विश्वकप छनोट : नेपाल र यमन भिड्दै

काठमाडौं । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (युएई)  विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताए । नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो ।

दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी)का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको छ । गत दसैँमा जस्तै दर्शक नेपाली चलचित्र हेर्न आउनुभयो, तिहारमा पनि त्यही देखिएको छ”, वितरक श्रेष्ठले भने । दसैँ लक्षित गर्दै चलचित्र भवनमा प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ः भष्मे डन’ र ‘परदेशी २’ ले बक्सअफिसमा पनि राम्रो व्यापार गरेको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शन गरिएको चलचित्र ‘दिमाग खराब’ ले पनि राम्रो व्यापार गरिरहेको छ । चलचित्र भवनसँगै ओटिटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरियो । नेपालमा युट्युब, डिसहोम, सिनेमा घर, भिडियो पसललगायत एप्लिकेसनमार्फत केही प्रतिक्षित चलचित्र दर्शकमाझ ल्याइयो । सिनेमा घर एपमार्फत चलचित्र ‘जारी’ प्रदर्शन गरियो । डिस होममार्फत ‘शत्रु गते’, ‘छक्का पञ्जा ४’, ‘माइकल अधिकारी’, ‘पासो’, ‘कृष्ण लिला’, ‘प्रेम गीत ३’, ‘चिसो मान्छे’ र ‘झिँगेदाउ’ प्रदर्शन गरियो । यस्तै, ‘कान्तिपुर सिनेमाज’ मार्फत चलचित्रतर्फ ‘ज्याकी ः आइएम ट्वान्टी वान’, ‘जुलेबी’ र ‘म’, ‘ची मुसी ची’, शृङ्खलातर्फ ‘मिस स्कार्लेट’, ‘लभ सूत्र’ र ‘ब्रह्माण्ड’, छोटो चलचित्रतर्फ ‘मदर’, ‘खरानी, ‘ऋतु’ र ‘नेपाली फिक्सन’ प्रदर्शन गरिएको छ । यसका सञ्चालक प्रकाश पुरीले दर्शकको सङख्या राम्रो देखिएको जानकारी दिए । “हामी दर्शकको अपेक्षाअनुसार कन्टेन ल्याउने छौँ । त्यही तयारीअनुसार सुरु गरेका छौँ”, सञ्चालक पुरीले भने । दसैँ तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनाका साथै घरमै चलचित्र हेर्ने दर्शकको सङ्ख्या बढ्ने गरेको छ । त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पु¥याउन निर्माता उत्साहित देखिने गरेका छन् । रासस

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेट

काठमाडौं । भारतलाई पराजित गर्दै अष्ट्रेलियाले आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पारेको छ । आइतबार भारतमा भएको खेलमा अष्ट्रलेलियाले भारतलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो । भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा २४१ रन बनाएर जित हात पारेको हो । आइसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ओपनिङ ब्याट्सम्यान त्रविस हेडले शतक पूरा गरे । यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।