पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
पोखरा । पोखरा महानगरपालिका–११ सेती नदीको किनारास्थित रामघाट केही वर्षअघिसम्म गाँजा, चरेसजन्य लागुऔषधको प्रयोग गर्ने दुर्व्यसनीहरूको अखडा जस्तै थियो । नजिकै रहेको गण्डकी अस्पतालबाट बेवारिसे शिशुहरूको शव पनि फाल्ने गरिन्थ्यो । लागुऔषध र फोहोरले कुरुप बनेको उक्त स्थान यतिबेला ड्रागन फ्रुटको बगैँचामा परिणत भएको छ । पुनः समाज पोखराको व्यवस्थापनमा उक्त क्षेत्रमा तीन वर्षअघिदेखि सुरु गरिएको ड्रागन फ्रुट खेतीले यस क्षेत्रको पहिचान नै बदलिदिएको छ भने त्यहाँ उत्पादित ड्रागन फ्रुट बजारमा समेत पुगेको छ । ‘तीन वर्षअघि यहाँ ड्रागन फ्रुटको खेती गर्न सकिन्छ भन्ने विषय धेरैलाई पत्याउर लाग्दैनथ्यो’, समाजका संस्थापक एवम् ड्रागन फ्रुट खेतीका संयोजक राजकुुमारी गर्वुुजा पुनले भने, ‘बगैँचामा लटरम्म फल्न थालेको ड्रागनले यतिबेला सबैलाई खुसी बनाएको छ ।’ उनका अनुसार तीन वर्ष अघिसम्म यो स्थान गाँजा, चरेसजन्य लागुऔषधमा फसेकाहरूको अखडा जस्तै थियो । त्यस्तो स्थानमा समाजका सदस्यको अथक प्रयाससँगै अहिले ड्रागन फ्रुटको सुन्दर बगैँचा बन्दा आफूहरु निकै खुसी बनेको उनको भनाइ छ । विसं २०७७ बाट सुरु भएको ड्रागन फ्रुट १६ महिनादेखि फल्न थालेको बताउँदै उनले उत्पादित फलको बिक्रीका लागि बजारको कुनै समस्या नरहेको जानकारी दिए । पूर्णरुपमा प्राङ्गारिक मलको प्रयोग गरी उत्पादन गरिएको रातो ड्रागन फ्रुटको बजारमा माग राम्रो रहेको उनको भनाइ छ । ‘गरे के हुँदैन भन्ने सन्देश ड्रागन खेतीका माध्यमबाट दिन खोजेका हौँ’, उनले भने, ‘यदि कोही कसैले तालिम लिन खोज्छन् भने पनि हामी निःशुल्क रुपमा तालिम दिन पनि तयार छौँ ।’ सुरुमा कुनै तालिम बिना नै युुट्युुव हेरेकै आधारमा आफूहरूले ड्रागन फ्रुटको खेती थालेको पुन समाजका कोषाध्यक्ष शेरबहादुर पुनले जानकारी गराए । अघिल्लो वर्षमा करिब तीन लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको समाजले यसवर्ष झन्डै रु १० लाखको बिक्री गर्ने लक्ष्य राखेको उनले बताए । ड्रागन फ्रुट खेतीका लागि सुुरुमा ४३ जनाबाट प्रतिव्यक्ति एक लाखका दरले ४३ लाखकै बीउ पुँजीबाट थालिएको बताउँदै उनले हालसम्म करिब ३७ लाख खर्च भएको जानकारी दिए। उनका अनुसार बगैँचामा पाँच सयवटा पिल्लरमा दुुई हजार ड्रागन फ्रुटका बिरुवा रोपिएका छन् । प्रत्येक पिल्लर रु आठ सय ५० मा खरिद गरी व्यवस्थापन गरिएको हो भने भियतनामी ड्रागन फ्रुटका बिरुवा चितवनको गङ्गा श्री बहुउद्देश्यीय फार्मबाट किनेर ल्याइएको हो । समाजले फार्मबाटै प्रतिकेजी रु सात सयमा ड्रागन फ्रुट बिक्री गर्दै आएको समाजका सदस्य खमबहादुुर पुर्जाले जानकारी दिए । ‘हामीले बजार मूल्यभन्दा केही सहुलियतमा ड्रागन फ्रुट बिक्री गरेका छौँ’, उनले भने, ‘विषादीरहित प्राङ्गारिक मलको प्रयोग गरेर फलाइएको हुँदा यो अन्यभन्दा बढी गुणस्तरको भएको हाम्रो दाबी छ ।’ समाजले ड्रागन फ्रुटको बिरुवा पनि बिक्री गर्दै आएको जानकारी दिँदै उनले प्रतिबिरुवा दुई सयमा बिक्री गरिएको बताए । बगैँचाको घाँस व्यवस्थापनसँगै बिरुवाका लागि आवश्यक मलका लागि छवटा पाडा खरिद गरी पालिएको र बगैँचाको नियमित रेखदेख गर्न एक जनालाई प्रत्यक्ष रोजगारी समेत दिइएको समाजले जनाएको छ । स्वास्थ्यका दृष्टिले बहुुपोषणयुक्त ड्रागन फ्रुट बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैका लागि उपयुक्त फल मानिन्छ । समाजको सक्रियतामा गरिएको ड्रन फ्रुट खेती अन्य सबै समाज र समुदायका लागि पनि प्रेरक भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । हाम्रा हरेक समाज एवम् समुदाय उत्पादनसँग जोडिन सके त्यसले आत्मनिर्भरतासँगै रोजगारी सिर्जना गर्ने उनको भनाइ छ। उत्पादन गर्न सके बजारको समस्या नरहेको बताउँदै प्रमुख कडरियाले समाजको सक्रियता प्रशंसनीय रहेको बताए । यो फल दक्षिण अमेरिकाको मेक्सिकोमा फल्ने सिउँडी प्रजातिको रैथाने फल हो । यसको बोट सिउँडीको जस्तै हुन्छ । एसियामा पहिलोपटक भियतनामले भित्र्याएको यो फल थाइल्यान्ड, मलेसिया र इन्डोनेसिया हुँदै पछिल्लो समयमा नेपालीको पनि आकर्षण बन्दै गएको छ । ‘हाइलोसेरुस अन्डटुस’ वैज्ञानिक नाम रहेको यसलाई मुन लभर्स, रात कि रानी, रातकी घण्टी, क्यान्डेलेराआदि नामले पनि चिनिन्छ । नेपालमा पहिलोपटक २०५७ सालमा भित्रिएको मानिने यो फलको पछिल्ला वर्षमा ठाउँठाउँमा व्यासायिक खेती थालिएको छ । बहुऔषधीय गुण रहने यो फल मधुमेह, बाथरोग, क्यान्सर, पेटको समस्या लगायतमा उपयोगी हुने प्रमाणित भइसकेको छ । प्रमुख मात्रामा एन्टिअक्सिडेन्ट, ओमेगा, भिटामिन सी, फलाम र प्रशस्त मात्रामा पानी पाइने यस फलमा छालालाई चाहिने तत्व पाइनाका साथै प्रशस्त फाइबर हुने भएकाले पाचन प्रणालीलाई समेत यसले चुस्तदुरुस्त बनाउनुु यसको विशिष्टता हो । यसमा क्यालसियम पाइने भएकाले दाँत र हड्डी बलियो बनाउँछ । त्यस्तै डेङ्गु, सुगर, मुटुआदि रोगीका साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवतीका लागि उपयोगी हुन्छ । उच्च रक्तचाप र कोलेस्ट्रोरको सन्तुलनका साथै कब्जियत, मोटोपन, क्यान्सरआदिमा यो उपयोगी हुन्छ । नेपालका धेरै स्थानमा यसको खेती गर्न सकिने र यसबाट सर्वसाधारणलाई आयआर्जनसँग जोड्ने पर्याप्त सम्भावना रहेको महाशाखा प्रमुख कडरियाको भनाइ छ । ड्रागनका लागि दक्षिणी मोहडायुक्त, घमाइलो स्थान आवश्यक हुन्छ । यसको बिरुवा एक वा एक वर्षभन्दा बढी उमेरको बिरुवाबाट काटेर निकाल्न सकिन्छ । एकपटक उत्पादन सुरु गरिसकेपछि करिब २५ वर्षसम्म यसको उत्पादन निरन्तर लिन सकिने उनले बताए । रासस
