आयुसले पोखरा थन्डर्सको कप्तानी गर्ने
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब पोखरा थन्डर्सले स्टार खेलाडी आयुस घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुसले यो सिजन पोखराको कप्तानी गर्ने भएका हुन् । आयुस एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टबाट पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् । आयुसले कप्तानको जिम्मेवारी पाउँदा खुसी भएको बताउँछन् । ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । मैले पोखरालाई सफलता दिलाउन भरपुर मेहनत गर्नेछु,’ आयुसले भने । आयुसले अघिल्लो सिजन पोखराबाट खेल्दै २ गोल गरेका थिए । पोखराले यसअघि आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको थियो । पोखराले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ ।
प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने, डडेल्धुरा र बझाङ आमनेसामने
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका-५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् । प्लेट च्याम्पियनसिपका खेल फागुन ११ गतेदेखि र फागुन १४ देखि एलाइट कप सञ्चालन हुने छ । प्लेट च्याम्पियनसिपको उद्घाटन खेलमा फागुन ११ गते बझाङ र दार्चुला भिड्ने छन् । सोही दिन हुने अर्को खेलमा डडेल्धुरा र डोटी खेल्ने छन् । फागुन १२ गते पहिलो खेलमा दार्चुला र डोटी भिड्दा दोस्रोमा डडेल्धुरा र बझाङ आमनेसामने हुने छन् । फागुन १३ गते हुने पहिलो खेलमा दार्चुला र डडेल्धुरा प्रतिस्पर्धा गर्दा दोस्रोमा बझाङ र डोटीबीच भिडन्त हुनेछ । प्लेट च्याम्पियनसिपको च्याम्पियन टोली एलाइट कपका लागि छनोट हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । फागुन १४ गते हुने एलाइट कपको उद्घाटन खेलमा बैतडी र अछाम भिड्ने छन् । फागुन १५ गते प्लेट च्याम्पियन र अछाम, फागुन १६ गते बैतडी र प्लेट च्याम्पियन, फागुन १७ गते अछाम र कञ्चनपुर, फागुन १८ गते कञ्चनपुर र प्लेट च्याम्पियन, फागुन १९ गते कैलाली र अछाम, फागुन २० गते प्लेट च्याम्पियन र कैलाली, फागुन २१ गते बैतडी र कञ्चनपुर, फागुन २२ गते कैलाली र कञ्चनपुर, फागुन २३ गते कैलाली र बैतडी खेल्ने छन् । फागुन २४ गते प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली तयार गरिनेछ ।
अर्थविद् डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक
काठमाडौं । अर्थविद् डा शेरजङ्गबहादुर चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ पुस्तक सार्वजनिक भएको छ । इन्डिगो इन्कद्वारा प्रकाशित उक्त पुस्तक आजदेखि बजारमा उपलब्ध गराइएको लेखक चन्दले जानकारी दिए । पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा रणनीति, नीति र उपायहरु सरल रूपमा लेखिएको जनाइएको छ । नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उनले बताए । साथै सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारमा जोड समेत दिइएको लेखक चन्दले बताए । पुस्तकमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिलगायतका विषय समेटिएको जनाइएको छ । मुलुकको विकासमा स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधारसँग सम्बन्धित विषय पनि समेटिएका छन् । त्यस्तैगरी भौतिक संरचनाको विकास यसका लागि सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकासमा सार्वजनिक-निजी साझेदारीको भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए । सञ्चार तथा प्रविधिलाई समेटेर डिजिटल नेपाल अभियान तथा प्रविधिमा लगानी, इन्टरनेट तथा दूरसञ्चार पूर्वाधारको विस्तार तथा प्रविधिमा नवाचार तथा स्टार्टअप संस्कृति विकासबारे पनि पुस्तकमा समेटिएको छ ।