नागढुङ्गाबाट ५ बजेभित्र मात्र गाडीलाई जान दिइने
काठमाडौं । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ । बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौंबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनले भने, 'बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।' यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ । आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा
काठमाडौं । पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ । कन्याम र माई पोखरीमा २७६ मिलिमिटर वर्षा भएको छ । यो अति भारी वर्षा हो । बितेका २४ घण्टामा मोरङमा २३३, सुनसरीमा २०५, धनकुटामा १६६, धनुषामा १९२, सिन्धुलीमा २०५, सप्तरीमा १८०, रौतहटमा २०५, मकवानपुरमा २२४ मिलिमिटर वर्षा भएको छ ।
मनसुन सक्रियताका कारण मधेश, कोशी र बागमती प्रदेशमा भीषण वर्षा, नदीहरूमा जलस्तर घट्दै
काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावले असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा मनसुन सक्रिय हुँदा मधेस, बागमती र कोशी प्रदेशमा तीव्र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार २४ घण्टाको अवधिमा असोज १८ गते बिहान ४:३० देखि असोज १९ गते बिहान ४:३० सम्म सबैभन्दा धेरै ३५८ मिमी वर्षा रौतहटको महेशपुरमा मापन गरिएको छ । त्यस्तै २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ केन्द्रमा वर्षा मापन भएको विभागले जनाएको छ । विभागका अनुसार १०५ केन्द्रमा ५० मिमीभन्दा बढी वर्षा भएको छ । यस्तै ६८ केन्द्रमा १०० मिमीभन्दा बढी वर्षा भएको छ भने २१ केन्द्रमा २०० मिमीभन्दा बढी पानी परेको छ । जम्मा ५ केन्द्रमा मात्रै ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ। इलामको वहमाली, कन्याम, पर्साको मुडली, रौतहटको महेशपुर र गौरमा ३०० मिमीभन्दा बढी वर्षा मापन गरिएको विभागले जनाएको छ । नदीमा उच्च सतर्कता अपनाउन आग्रह लगातारको वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, लालबकैया, कमला लगायतका नदीमा जलस्तरले सतर्कता तह पार गरिसकेको थियो । हाल ती नदीमा जलस्तर क्रमशः घटिरहेको महाशाखाले जनाएको छ । यद्यपि, असोज १९ गते बिहान कोशी नदीले खतराको तह पार गरिसकेको थियो भने यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा पनि खतराको तह पार भएको जनाइएको छ । त्यस्तै, कन्काई, बुढीखोला, लोहना, खेसरैया, विरिङ जस्ता चुरे तथा महाभारत क्षेत्रबाट उत्पत्ति भएका साना नदीमा पनि खतराको तह पार भएको छ। तर अहिले ती नदीमा पनि जलस्तर घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । मनसुन अझै विदा भइसकेको छैन महाशाखाका अनुसार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएर मौसममा सुधार आउन थालेको भए पनि मनसुनको औपचारिक विदाइ भइसकेको छैन । त्यसैले अझै सतर्कता आवश्यक छ । सरोकारवालाहरूलाई विशेष गरी नदी तटीय क्षेत्र तथा डुबान प्रभावित क्षेत्रमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।