सेयर बजारमा दोहोरो अंकको वृद्धि, सबैभन्दा बढी दुई कम्पनीको प्रमोटर सेयर बिक्री
काठमाडौं । आर्थिक वर्ष २०७४/२०७५ को अन्त्य सँगै सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । कारोबार खुलेदेखिनै बढ्दो ट्रेण्डमा रहेको सो दिनको बजार अन्तत १२.२७ अंकले बढेर १२१२ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकसँगै सेयर कारोबारमा पनि वृद्धि भएको छ । सो दिनको बजारमा कूल ३१ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १२ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(आइतबार)को बजारमा १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबार १५९ कम्पनीको ११ लाख ७६ हजार ५९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार दुई कम्पनीको सबैभन्दा बढी प्रमोटर सेयर बिक्री भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको ५ करोड र नबिल बैंक लिमिटेडको २ करोड रुपैयाँ बढीको प्रमोटर सेयर किनबेच भएका छन् । त्यस्तै, अन्य ५ कम्पनीको १ करोड रुपैयाँ बढीको सेयर कारोबार भएका छन् । त्यस्तै, सबैभन्दा बढी बीमा समूह १४७ अंकले उकालो लागेको छ । अन्य समूह २.६७ अंकले ओरालो लागेको छ भने कारोबारमा आएका बाँकी समूह उकालो लागेका छन् । फाइनान्स र ट्रेडिङ सामान्य अंकले बढेको छ भने बाँकी दोहोरो अंकले बढेका छन् ।
नेप्सेको सीईओ नहटाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई तत्काल पदबाट नहटाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आइतबार साउदलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगराउन सरकारलाई आदेश दिएको हो । गैरकानूनी तरिकाले आफूलाई हटाइएको दाबी गर्दै साउदले गत बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेप्से ८ अंकले बढेर १२०० अंकमा, सबैभन्दा बढी सेञ्चुरी बैंकको प्रमोटर सेयर कारोबार
काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.११ अंकले उकालो लागेको छ । दिनभर सामान्य उतारचढाव आएको बजारमा परिसूचक ०.६८ प्रतिशतले बढेर १२०० अंकमा पुगेको छ । बजारमा कूल १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १७० कम्पनीको ६ लाख ५१ हजार कित्ता सेयर किनबेच भएका छन् । सो मध्ये सबैभन्दा बढी सेञ्चुरी कमर्शियल बैंकको प्रमोटर सेयर किनबेच भएको छ । आइतबार यस बैंकको एक लाख २९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको बजार मूल्य प्रतिकित्ता १७३ रुपैयाँ रहेको छ । आइतबार फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सबैभन्दा बढी बीमा ४३.४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल ४०.६६, होइड्रो १०.७८ र उत्पादनमूलक समूह ९.३८ अंकले उकालो लागेका छन् ।