नेपाली छुर्पी विश्व बजारमा पुर्‍याउँदै भोजपुरका युवा

भोजपुर । भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो । दूग्ध उद्योग सञ्चालन गर्दै आएका राई यो क्षेत्रमा उदाहरणीयसमेत बनेका छन् । आफूले उत्पादन गरेको छुर्पी झापाका व्यापारीमार्फत युरोप, अमेकिालगायत बाह्य मुलुकका बजारमा निर्यात गर्न थालिएको उनले बताए। ‘यहाँको छुर्पी बाध्य बजारमा जान थालेको अवस्था छ,’ राईले भने, ‘भोजपुरका डेरीबाट पनि आवश्यक पर्दा दूध लैजाने गरेका छौँ । बाँकी रहेको दूधको छुर्पी बनाउँछु । यहाँ उत्पादन भएको छुर्पी कुकुरका लागि विदेशका विभिन्न देशमा निर्यात हुने गरेको छ ।’ आफू स्वरोगार बन्दै ग्रामीण भेगका किसानलाई सहयोग गर्ने उद्देश्यले श्यामशिलामा डेरी सञ्चालनमा ल्याएको राईको भनाइ छ । उत्पादित दूधलाई बजारसम्म पुर्‍याउन समस्या भोग्दै आएका किसानलाई अहिले सहज भएको छ । व्यवसायी राईले किसानको घररघरमा पुगेर दूध सङ्कलन गरेर बिक्री पनि गर्दै आएको बताए । ‘यो ठाउँका मानिसमा दूध बिक्री गर्ने चलन थिएन,’ राईले भने, ‘मैले व्यवसाय सञ्चालन गरेपछि उनीहरूलाई सहज भएको छ । किसानको घरसम्म पुगेर दूध सङ्कलन गरेर ल्याउँछु ।’ व्यवसायी राईले दैनिक २ सय ५० देखि ३ सय लिटरसम्म दूध सङ्कलन गर्दै आएका छन् । पौवादुङमा गाउँपालिकाको विभिन्न क्षेत्रसँगै अरुण गाउँपालिको माचुङ, सोर्‍याङलगायत ठाउँमा पुगेर दूध सङ्कलन गर्दै आएको उनले जानकारी दिए। यी क्षेत्रका एक किसानले मासिक ५ हजारदेखि ३० हजार रुपैयाँसम्मको दूध घरबाट नै बिक्री गरिरहेको राईको भनाइ छ । आफूले पशुपालनको लागि ६० रोपनी जग्गा लिजमा लिएको राईले जानकारी दिए। ‘विगतमा घरमा नै दूध खपत गर्दै आएका किसान अहिले व्यावसायिक बनेको अवस्था छ,’ उनले भने, ‘दूध बिक्री भएपछि किसान पशुपालनमा लागेका छन् । उत्पादित दूधको बजारीकरणमा कुनै समस्या छैन ।’ यहाँका किसानको घर÷घरबाट सङ्कलन भएको दूधलाई भोजपुर सदरमुकामका डेरीले पनि लैजाने गरेको राईको भनाइ छ । छुर्पी प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ । नौनी घ्यू प्रतिकेजी ७ सय र खरुवा घ्यू प्रतिकेजी १ हजार ३ सय रुपैयाँमा बिक्री गर्दै आएको उनकी श्रीमती रमला राईले बताइन् । उत्पादित घ्यूँको बजारीकरणमा भने केही समस्या रहेको उनको भनाइ छ । राज्यको तर्फबाट सहयोग भए व्यवसायलाई थप विस्तार गर्न सहज हुने उनको भनाइ छ । आफ्नै ठाउँमा डेरी सञ्चालन भए पनि दूध बिक्री गर्न सहज भएको स्थानीय पशुपालक कृषक विक्रम राईले बताए । दूधको बेचबिखनमा सहज भएसँगै गाईपालनलाई थप विस्तार गरेको उनको भनाइ छ । ‘अहिले दूध बिक्रीको लागि सहज अवस्था छ,’ उनले भने, ‘फर्मबाट नै दूध बिक्री गर्छु । विगतमा हाम्रो ठाउँमा दूध बिक्री गर्ने चलन नै थिएन । अहिले दूध बेचेर घर खर्च धान्ने अवस्था बनेको छ ।’ गाउँमा नै डेरी स्थापनाले किसानलाई सहजता भएको वडाध्यक्ष राजेन्द्र तामाङले बताए। किसानले दूध बिक्री गरेर घर खर्च टार्ने अवस्था बनेको उनको भनाइ छ । ‘विगतमा पनि हाम्रो क्षेत्रमा प्रशस्त मात्रामा दूध उत्पादन हुन्थ्यो,’ वडाध्यक्ष तामाङले भने, ‘तर, बिक्री गर्नका लागि बजार थिएन । अहिले किसानलाई दूध बिक्रीको लागि कुनै समस्या छैन ।’ गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले दुग्ध ‘मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। यो कार्यक्रमअन्तर्गत विगतका आर्थिक वर्षमा किसानलाइ १३ वटा उन्नत जातको भैँसी वितरण गरेको अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेका छौँ,’ अध्यक्ष राईले भने, ‘हामीले किसानलाई उन्नत जातको भैँसी वितरण गरिसकेका छौँ । अहिले यहाँ उत्पादन भएको दूध सदरमुकामसम्म जान थालेको छ । यही दुग्ध उद्योग खोलेर पनि किसानले दूधको परिकार बेच्न थालेका छन् ।’ गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुपयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अध्यक्ष राईले बताए। भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको अध्यक्ष राईको भनाइ छ ।

एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान

काठमाडौं । मारवाडी सेवा समिति नेपालले एसियन गेम्स २०२३ मा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । समितिले १९औं एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ विश्वकीर्तिमान कायम गरेका दिपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई जनही एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । त्यस्तै कराँतेतर्फ नेपाललाई रजत पदक दिलाउन सफल एरिका गुरुङलाई पनि एक लाख एक हजार नगदसहित सम्मान गरिएको समितिले जनाएको छ । कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन र क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई सम्मान पत्र र टोकन अफ लभ प्रदान गरिएको छ । सोही अवसरमा मारवाडी समाजका सदस्यहरु एवं नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पवन अग्रवाल र पूर्वक्रिकेटर पारस लुनियालाई सम्मान पत्रका साथै टोकन अफ लभद्वारा सम्मान गरिएको छ । समितिले जाजरकोट भूकम्पप्रभावितलाई सहयोग पनि गरेको छ । समितिले फाइबरको सिरक ८३५ थान र पि. फम मेट ९०० थान तथा दाल १ किलो र नुन १ किलो राखेर प्याक गरिएका ४०० वटा प्याकेट चामल हस्तान्तरण गरेको हो । मारवाही समुदायको धार्मिक र सामाजिक परम्पराअनुसार समाजका बन्धुवान्धव भेला भई एक आपसमा शुभकामना आदानप्रदान गरी भाइचाराको सम्वन्ध अभिवृद्धिका लागि हरेक बर्ष दीपावली स्ने समारोह आयोजना गर्ने गरिन्छ ।

माटाका भाँडाले धानिएको पुस्तैनी जीवन

