जाजरकोट भूकम्प : सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने
जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ। सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्याएको छ। भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जाजरकोटमा ३३, रुकुमपश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालीकोटमा दुई वटा प्रहरी भवनमा क्षति पुगेको प्रमुख ढकालले जानकारी दिए। जाजरकोटका जिल्ला प्रहरी प्रहरी कार्यालयको चार वटा भवन भत्किएका छन्। बाह्र वटा इलाका प्रहरी कार्यालय, १० वटा प्रहरीचौकी, अस्थायी प्रहरी पोष्ट छ वटा, जिल्ला ट्राफिक कार्यालय एक वटा गरी जम्मा ३३ वटा भत्किएको ढकालले बताए। रुकुम पश्चिममा जिल्ला प्रहरी कार्यालयमा एक वटा, इलाका प्रहरी कार्यालय दुई वटा, प्रहरीचौकी चार वटा, अस्थायी प्रहरी पोष्टमा पाँच वटा गरी जम्मा १२ वटा भत्किएका छन्। त्यस्तै सल्यानमा इलाका प्रहरी कार्यालय तीन वटा भत्किएका छन्। जुम्लामा जिल्ला प्रहरी कार्यालय एक, इलाका प्रहरी कार्यालय एक र प्रहरीचौकी दुई गरी जम्मा चार वटा भत्किएको प्रहरीको भनाइ छ । कालीकोटमा जिल्ला प्रहरी कार्यालय एक र प्रहरीचौकी एक गरी जम्मा दुई वटा भत्किएका छन्। कर्णालीभरिमा तीन सयभन्दा बढी विद्यालय भत्किएको पाइएको छ । संघ र प्रदेश सरकारका प्राविधिक विद्यालयको अवस्थाका बारेमा बुझ्न पालिकामा गएका कारण हप्ता दिनपछि मात्र खास तथ्यांक आउने सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वार खत्रीले जानकारी दिए । स्वास्थ्य संस्थाको तथ्यांकसमेत अझैँ यकीन हुन सकेको छैन । स्थानीय तह र प्रदेश सरकारले तयार गरेको तथ्यांक फरक परेपछि समस्य भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अझै यकीन तथ्यांक पाउन सकेको छैन । खानेपानी, सिँचाइतर्फ पनि कति क्षति भएको हो अझै यकीन भएको छैन । प्रदेश सरकारले १० करोड रूपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गरेको छ भने एक अर्ब रूपैयाँ पुनःनिर्माणका लागि छुट्याएको छ । रासस
आलु र कोदो बेचेर आम्दानी गर्दै ग्रामीण महिला
म्याग्दी । यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् । मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो । वैदेशिक रोजगार, सहर केन्द्रित बसाइँसराइ र अध्ययन वा व्यापाररव्यवसायलगायत कारणले गाउँ बस्ती युवाविहीन बन्दै गएपछि यहाँको सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्र महिलाकै कारण धानिएको मालिका गाउँपालिका–६ दरबाङका बुद्धिजीवी एवं पूर्वजनप्रतिनिधि सन्तोष सुवेदीले बताए । ‘पछिल्लो समय ग्रामीण क्षेत्रका महिला स्वरोजगारतर्फउन्मुख हुँदै गएका छन् । कुनै सीप, इलम वा व्यवसाय नगरिकन गाउँमा महिला त्यसै बसेका भेटिँदैनन्,’ उनले भने, ‘यस क्षेत्रका महिला विशेष गरी व्यावसायिक कृषिमा रमाउन थालेका छन् । आलुखेती र कोदोबाट मनग्य आम्दानी हुने भएपछि यही खेतीमा उनीहरूको रस बसेको छ ।’ पश्चिम म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु स्वादिष्ट र पोषिलो हुने भएकाले यहाँ उत्पादित आलुलाई बजारको अभाव छैन । मालिका–२ रुमकी टीकाकुमारी विकले यस वर्ष आलु (बर्खेआलु) बिक्री गरेर ३२ हजार रुपैयाँ आम्दानी भएको बताइन् । विगतका वर्षमा बाँझै छोडिएको बारीमा अहिले आलुसँगै कोदोखेती गरिरहेको उनले बताइन् । ‘चार वर्ष बाँझिएको जग्गालाई खनजोत गरी मल हालेर ४ हजार रुपैयाँ खर्च गरी कोदो रोपेको छु । यहाँबाट सात मुरी कोदो उत्पादन भएको छ,’ विकले भनिन्, ‘कोदोका लागि अहिलेदेखि नै सहर बजारबाट माग भइरहेको छ । भकारीमा नथन्क्याउँदै खरिदका लागि ग्राहक आएका छन् ।’ ओखरबोट र देविस्थानमा पनि पछिल्लो समय आलु र कोदो खेती विस्तार भएको छ । गत वर्ष चार मुरी कोदो र आलु बिक्री गरेर २२ हजार रुपैयाँ आम्दानी गरेकी मालिका–५ की सुकमती बुढाले यस वर्ष आलुबाट मात्रै १७ हजार रुपैयाँभन्दा बढी आम्दानी भएको जानकारी दिइन् । उनका अनुसार उत्पादित आलु प्रतिपाथी १ सय ५० देखि २ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । मालिका गाउँपालिकाका सातवटै वडामा व्यावसायिकरूपमा आलुखेती गरिएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । एकल र समूहगतरूपमा यहाँका महिलाले आलुखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका दरबाङका टीकाबहादुर सिउथानीले बताए । उनका अनुसार आलुसँगै पछिल्लो सयम यहाँका महिला कोदो उत्पादनतर्फ पनि आकर्षित भएका छन् । सहरबजारबाट कोदोको माग आउन थालेपछि वर्षौंदेखि बाँझो रहेको जग्गामा खेती विस्तार गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगरले बताइन् । ‘कोदो घरेलु मदिरा उत्पादन र सहरबजारमा खानाका लागि प्रयोग हुँदै आएको छ । पछिल्लो समय कोदोको माग अत्यधिक हुन थालेपछि यहाँका किसानले भनेको मूल्य पाएका छन्,’ उनले भनिन्, ‘पालिकाले पनि कोदो खेतीलाई प्रोत्साहित गरेको छ । कोदोबाट बनेको मदिरालाई ब्राण्डिङ गरी बजारीकरणका लागि पनि छलफल भइरहेको छ ।’ आफूले उत्पादन गरेको कृषिउपजले बजार पाएपछि यहाँका किसान खुसी भएका मालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । महिला आम्दानीसँग जोडिएपछि गाउँको आर्थिक अवस्था पनि सबल बन्दै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । साथै, स्थानीय महिलाले वन पैदावरबाट पनि मनग्य लाभ लिँदै आइरहेका वडाध्यक्ष पुनले बताए । उनका अनुसार वनमा पाइने रातो च्याउ, जङ्गली फलफूललगायतका वनस्पतीबाट पनि यहाँका महिला आम्दानी गर्दै आइरहेका छन् । रासस
शाहरुखको सबैभन्दा कम बजेटको फिल्म ‘डंकी’
एजेन्सी । बलिउडका सन् २०२३ मा पठान र जवानपछि शाहरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुने तयारीमा छ । जसको पहिलो गीत ‘लुटपुट गया’ हालै रिलिज भएको थियो । फ्यानहरूले यसलाई ब्लकबस्टर भनेका छन् । तर, के तपाईलाई थाहा छ डंकी जवान र पठान जस्तो उच्च बजेटको फिल्म होइन । बरु, यो शाहरुख खानको ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म हो, जसले रिलिजअघि नै कीर्तिमान बनाएको छ । शाहरुख खान स्टारर डंकी, जसमा तापसी पन्नु र विक्की कौशल महत्वपूर्ण भूमिकामा छन् । यो फिल्मको बजेट ८५ करोड भारु रहेको बताइएको छ । वास्तवमा पिंकभिल्लाको रिपोर्टका अनुसार यो शाहरुख खानको पछिल्लो ६ वर्षमा सबैभन्दा कम बजेटको फिल्म बनेको छ । जहाँ ‘जब ह्यारी मेट सेजल’ ९० करोडको बजेटमा बनेको थियो । त्यस्तै ‘रईस’ ९०–९५ करोडमा बनेको थियो । बाँकी ‘जीरो’ २ सय करोड, ‘पठान’ २ सय ४० करोड र ‘जवान’ ३ सय करोडको ठूलो बजेटमा बनेको थियो । तर, डकीकों ८५ करोडको बजेटमा कलाकारको शुल्क भने समावेश गरिएको छैन । एक मिडिया रिपोर्टका अनुसार फिल्मका निर्देशक राजकुमार हिरानीले ७५ दिनमा फिल्मको सुटिङ पूरा गरेका छन् । जसमध्ये शाहरुखले ६० दिनको छायांकन गरेका छन् । पठान र जवानपछि डिंकी पनि ब्लकबस्टर हुने अपेक्षा गरिएको छ । किनभने पठानले विश्वभरि १ हजार करोडभन्दा बढी कमाइ गरे पनि सेप्टेम्बर ७ मा रिलिज भएको ‘जवान’ विश्वभरि १ हजार १ सय ५० करोड रुपैयाँ कमाउने पाँचौं र अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ। तर, प्रभास स्टारर फिल्म सालर–सीजफायर १ बक्स अफिसमा डंकीसँग प्रतिस्पर्धा गर्न तयार छ, जुन २१ डिसेम्बरमा रिलिज हुनेछ ।