मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा
काठमाडौं । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा. सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् ।
कांग्रेस महामन्त्रीद्वयद्वारा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । उनीहरुले आज संयुक्त विज्ञप्तिमार्फत पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई समेत राजीनामा दिएर ‘नवीन राष्ट्रीय सहमति’का लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । 'सरकार सही ढङ्गले चलेन, सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटक पटक आग्रह गयौँ । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली । अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पङ्क्तिमा असन्तुष्टि थप बढ्दै गयो । सामाजिक सञ्जाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका ‘जेनजी पुस्ता’ माथिको दमन निन्दनीय छ,' विज्ञप्तिमा उल्लेख छ । महामन्त्रीद्वय थापा र शर्माले सरकार गठनका क्रममा गरिएको सात बुँदे समझदारीको औचित्य समाप्त भएको उल्लेख गर्दै पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै अविलम्ब निर्णय गर्नुपर्ने र अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न बाध्य हुने बताएका छन् । ‘जेनजी पुस्ता’को न्यायोचित माग पूरा गर्न जोड गरिरहेको अवगत गराउँदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन सबल भुमिकाका लागि समेत महामन्त्रीद्वय थापा र शर्माले अपील गरेका छन् । सबै राजनीतिक दललाई बिद्यमान स्थितिमा खुला संवादमार्फत संयमतापूर्वक समाधानको पहलमा ऐक्यवद्धताका लागि समेत उनीहरुले अपील गरेका छन् ।
के प्रधानमन्त्री ओलीले आजै राजीनामा दिँदैछन् ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ । देशभर जेनजीको आन्दोलन चर्किएपछि उनले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा बढेको हो । प्रधानमन्त्री ओलीको निवास बालकोटमा पनि आगलागी भएको छ । उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन् ।