दसैँमा महिलाहरू घरायसी काममा व्यस्त, पुरुष जाँडरक्सी र जुवा तासमा मस्त
काठमाडौं । दसैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ । घरायसी काम बढ्दा महिलालाई कामको बोझ बढ्ने गरेको महिला बताउँछन् । चाडपर्व भनेपछि प्रायजसो सबैलाई रमाइलो गर्न मनपर्छ । नेपाली समाजमा महिला घरायसी कामले पिल्सिने, पुरुष रमाइलो गर्ने, फुर्सदिला भएकाजस्तो देखिन्छ । भजनी नगरपालिकाकी साधना साउदका घरमा अहिले दसैँको रौनक छ । विदेशमा भएका श्रीमान् घर आएपछि घर आफन्त तथा पाहुनाले भरिएको छ । सबैलाई घरमा रमाइलो छ तर साधनाको भोक निद्रा हराएको छ । ‘दुई वर्षपछि श्रीमानसँग भेट भएकोमा खुसी छु, यसपाली श्रीमानसँग घुम्ने योजना थियो, तर घरको कामबाट फुर्सद छैन,’ उनले भनिन्, ‘बिहान ४ बजेदेखि राति ११ बजेसम्म कामै सकिँदैन, सबै रमाउनेहरु मात्रै छन्, काम जति मेरै जिम्मामा छ ।’ टीकापुरकी द्रोपती तिमिल्सिनाले चाडपर्वमा समाजमा महिलालाई भ्याइनभ्याइ भएको देखेकी छिन् । ‘दसैँ, तिहार बिदामा समाजमा पुरुष फुर्सदिला देखिने, महिला भने घर सरसफाइ, भान्साको काम, पाहुनाको स्वागतमा व्यस्त रहेको देखिन्छ,’ उनले भनिन्, ‘महिलाले पनि यो समयमा नयाँ ठाउँ घुम्ने, अध्ययन गर्ने, नयाँ काम गर्ने, आफ्ना लागि समय छुट्याउन पाएको देखिँदैन ।’ द्रोपतीका श्रीमान् भने निकै सहयोगी छन् । उनीहरू मिलेर घरायसी काम गर्छन् । चाडपर्वमा गरिने खर्च, किनमेल र नयाँ योजना बनाउँदा पनि सल्लाह गरेर गर्छन् । अर्की महिला जानकी कुँवर महिलालाई त्यसै पनि घरायसी कामको बोझ हुने गरेका बेला चाडपर्व तथा उत्सवले थप जिम्मेवारी थप्ने बताउँछिन् । ‘कामकाजी महिलालाई अझ दोहोरो जिम्मेवारी हुने हुँदा महिलालाई घरायसी काम व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला परिवारका सदस्य सहयोगी हुनुपर्छ । चाडपर्वमा खुसी हुने अवसर सबैलाई दिनुपर्छ । परिवार भनेको सामूहिक खुसी हो भन्ने सबैमा भावना हुनुपर्छ ।’ पुरुष घुमघाम गर्ने, रमाइलो गर्ने, जाँडरक्सी खाने, जुवा तास खेल्ने गलत अभ्यास हाम्रो समाजमा अहिले पनि देखिन्छ । जसले समाजमा अशान्ति र हिंसा बढाउँछ, भन्नेमा सबै सचेत हुनुपर्ने अधिकारकर्मी चन्द्रावती शर्माको भनाइ छ । ‘महिला रातदिन घरको काममा व्यस्त हुने, पुरुष जुवा तासमा रमाउने गर्दा पारिवारिक कलह हुनसक्छ । परिवारका सबै सदस्य मिलेर घरायसी काम गर्ने, मिलेर रमाइलो गर्दै चाडपर्व मनाउने गरेमा चाडपर्व सबैका लागि रमाइलो हुन्छ । तर समाजमा यस्तो अभ्यास निकै कम छ,’ उनले भनिन् । अर्की महिला अधिकारकर्मी कौशल्या खनाल पितृसत्तात्मक समाजका कारण विगतमा छोराछोरीलाई बराबरी काम नसिकाएकै कारण अहिले महिलाले हिंसा भोगिरहेका बताउँछिन् । ‘घरायसी काममा असमानता महसुस गरिरहेकाले अबका आमा सचेत हुनुपर्छ । छोराछोरीले बराबरी काम गर्नुपर्छ भन्ने सन्देश दिनुपर्छ । सानैबाट छोरालाई घरायसी काम सिकाउनुपर्छ,’ उनले भनिन् । चाडपर्वका बेला महिलाले खानपान, काम मात्र नभनी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने, धेरै तनाव नलिने, योग तथा ध्यान जस्ता कार्यमा सहभागी भएर आफूलाई सम्हाल्नुपर्ने स्वास्थ्यकर्मी हेमा ज्ञवालीको सुझाव छ । ‘चाडपर्व सबैका लागि आएको हुन्छ । चाडपर्वमा रमाउने, राम्रो लगाउने, मीठो खाने चाहना सबैको हुने भएकाले सबै मिलेर काम बाँडफाँड गर्ने, अनावश्यक खर्च नगर्ने, घर सल्लाहमा खर्च गर्ने गरेमा महिला पुरुष दुवै खुसी हुन्छन् । महिला पुरुष खुसी भएमा परिवार, समाजमा शान्ति छाउँछ,’ उनले भनिन् । रासस
नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने
काठमाडौं । नवघोषित कुमारी आर्यतारा शाक्यले आज मङ्गलबार आसन ग्रहण गर्ने भएकी छिन् । स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्यान्हको शुभ साइतमा विधि विधान पूर्वक कुमारी घरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए । उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक समेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ । कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारी घर व्यवस्थापन समितिका संयोजक शाक्यले बताए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।
बडादसैँको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै
काठमाडौं । बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ दिन पर्ने भए पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवौँ दिन महागौरी देवीको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । किंवदन्तीअनुसार महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान शिवले एकदिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेछन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको हो । दोस्रो दिन असोज ७ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज ८ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौँथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । पाँचौँ दिन पनि सूर्योदयकालमा चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीको पूजाआराधना गरिएको हो । यस वर्ष नवरात्रको छैटौँ दिन परेको आश्विन शुक्ल पञ्चमीका अवसरमा शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो । आश्विन शुक्ल षष्ठीका दिन आइतबार कात्यायनी देवी, आश्विन शुक्ल सप्तमीका दिन सोमबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । यसै दिन दसैँघर वा पूजाकोठामा फूलपाती पनि भित्र्याइएको थियो । आश्विन शुक्ल अष्टमीका दिन आज महागौरी देवीको पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको घुइँचो बढ्ने गरेको छ । नवरात्रको सातौँ दिन अर्थात् फूलपातीका दिनदेखि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भीड बढ्ने गर्छ । यसै दिनदेखि बडादसैँको विशेष रौनक सुरु हुन्छ ।