विधागत पत्रकारिता विकासको जग
समाजका घटना र जानकारीको तथ्यपूर्ण प्रस्तुतिका आधारमा समाजको ऐनाका रुपमा पत्रकारिताले काम गर्छ । यसका लागि लुकेका वा लुकाउन खोजिएका सार्वजनिक महत्वका सूचनाहरू प्रस्तुत गर्छ । त्यस्ता सूचना तथ्यपूर्ण, सन्तुलित र विश्वसनीय हुनु पूर्वशर्त हो र त्यस्ता सूचना मात्र सम्प्रेषण गर्नु पत्रकारिताको धर्म हो । समाजमा त्यस्ता सूचनाको शक्तिलाई स्वीकार र सहन नगर्ने संस्कृति पनि नभएको होइन । त्यही संस्कृतिको परिणामका रूपमा कतिपय अवस्थामा पत्रकार तथा सञ्चारमाध्यममाथि भौतिक तथा मानसिक आक्रमण हुने गरेको पाइन्छ । एक महिनाभित्रै करिव एक दर्जनसम्म आक्रमणका घटना त्यस्तै अपसंस्कृतिका परिचायक हुन् । पत्रकारिताले मानव जीवन र जगतका विषयवस्तुलाई समाचार वा विचारका रुपमा समेट्छ, समेट्नुपर्छ । मानवीय चासोभन्दा बाहिर मिडिया छैन, जाँदैन । तर, मानिसको चासोको सीमा असीमित छ । चराचर जगतमा मात्र पनि हैनस समग्र पृथ्वी, ब्रम्हाण्ड र अनन्तसम्मै मानवीय चासो छ । जिज्ञासु मानिसको चासोका दायरा कसैले तोक्न पनि सक्दैन, सीमित परिधिभित्र कसैले रोक्न पनि सक्दैन । मानवीय उत्सुकताको जगमा टिकेको ज्ञानको खोजीसँगै पत्रकारिताको परिधि फैलँदो छ । त्यही जिज्ञासालाई समेट्ने नाममा तथ्यमा नपुगी वा तथ्यलाई तोडमोड गरी वा अर्ध–तथ्य प्रस्तुत गरी सनसनीपूर्ण सामग्री बनाउने र पस्किने काम पनि हुने गरेका छन् । सम्बेदनशील हुनुपर्ने माध्यम नै सनसनीपूर्ण भइदिएपछि परिणाम सधैँ सुखद हुन पनि सक्दैन । त्यस्ता कारणले पनि असहिष्णु मनहरूलाई थप उकासिदिन्छ । अनि, मिडियाकर्मी वा मिडियामाथि भौतिक आक्रमणसमेत भइदिन्छ । जबकि, नितान्त गलत सूचना नै सम्प्रेषण भए पनि त्यसको कानूनी उपचार खोज्ने विधि र प्रक्रिया छ । मानवीय अनन्त चासो र जिज्ञासालाई शान्त पार्न एउटा पत्रकारले कतिसम्म सक्ने भन्ने कुराको कुनै ठोस जवाफ छैन । जीवन, जगत र त्यसभन्दा पनि टाढाका सबै विषयलाई एउटै पत्रकारले बुझ्न र बुझाउन सक्दा पनि सक्दैन । तसर्थ विभिन्न विधामा केन्द्रित भएर अध्ययन गर्ने र त्यसमा दक्षता हासिल गरेर समाचार संकलन गर्ने पत्रकारिताको अभ्यासको विकास भएको हो । जिज्ञासुका चाहनाहरूलाई सकेसम्म समेट्नका लागि नै मिडियाले पत्रकारहरूलाई विभिन्न विधाको कार्यक्षेत्र तोकेर समाचार