्था हरदम तत्पर छ।