काठमाडौं । इंग्ल्यान्डको पुरुष क्रिकेट टोली नेपाल भ्रमण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय टोली बन्न सक्ने सम्भावना देखिएको छ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले सन् २०२७–३१ इन्टरनेशनल तालिकाको कुनै चरणमा नेपालमा छोटो टी–२० अन्तर्राष्ट्रिय तालिका आयोजना गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको हो ।
पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा वेस्ट इन्डिजलाई हराउँदै नेपालले पहिलो पटक पूर्ण आईसीसी सदस्य राष्ट्रविरुद्ध शृंखला जितेको थियो । तर अहिलेसम्म टेस्ट खेल्ने कुनै राष्ट्रले नेपालमा औपचारिक अन्तर्राष्ट्रिय भ्रमण गरेको छैन ।
यो अवस्था भने यसै वर्ष परिवर्तन हुन सक्ने देखिएको छ । क्रिकेट आयरल्याण्डले मार्चमा क्रिकेट संघ नेपाल (क्यान) सँग पाँच वर्षे ‘रणनीतिक साझेदारी सम्झौता’ गरेको घोषणा गर्दै सन् २०२६–२७ को जाडोयाममा सीमित ओभरको भ्रमण गर्ने योजना सार्वजनिक गरेको थियो ।
इंग्ल्यान्ड र नेपालबीच पहिलो पटक गत फेब्रुअरीमा टी–२० विश्वकपमा भेट भएको थियो । वानखेडे स्टेडियममा नेपाली समर्थकहरूले भरिएको वातावरणमा इंग्ल्यान्डले अन्तिम बलमा रोमाञ्चक जित निकालेको थियो । त्यस खेलपछि भारतमै क्यानका सचिव तथा नेपालका पूर्वकप्तान पारस खड्काले ईसीबी अधिकारीहरूसँग भेट गरेको जानकारी ईएसपीएनक्रिकइन्फोले जनाएको छ ।
ईसीबीले पछिल्ला महिनाहरूमा अन्य अन्तर्राष्ट्रिय बोर्डहरूसँग मिलेर सन् २०२७–३१ को ‘फ्युचर टुर्स प्रोग्राम’ (एफटीपी) मा काम गरिरहेको छ । तर नयाँ विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को ढाँचाबारे आईसीसीको अन्तिम निर्णय आउन बाँकी रहेकाले अझै केही विषय टुंगो लाग्न बाँकी छन् । यसमा शृंखलामा कम्तीमा दुई टेस्ट हुनुपर्ने नियम हटाइने वा नहटाइने विषय पनि समावेश छ ।
यद्यपि ईसीबीले उक्त चक्रभित्र कुनै समय नेपालमा छोटो पुरुष भ्रमण गर्ने सम्भावनालाई गम्भीर रूपमा विचार गरिरहेको छ । सम्भवतः अर्को सीमित ओभरको भ्रमण जस्तै, भारत भ्रमण अघि नेपाल भ्रमण तालिकामा राख्न सकिनेछ ।
अन्तर्राष्ट्रिय खेलतालिका अत्यन्त व्यस्त भएकाले थप खेल थप्न ईसीबी सतर्क भए पनि दुई वा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखलाले अर्को शृंखलाको तयारीको रूपमा काम गर्न सक्ने र तालिकामा केही दिन मात्र थप्ने विश्वास गरिएको छ ।
नेपालका कप्तान रोहित पौडेलले टी–२० विश्वकपका क्रममा कुनै ठूलो राष्ट्रले नेपाल भ्रमण गर्नुले क्रिकेटलाई ‘विश्वव्यापी बनाउन मद्दत’ पुग्ने बताएका थिए ।
‘विशेषगरी अस्ट्रेलिया वा इंग्ल्यान्ड नेपाल आए त्यो हाम्रो लागि धेरै ठूलो कुरा हुनेछ,’ उनले भनेका थिए, ‘यसले विश्व क्रिकेटलाई नेपाल पनि क्रिकेट खेल्छ र राम्रो क्रिकेट खेल्छ भन्ने देखाउनेछ । यो अत्यन्त महत्वपूर्ण कुरा हो ।’
बेलायतको प्रमुख टेलिभिजन अधिकारधारी स्काइ स्पोट्र्सले आइतबार ‘नेपालस् क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ नामक वृत्तचित्र प्रसारण गरेको थियो । उक्त वृत्तचित्रमा नेपालको क्रिकेटप्रतिको उत्साहलाई देखाइएको छ ।
त्यस क्रममा पारस खड्काले प्रमुख अन्तर्राष्ट्रिय टोलीहरूलाई नेपाल भ्रमण गर्न र नेपाली क्रिकेटलाई ‘एक्सपोजर’ दिन आग्रह गरेका थिए ।
‘अहिले नेपाली क्रिकेटलाई सबैभन्दा आवश्यक कुरा भनेको एक्सपोजर हो,’ खड्काले भने, ‘हामी एकदिवसीय मान्यता प्राप्त देश भएकाले टेस्ट खेल्ने राष्ट्रहरूसँग खेल्न चाहन्छौं । किनभने राम्रो क्रिकेटरसँग खेल्दा र बलिया प्रतिद्वन्द्वीसँग भिड्दा मात्रै खेलाडीको स्तर उकासिन्छ। त्यही बेला खेल सिकिन्छ ।’
‘यसले नेपालका नयाँ पुस्ताका बालबालिकामा थप उत्साह जगाउनेछ, किनभने क्रिकेट अहिले युवा नेपालीहरूको मनमा बसिसकेको छ । क्रिकेट केवल खेल मात्र होइन, यो देशलाई एकताबद्ध बनाउने सबैभन्दा ठूलो माध्यम बनेको छ,’ उनले थपे ।
सन् २०२७ को घरेलु गर्मीयाममा इंग्ल्यान्डले प्रतिष्ठित एसेस शृंखलाअन्तर्गत अस्ट्रेलियाको सामना गर्नेछ । साथै पाकिस्तान (जुन) र न्युजिल्यान्ड (सेप्टेम्बर) पनि सीमित ओभरको शृंखलाका लागि इंग्ल्यान्ड भ्रमणमा जाने सम्भावना छ । आईसीसीले डब्लुटीसीको २०२७–२९ संस्करणको ढाँचाबारे अन्तिम निर्णय गरेपछि पाकिस्तान भ्रमणमा एक टेस्ट खेल पनि समावेश हुन सक्नेछ ।
इंग्ल्यान्ड महिला टोलीले पनि सेप्टेम्बरमा बंगलादेश र अस्ट्रेलियाविरुद्ध एसेस शृंखला आयोजना गर्ने कार्यक्रम रहेको छ । तर खेल तालिका श्रीलंकामा हुने पहिलो महिला च्याम्पियन्स ट्रफीको तालिकामा निर्भर रहनेछ ।