संकलन, प्रशोधन र सम्प्रेषण गर्ने गरेका हुन् । यही अभ्यास नै विधागत पत्रकारिता हो । त्यस्ता विधामा काम गर्नका लागि थुप्रै पत्रकार कस्सिएर लागेका पनि छन् । भलै तीमध्ये कतिपयको कार्यशैली, कार्यदक्षता, आचरण र अभ्यासका मामिलामा अनेक प्रश्न उठेका छन् । ती प्रश्नको उत्तर पनि अन्ततः तिनै पत्रकारहरूसँग नै छ । पत्रकारिताको थालनीको युगमा समग्र विषयमा एउटै पत्रकारले कलम चलाउँथे । समयको विकाससँगै विधागत पत्रकारिताको अवधारणा पनि विकसित हुँदै आयो । पत्रकारिताको लामो इतिहास भएका मुलुकमा विधागत रिपोर्टिङको चलन पनि विकसित नै छ । बिबिसी, सिएनएनजस्ता मिडियामा वातावरण रिपोर्टिङ गर्ने वातावरणविद्, स्वास्थ्य/जनस्वास्थ्यको लागि चिकित्सक, जलवायु परिवर्तनको रिपोर्टिङ गर्ने विशेषज्ञ आदि देखिएका छन् । खेलाडीहरू खेल पत्रकार भएको उदाहरण त नेपालमै पनि छ । विधागत रिपोर्टिङ वास्तविक अर्थमा आधुनिक पत्रकारिताको शुरुवात हो । सिङ्गो पत्रकारिताकै दक्षता अभिवृद्धि गर्ने उद्देश्यले १९ औं शताब्दीको अन्त्यतिर संयुक्त राज्य अमेरिकामा बीट रिपोर्टिङ् थालनी भएको पाइन्छ । मेलानी म्यागिन र पिटर मौररले ‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’मा उल्लेख गरेअनुसार विधागत पत्रकारिता र समाचार संकलन पत्रकारिताको व्यावसायिकता र तर्कसंगतताका साथै मिडियालाई सामूहिक उत्पादनमा रूपान्तरण गर्ने विषयसँग सम्बन्धित छ । अहिलको चलनचल्तीको भाषामा मूलप्रवाह भनिने मिसमास पत्रकारिताको हालिमुहाली देखिए पनि नेपालमा चाहिँ पत्रकारिताको थालनी नै विधागत पत्रकारिताबाट भएको हो । करीब तीन दशकअघि २०५१ सालमा छापा पत्रकारिता सिकाउनकै लागि ‘पत्रकारिता हाते किताब’ को आवश्यकता महसूस गरेको नेपाली पत्रकारिता आज विधागत अभ्यासमा अघि बढिरहेको छ । जबकि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको करीब १३० वर्षपछि रोपिएको पत्रकारिताको बीउ नै विधागत थियो, त्यो साहित्यिक विधा थियो । अहिलेभन्दा ठीक २५५ वर्षअघि पृथ्वीनारायण शाहले कान्तिपुर राज्यमाथि विजय हासिल गरेको १८२५ असोज १३ गतेदेखि १९५५ साल साउनमा ‘सुधासागर’ प्रकाशित हुँदासम्मको अवधि गणनाका आधारमा १३० वर्ष भनिएको हो । १९४३ सालमा वनारसबाट नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ निकालेको सात वर्षपछि मोतिराम भट्ट नै नेपाल फर्किएर पं। कृष्णदेव पाण्डेसँग मिली प्रेस स्थापना गरेका थिए । काठमाडौं, ठहिटीको त्यही पाशुपत प्रेसमा ‘सुधासागर’ साहित्यिक मासिक छापेर १९५५ साउनबाट नेपाली पत्रकारिताको शुभारम्भ भएको थियो । रोचक पक्ष त के भने १९०८ मा जङ्गबहादुर