सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा सोमबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।  फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ । गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए । बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ । सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । 

दलहरू निर्वाचनमा जाँदैनन्, मुलुक बहुपक्षीय द्वन्द्वमा फस्दैछ : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले शीर्ष नेताहरू नेतृत्वमा रहिरहन बहानाबाजी गर्न थालेको आरोप लगाएका छन् । जेनजी आन्दोलनको माग नेतृत्व परिवर्तन भए पनि संकटको बेला नेतृत्वलाई जोगाउनुपर्ने भन्दै पुराना नेताहरूले कार्यकर्ताको भावना दोहन गर्न थालेको उनले बताए । महासचिव भुसालका अनुसार मुलुकलाई संकटमा पुर्‍याउने शक्तिहरू नै अहिले आफूलाई बचाउन भाष्य खडा गरिरहेका छन् । 'वास्तवमा यो सारा संकट तिनीहरूले नै ल्याएका हुन्, मुलुकलाई आज यहाँ डुबाउने यिनीहरू नै हुन्,' उनले भने । भुसालले दलका नेताहरू पुनः सत्तामा रहन बहानाबाजी गर्न थालेको दाबी गर्दै यस्तो परिपाटीले दलहरूलाई जनतासामु लैजानै नसक्ने बताए । उनका अनुसार आगामी निर्वाचन गराउन नसक्दा मुलुक अर्कै दिशामा जानेछ । 'चुनावअघि नै संविधान संशोधन गर्नुपर्छ भन्ने शक्तिहरू सक्रिय छन्। प्रत्यक्ष कार्यकारी राष्ट्रपति लगायत पपुलिस्ट नाराहरू उठाउँदैछन्,' भुसालले भने, 'समाजका पुराना, परम्परागत र राष्ट्रवादी भनिने शक्तिहरूले पनि संविधानविरुद्ध गतिविधि गर्ने संकेत देखिएका छन् ।' अर्थतन्त्रमा ठूलो धक्का लागिसकेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले मुलुकलाई बहुपक्षीय द्वन्द्वमा फसाउने चेतावनी दिए ।

पाथीभरा क्षेत्रमा मदिरा निषेध

फुङ्लिङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सोमबार एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो ।  समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ ।   साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।