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१३ बुलबुलियास्थित मसानघाट टोलमा मोहमद अमिन ४४ वर्षदेखि माटाका भाँडा बनाउँदै आइरहेका छन् । उमेरले ५० नाघिसकेका अमिन बुबा र बाजेबाट माटाका भाँडा बनाउन सिकेको बताउछन् । आठ वर्षको उमेरदेखि नै बाजेसँगै माटो मुछेर जानी–नजानी भाँडाको आकार दिन सुरु गरेका उनले बुबाबाट भाँडालाई व्यावसायिक आकार दिन सिकेको बताए । माटोसँग अमिनको सम्बन्ध सानैदेखि गाँसिएको हुनाले उनी यसलाई नङमासुको सम्बन्ध भन्न रुचाउछन् । ‘बुबा र बाजे दुवैलाई पछ्याउँदै माटो बोक्न जान्थेँ । माटोसँग उहाँहरू खेलेको देखेर मैले पनि सिकेँ । सानैदेखि माटोसँग खेल्दै, माटोलाई मथ्दै र आफूले चाहेको आकार दिँदै हुर्किएकाले  माटोसँगको मेरो सम्बन्धलाई नङमासुको सम्बन्ध भन्न रुचाउँछु’, अमिनले विगत सम्झिँदै भने । बुबाबाजेले नै माटोका भाँडा बनाउँदै बेचेर कमाएको पैसाले परिवार पाल्दै आएको देखेर आफूलाई पनि माटोकै भाँडा बनाउन रुचि जागेको अमिन बताउछन् । ‘जे सिकायो त्यही सिक्ने त हो । मेरो बाउबाजेले मलाई माटोकै भाँडाकुँडा बनाएर बेच्न सिकाउनुभयो आज मैले त्यही सिकेको छु र मेरा छोराछोरीलाई पनि त्यही नै सिकाएको छु’, उनले भने, ‘माटोका भाँडा बनाउने हाम्रो पेसा थिएन र बाजेको पालादेखि यही गर्दै आएकले आज हाम्रा लागि यही नै पेसा बनेको छ ।’ अमिनका अनुसार विगत वर्षभन्दा यस वर्षको दसैँतिहारमा माटाका भाँडाबाट खासै फाइदा हुन सकेन । अघिल्लो वर्षमा रु १५–१६ हजारसम्म मुनाफा भएको भाँडाबाट यस वर्ष जम्मा रु पाँच–छ हजार आम्दानी भएको अमिनले बताए । ‘यो आम्दानीले कसरी वर्षभरिको खर्च जोहो गर्न सकिन्छ ?’ निरास हुँदै उनले यस वर्ष दसैँतिहारमा भएको घाटाको कथा सुनाए । अमिनका सात परिवार माटोका भाँडाबाट हुने कमाइमा निर्भर छन् । माटो र माटो पकाउनलाई चाहिने भुस ओसार्नका लागि उनले तीन घोडा पालेका छन् । ती घोडाको खर्च पनि त्यही भाँडाबाट कमाइने पैसाबाट जोहो गर्ने गरेको अमिन बताउछन् । ‘सात जनाको परिवारसँगै तीनवटा घोडाको खर्च पनि यिनै भाँडा बिक्री गरेर जोहो गर्नुपर्छ । भाँडाको व्यापार अघिल्ला वर्षको तुलनामा घट्दै गइरहेको छ’, उनले भने, ‘यस वर्ष त ह्वात्तै घट्यो । यस्तै हो भने हाम्रो पेसा धरापमा पर्छ ।’ अमिनले जस्तै सुफिया कसगरले पनि माटोका भाँडा बेचेर कमाएको पैसाले छ जनाको परिवार धान्दै आएका छन्। कसगर  भाँडा बनाउन सासूबाट सिकेको बताउछन् । नेपालगञ्ज उपमहागनर पालिका–५ स्थित मसानघाट टोलकी उनले आफूसँगै  दुई छोरीलाई पनि माटोबाट भाँडा बनाउन सिकाए । पुख्र्यौली पेसालाई जोगाउन सुफियाले भाँडा बनाएर बेच्ने गर्छन् । भाँडाबाट हुने आम्दानी र मुनाफाका विषयमा अमिनको भन्दा फरक छैन उनको भनाइ । गत वर्षको दसैँतिहारमा रु १३ हजारको व्यापार गरेकी सुफियाले रु १० हजार नाफा कमाएको बताइन् । तर यस वर्ष भने जम्मा रु पाँच हजार जतिको नाफा भएको उनको भनाइ छ । अमिनको जस्तै सुफियाको पनि तीन पुस्तादेखि माटोका भाँडाले जीवन धानिँदै आएको छ । तर पछिल्लो समय व्यापार राम्रो नभइदिँदा आम्दानी घट्दै गएकाले पेसाको चिन्ता त छँदै छ साथसाथै परिवारको गुजारा कसरी गर्ने भन्ने पिरले सताउन थालेको सुफिया बताउँछिन् । ‘हामीले जानेको काम भनेकै माटोका भाँडा बनाएर बेच्ने हो । तर यसको व्यापार बढ्नुको साटो घट्दै गइरहेको छ’, उनले भनिन्, ‘आफूसँगै आफ्ना पुस्ताको चिन्ता लागिरहेको छ ।’ सुफियाले यस वर्षको दसैँतिहारका लागि एक ट्रली माटोका भाँडा बनाएकी थिइन् । तर उनले सोचेजस्तो नाफा हुन सकेन । बुलबुलियास्थित मसानघाट टोलमा माटोका भाँडा बनाउने कसगर झण्डै २१ घरपरिवारका छन् । तीन पुस्तादेखि माटोका भाँडा बनाउँदै र बेच्दै गरेका कसगरले यो पेसालाई पुख्र्यौली पेसाका रूपमा चिनाउँदै आइरहेका छन् । कसगरका अहिलेका पुस्ताले पनि यही पुस्तैनी पेसालाई अँगालिरहेका छन्। पहिला मनग्य आम्दानी हुँदै आएको उक्त पेसा कोभिड–१९ पछि भने ओरोला लाग्दै गएको कसगरहरूको भनाइ छ । माटोका भाँडा बनाउनलाई कसगर बाँकेको कम्दीस्थित कट्लिया गाउँबाट माटो ल्याउने गर्छन्। एक ट्रली माटोको मूल्य साढे चार हजार पर्ने गर्दछ । अमिन र कसगरको जस्तै पप्पु कसगरको पनि आफ्ना सातजना परिवारको साँझ–बिहानको छाक माटोका भाँडामै भर परेको छ । उमेरले झण्डै चार दशक नाघिसकेका पप्पुको भने चार पुस्ताले यो पेसालाई अँगाल्दै आइरहेका छन् । पप्पुको सातजनाको परिवारमध्ये छोराले फुर्सदमा ज्यालादारीको काम गर्ने गछृन् । तर माटोका भाँडा बनाउने समयमा परिवारलाई सघाउने उनको भनाइ छ । पप्पुले भने, ‘फुर्सदको समयमा छोराले ज्याला मजदुरी गर्ने गर्छ र तर जब माटो मुछेर भाँडा पकाउनुपर्ने हुन्छ त्यतिखेर छोराले पनि ज्यालामजदुरीको काम छाडेर हामीसँगै भाँडा बनाउन सहयोग गर्छ ।’ एक ट्रली माटोको मूल्य रु चार हजार तिर्दै आएका कसगरहरूले यसै वर्षदेखि माटोको मूल्य बढेर रु साढे चार हजार तिरेको पप्पु, मोहम्मद र सुफियाले बताए । उनीहरूका अनुसार माटो बिक्री गर्ने साहुले यसै वर्षदेखि मूल्य बढाएपछि साढे एक ट्रलीको मूल्य साढे चार हजार भएको हो । काँचो माटोका भाँडा तयार भइसकेपछि पकाउन भुस, गोबरको गुइँठा र दाउराको प्रयोग गर्ने गरिन्छ । ‘पहिला–पहिला गोबरको गुइँठामा भाँडा पकाइन्थ्यो तर अहिले पशुाचौपाया पाल्न छाडेकाले गोबर पनि पाउन छाडेको छ’, सुफियाले भनिन्, ‘हिजोआज गोबरको साटो धानको भुस अथवा दाउरामा भाँडा पकाएर तयार गर्ने गर्छौँ ।’ एक क्विन्टल दाउरालाई रु एक हजार पर्दछ । माटोका भाँडा तयार गर्नलाई दुईपटक पकाउनुपर्ने हुन्छ । धानको भुस पाउन हम्मेहम्मे पर्न थालेको हुनाले कसगरहरू प्रायः दाउरामा नै माटाका भाँडा पकाउने गरेको सुफियाको भनाइ छ । रु दुईदेखि दुई सय ५० सम्म मूल्य पर्ने माटोका भाँडामा बत्ती बाल्नलाई प्रयोग गरिने दियो, दही जमाउने आरी, खुतुर्के, पानी राख्नलाई प्रयोग गरिने गाग्री, घैँटो, सुराही (पानी चिसो बनाउनलाई प्रयोग गरिने भाँडा) लगायत अन्य भाँडाकुँडा बनाइन्छन् । माटाका भाँडा सुकाउन नमिल्ने र भिज्ने भएको हुनाले वर्षाको मौसममा चार महिना कसगरले भाँडा बनाउनु हुँदैन । त्यो चार महिनामा मात्रै उहाँहरू दैनिकीरूपमा ज्यालामजदुरीको काम गरेर साँझ–बिहानको छाकको जोहो गर्ने गर्छन् । रासस