राणाले हाते प्रेस ९गिद्धे प्रेस० भित्र्याएको ४७ वर्षपछि नेपालबाट पत्रिका प्रकाशन शुरु भयो । तर, मोतीरामले स्थापना गरेको प्रेसमै १९५८ साल जेठ ३ गते पहिलो समाचारपत्रको रुपमा ‘गोर्खापत्र’ साप्ताहिक छापियो । यो हिसाबले अहिले सरकारी माध्यम भए पनि गोरखापत्र जनस्तरको टेकोपुँडोमा निस्केको देखिन्छ । गोरखापत्रको जन्म नेपाली साहित्यिक पत्रकारिताका प्रणेताहरूले तयार पारेको प्राविधिक पूर्वाधारमा भएको गौरव पनि विधागत पत्रकारिताले हासिल गरेको छ । पत्रकारिताकै वीजारोपण गर्ने व्यक्तिको हैसियतले मोतिराम भट्ट ‘नेपाली पत्रकारिताका आदिपुरुष वा संस्थापक’ नै हुन् । भलै उनलाई त्यसरूपमा खुला हृदयले सम्झिने र सम्मान गर्ने परम्पराको विकास हुनसकेको छैन । उनलाई ‘युवाकवि’मा मात्र सीमित गरिएको छ । नेपाली पत्रकारिता जगतको यो कञ्जुस्याइँको कारण अहिलेसम्म सायद कसैले खोजेको पनि छैन । विधागत पत्रकारिताको दृष्टिले हेर्दा राजनीतिक दृष्टिकोणसहितको निजी क्षेत्रको पहिलो समाचारपत्रको इतिहास कायम गर्दै राणा शासनको अन्त्य हुनुभन्दा तीन दिनअघि हृदयचन्द्रसिंह प्रधानको सम्पादकत्वमा निस्केको ‘जागरण’ साप्ताहिक राजनीति–पत्रकारिताको कोसेढुङ्गो हो । वास्तविक पत्रकारिताको विकास नै २००७ सालको राजनैतिक परिवर्तनपछि शुरु भएको मानिए पनि र व्यावसायिक पत्रिकाको प्रारम्भ प्रजातान्त्रिक व्यवस्थाको थालनीसँगै भएको ठानिए पनि त्यसपछि पनि अन्यभन्दा साहित्यिक पत्रकारिता नै बढी फष्टाएको पाइन्छ । यसबाट विधागत पत्रकारितामा साहित्यकारहरूको सक्रियता झल्किन्छ । विसं २००८ देखि २०१३ भित्र व्यापकरूपमा प्रकाशित हुन थालेका विभिन्न खाले पत्रपत्रिकाले त्यतिखेर समग्र पत्रकारिताको लोकप्रियता बढ्दै गएको सङ्केत गर्छन् । तर, त्यस अवधिमा समेत पत्रकारितामा साहित्यिक व्यक्तित्वहरूको रचना र उनीहरूको बाहुल्य रहेको तथ्याङ्क पाइन्छ । यसले पनि नेपाली पत्रकारिताको इतिहासमा साहित्यिक पत्रकारिताको वर्चस्वलाई पुष्टि गर्छ । त्यो भनेको पनि विधागत पत्रकारिताको वर्चस्वकै कुरा हो । विधागत पत्रकारितामा फोटो पत्रकारिताको अस्तित्व र इतिहास पनि खास देखिन्छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते छापेको फोटो–ब्लकबाट नेपाली छापामाध्यममा फोटो देखिन थालेको हो । यसैगरी सम्वाददाता राख्ने इतिहास २००० सालमा राजधानी काठमाडौंमा नगर सम्वाददाता राख्ने चलनबाट शुरु भएको र व्यंग्यचित्र अर्थात कार्टूनको थालनी २०१२ सालपछि भएको ग्रीष्मबहादुर देवकोटाले ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा उल्लेख गरेका छन् । यसैगरी नेपाली पत्रकारितामा महिलाको प्रवेश हस्तक्षेपकारी देखिन्छ । २००८ सालमा कुमारी कामाक्षी र साधना प्रधानद्वारा सम्पादित ‘महिला’ मासिक नेपाली पत्रकारितामा महिला प्रवेशको गौरवपूर्ण इतिहास कायम गर्दै उदाएको थियो । यो महिला बीटलाई नै पत्रकारिताको अभ्यास मान्नेहरूका लागि समेत गौरवको इतिहास हो । प्रजातन्त्रको आठ वर्षे अभ्यासपछिको २०१५ सालको निर्वाचित सरकारले दुई वर्षे उमेर पार गर्दा नगर्दै राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि राजनीतिक स्वतन्त्रतासँगै प्रेस स्वतन्त्रता पनि खोसियो । फलतः पञ्चायती व्यवस्थाभरि पत्रकारिताको विकास अवरुद्ध भयो । अवरोधकै बीच पनि आर्थिक, साहित्यिक, खेलकूद, ग्रामीण, विज्ञान, प्रशासन आदि पत्रकारिताका केही अभ्यास भएको देखिन्छ । नेपाल अधिराज्यको संविधान, २०४७ ले प्रेस स्वतन्त्रता बहाल गरेपछि दैनिक पत्रिका प्रकाशनको लहर चल्यो । त्यसपछि नै विभिन्न विधामा समाचार लेख्ने प्रचलनको प्रयोग पनि व्यापक हुँदै गयो । तर, व्यावसायिक पत्रकारिताको शुरुवातीताका रिपोर्टिङको विधा व्यवस्थित नभइसकेको र राजनीतिक समाचारले बढी प्राथमिकता पाउने गरेको त्यस पुस्ताका पत्रकारहरूलाई हेक्का छ । त्यसताका एउटै बीटमा पत्रकारले लामो समय काम गर्न नपाउने र बेला–बेलामा कार्यक्षेत्र हेरफेर भइरहने हुनाले विशिष्टीकरणको अवसर कमजोर हुनपुग्थ्यो । विशिष्टीकरणको महत्वलाई नै ध्यानमा राखेर प्रेस काउन्सिलमा २०६३ सालमा ‘विधागत पत्रकारिता विकास उपसमिति’ गठन गरिएको पाइन्छ । त्यो उपसमितिले साहित्यिक तथा अन्य विधागत पत्रकारिताको विकास र सम्बद्र्धनका लागि नीति निर्माण गरी समस्या समाधानका लागि पहल गर्ने भनिएको थियो । यद्यपि त्यसपछिका काउन्सिलका गतिविधिहरूले के समस्या थिए र के हल गर्न के पहल ग¥यो भन्ने खासै देखिँदैन । आमसञ्चार विकासको प्रारम्भिक चरणमा छापामाध्यममा सीमित ‘प्रेस’ लाई जसले, जसरी, जुनसुकै मनसुवाले अनेकार्थी, पर्यायवाची शब्द प्रयोग गरे पनि अब छायामा पार्न सहज छैन । अर्थ विस्तारसहितको ‘प्रेस’ शब्द समग्र पत्रकारिता क्षेत्रलाई जनाउने संकेत शब्दको रुपमा स्थापित भइसकेको छ । रेडियो, टेलिभिजन हुँदै अनलाइन प्रविधिसम्म विस्तार हुँदा पत्रकारिता अब रोजगारीको एक माध्यमका रूपमा मात्र सीमित छैन । नयाँ–नयाँ घटनाको संकलन, चयन र सम्प्रेषणको समग्र प्रक्रियाका रुपमा रहेको यो पेशा समसामयिक ज्ञान आदानप्रदान गर्ने व्यवसाय भएको छ । यसको सम्बन्ध समाजका हरेक जीवनसँग गाँसिएको कुरा पत्रकारहरूले नै आत्मसात गरिरहेका छन् । पत्रकारहरूको यस्तो ठहर र रहरले नै पत्रकारितालाई सामाजिक क्रियाकलापका रूपमा समाजबारे समाचार र विचारको प्रसार गर्ने व्यवसायका रुपमा स्थापित गराएको छ । त्यसै क्रममा आमसञ्चारका साधनका लागि आवश्यक कच्चा पदार्थ संकलन, प्रशोधन, उत्पादन, भण्डारण र वितरणका काम यस पेशाअन्तर्गत हुँदै आएको सादृश्य छ । सिसाका टुक्रा जोडेर छापामा दल्नुपर्ने प्रविधिको ठाउँमा कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स– एआई० आइसकेको मात्र हैन, अब त समाचार कक्षमै हाबी भइसकेको छ । यो युगमा मानिसले रुचिअनुरुपका जानकारी पाउने अवस्था झनझन बलियो बन्दैछ । यो सुविधाले परम्परागत पत्रकारिता वा पत्रकारिताका साधनमै मात्र दुनियाँ निर्भर रहनुपर्ने अवस्थाको अन्त्य भएको छ । मिडियामा भूमण्डलीकरणको परिणामस्वरुप नै नेपाली उपभोक्ताले पनि आमसञ्चारका विश्वव्यापी उत्पादनसम्म पहुँच पाएका छन् । यस्तो समयमा एउटै मिडियाबाट सन्तोषजनक रूपमा सबै विषय समेट्न सम्भव छैन । साथसाथै कुनै विधा विशेषमा केन्द्रित रहेर पत्रकारिता गर्ने सञ्चारमाध्यमलाई पनि अरुभन्दा छिटो र पृथक स्वाद पस्कनुपर्ने बाध्यता बढ्दै गएको अनुभव पत्रकारहरूले गरिरहेका छन् । यो नेपालको मात्र नभएर दुनियाँकै पत्रकारिताको अनुभवको एक अंश हो । यसरी साहित्यको जगमा विधागत अभ्यास र त्यसको जगमा मिसमास पत्रकारिता गर्दै आजको युगमा आइपुगेको नेपाली पत्रकारिताको अबको दशा र दिशा सुधार्न भने पत्रकारहरूले मात्र गर्ने चिन्ता पर्याप्त छैन । बरु यसमा पूँजी लगानीकर्ता, विभिन्न प्रकारका श्रम लगानीकर्ता, सरकार, आमसञ्चार विज्ञलगायतका सबै सरोकारवालाहरूले सक्रिय चासो देखाउनु जरुरी छ । रासस (लेखक पत्रकार हुनुहुन्छ)
नेपालले भोलि भारतसँग खेल्दै, यस कारण जित्न सक्छ नेपाल
काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । चीनमा जारी १९ औँ एसियाली खेलकुदको क्वाटरफाइलमा नेपालले भारतसँग खेल्ने भएको हो । सोमबार भएको लक्की ड्रबाट नेपाल क्वाटरफाइनलमा भारतसँग भिड्ने पक्का भएको हो । नेपाल र भारतबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान हुनेछ । नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो । पछिल्लो समय नेपाली टिमको आत्मविश्वास उच्च छ । केही दिनअघि मात्र नेपालले भारतको सिनियर टिमविरुद्ध ब्याटिङमा राम्रो प्रदर्शन गरेको थियो । यस्तै, नेपालले जारी एसियन गेम्सको समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन ग¥यो । समूह चरणमा नेपालले मंगोलियालाई २७३ तथा माल्दिभ्सलाई १ सय ३८ रनले हराएको थियो । भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् । त्यसैले पनि नेपालले खेल आफ्नो पक्षमा पार्न सक्ने ठूलो सम्भावना छ ।